“रात धेरै पर्यो धेरै धेरै मायाका कुरा नगर न ए।”
‘वर्तिका आत्मा’ मा व्याप्त उदासीनताको संक्षेप अभिव्यक्ति। म कल्पना गर्छु, वर्तिका- जसको हार्दिकताको चहकिलो प्रकाश सांसारिक आँधीको प्रवेगले क्षीण भइसकेको छ। मानिसको भाव- साम्राज्यको क्षणिकताको बोधले पोलिरहेको छातीले बोलेका शब्दहरू हुन् यी। घातले शिथिल ज्यानले भन्नै पर्ने भएर भनेका शब्द।
प्रिय वर्तिकाजी !
म तपाईंको सानो प्रशंसक जो तपाईंको उजेलीका सृजन अनि सृजनभित्रको गहिराइ अनि गहिराइको विषम अन्धकार बोध गर्ने प्रयास गर्छ, जो तपाईंको काँचो आवाजभित्रका गहन अर्थ भेटाउने प्रयत्न गर्छ, जो तपाईंको गीतको नवीनताले ओतप्रोत हुन्छ।
शायद हाम्रो यति परिचय पर्याप्त छ। कहिलेकाहीं अधिक परिचयले सृजनाको अर्थान्तर गरिदिन्छ। वर्तिका एम राईलाई अज्ञेयको रूपमा चिन्न चाहने सीमित व्यक्तिहरूमा म पनि पर्छु।
मैले तपाईंलाई वर्तिकाजी भनें। कारण तपाइँ वर्तिका एम राईभन्दा वर्तिका तपाईंको वास्तविक छ किनकि वर्तिका तपाईंको समग्र गीतको वास्तविक स्रोत हो। वर्तिकाको जीवनका उहापोह, अवसाद, मुस्कान आदिले वर्तिका एम राई फुल्न जान्छ। हुन पनि, सम्पूर्ण मनुष्य जगतबाट लुकाएर राखेको निजताभित्र बाँचिरहेको जीवन वास्तविक हुन्छ।
बब डिलन भन्छन्- “म चौबीस घण्टा बब डिलन बन्न सक्दिनँ”। र मलाई लाग्छ जहाँ उनी बब डिलन हुँदैनन् त्यो उनको जीवनको स्रोत हो।
एउटा सङ्गीतको राम्रो अध्येता या समालोचकले कुनै पनि रचनाको सबै कोणहरूलाई सम्बोधन गर्न सक्छ, सर्जकसँग वैयक्तिक सम्बन्ध या सत्सङ्ग प्राप्त मान्छेले सर्जक र सृजनालाई एक स्थानमा राम्रो अनुपातमा प्रस्तुत गर्न सक्छ। एउटा अपरिचित मात्रले आफ्नो नोस्टाल्जियातिर फर्कनु भन्दा बाहेक के गर्न सक्छ र! त्यसकारण यो पत्र नोस्टाल्जिया हो, कल्पनाको प्रक्षेपण हो, स्वयं मात्रको अनुभूतिलाई केन्द्रमा राख्ने स्वार्थपूर्ण पत्र हो।
सन् २०१९ को कुनै एउटा दिन। सङ्गीतप्रेमी हुनुको पात्रता त पूरा गर्नै पर्यो। किशोरकालको सूर्यको तापमा बसेर नयाँ–नयाँ गीतहरू खोज्ने कार्यमा व्यस्त थिएँ। “नजिक-विम्बाकाश”। गीतमा धेरै भ्युज थियो। मलाई एल्बमको नामले नै आकर्षित गर्यो। विम्बाकाश। आफ्नो टाउको माथिको आकाशलाई दृष्टि दिएँ। यो त मेरो आकाश भयो जुन सफा छ, आफ्नो नाम मात्रका लागि भए पनि मेघका केही चोइटा आकाशमा थिए, अनि सूर्यको प्रगल्भ ताप सहितको नीलो आकाश। यसमा मेरो केही सीमित बिम्ब प्रतिबिम्ब छन्। वर्तिकाको आकाश कहाँसम्म विस्तीर्ण फैलिएको छ, कति धेरै बिम्बहरू अटाएको छ अनि यो धुल्याक्त धर्तीमा यी बिम्बहरूको अर्थान्तर कस्तो हुन्छ, यी जिज्ञासाहरूले हृदय ओतप्रोत भएको थियो।
“रात धेरै पर्यो धेरै धेरै मायाका कुरा नगर न ए
भोलिबारे केही थाहा नभई जीवनभरिका दिनहरु मेरै नाम नगर न ए
*****
शान्ति, शून्यता, निश्चल गाम्भीर्य। मात्र एउटा गीतको परिणति थियो यो। मलाई थाहा छैन – एउटा सर्जकको सफलता कुन प्राचल (Parameter) मा मापन गरिन्छ यद्यपि मेरो लागि यी तीन परिणति भन्दा अलग अर्को कुनै प्राचल छैन।
वर्तिकाजी ! तपाईंको काँचो आवाज हृदयभरि प्रतिध्वनित भइरह्यो- “तिम्रो आत्मा थाम्ने जिम्मा कसरी लिउँ म जब आफ्नै आत्मालाई चिनेको छैन।”
तपाईंले नै सुनाउनुभएको यो सृजनाको एउटा रचनागर्भ छ – एउटा केटा छ, जसलाई एउटा केटी मन पर्छ, उसको आँखालाई सौन्दर्यको दृष्टिबाट अद्वितीय मान्दछ। तर आँखाको वास्तविकता अर्को छ, यी आँखाले आफ्नो प्रेमिल स्वप्नहरू क्षय देखेको छ। अब यी आँखा स्वयम्को खोजका लागि अगाडि बढेको छ। आँखालाई आत्मोपलब्धि आवश्यक छ। अब अरूको आत्माको भार बहन गर्न गाह्रो छ ती सुन्दर आँखालाई। शायद आँखा निर्भार छन् र नै सौन्दर्ययुक्त देखिएका थिए। त्यही अवस्थाको अभिव्यक्ति हो रे यो गीत।
आफ्नै छायाँदेखि भाग्दै हिंडेकाहरूले यो गीत छातीभरि बोकेर हिंड्दा हुन्छ। जीवनका अनेक रितले, अनेक औपचारिकताले आफ्नो रिक्तता भुलाउन अभिशप्त (?) हृदयले यो गीतलाई आफ्नो प्रतिफलनको रूपमा हेर्दा फरक पर्दैन।
कति धेरै गीत छन् तपाईंका गीतहरू जो मेरो असल मित्र भएका छन्। घरको झ्यालमा तैरिरहेका शरदकालका सुवासलाई महसुस गर्दै सुनेको छु तपाईको गीत- शब्दै शब्दले सागर बनाउन सके डुङ्गा बनेर आफैं तैरिंदै आउने थिएँ। कहिले मध्यरातमा आकाशमा गर्भस्थ ताराहरूको पिलपिल हेर्दै वर्तिकावाज सुनेको छु। एकादेशमा ठड्याइएको महलहरू भत्किंदा “खै” सुनेको छु। शरदको आत्मीयता/न्यानोपनलाई कुल्चिएर हिउँद लाग्छन् – यहाँ पनि चारैतिर शून्यता, आशाले निथ्रुक्कै भिजेको छ।
एउटा सङ्क्षिप्त पात्रमा कति नै कहानी सुनाउन सक्छु र! कति नै चर्चा गर्ने प्रयास गर्छु र! अझै “तरल” अनि “सि मा ना” शेष नै छन्।
गीतहरूमा शब्दहरूको महत्त्व नदिएको समयमा तपाईंका गीतहरूले एउटा नयाँ पुल लगाइदिएका छन्। ब्लुज सङ्गीतका भागले गीतहरूलाई अझ श्रावनीय बनाएका छन्। एउटा छुट्टै साङ्गीतिक संसारमा पुगेको जस्तो लाग्छ।
त्यस्ता मानिसहरू पनि छन् जसले सङ्गीतलाई जीवनको वास्तविकतादेखि पलायन मान्छन्। शायद अधिक गीतहरू त्यस्तो पनि छन् होला। तर तपाईंको गीत जीवनसँगको साक्षात्कार लाग्छन्। जीवनको क्रूरता, अलिकति प्रेम, केही हार्दिकता, केही आशाका ज्योति- तपाईंको गीतका तत्वहरू यिनै होइनन् र!
तपाईंको गीतसँगको यात्रामा (एक छिन, अब त तपाईंको गीत तपाईंको मात्र रहेन, हाम्रो भैसक्यो) यति धेरै यादहरू छन् जसलाई व्यवस्थित रूपमा दृष्टिगोचर गर्ने धैर्य ममा छैन। तर ती यादहरू कहिल्यै ओइलाउने छैनन्, जीवनले यात्राको क्रममा तपाईंको गीतहरूको अर्थ खुलाइदिएको बेला तपाईंलाई अवश्य सम्झिनेछु, नलेखे पनि।
म पनि तपाइँ जस्तै अस्तित्वको एउटा अतिथि हुँ, तपाईंको आवाजहरू मेरो ब्रह्माण्डमा कहिल्यै क्षय हुने छैनन्। यदि सके भने बिम्बाकाश श्रवण गर्दाको पहिलो क्षण फेरि फर्काउने थिएँ। तपाईंको शब्दको, स्वरको प्रभाव जीवनमा स्वभाव बन्न सकुन् पनि। मान्छेको हृदयमा कति चक्रवातहरू आउँछन्, मानिस कतिन्जेल त्यसमा हेलिइरहन सक्छ र! समयले जीवनलाई धेरै टुक्रामा काटेर धेरै प्रकारका सत्य देखाइरहन्छ। हामीले महसुस गरौंला- जीवनको सार आर्द्र छ। यद्यपि तपाईंका गीत यो शुष्क चक्रवातहरूबाट पृथक् क्षेत्रफलमा निवास गर्ने मैनबत्ती बनोस् जो आफ्नै आँशुका थोपाहरूमा उभिएर बलिरहन्छ।
वर्तिकाजी! मैले तपाईंको संवाद मार्फत थाहा पाएको थिएँ कि तपाईंको गीत लेखन एकदमै एकान्तिक प्रक्रिया हो। अझ तपाईंको शब्द अनुसार कम्प्लिट आइसोलेशन। तपाईंले त्यो एकान्तबाट के निचोर्नु हुन्छ गीत बनाउनका लागि। पक्कै खुशी त हैन। के जीवनको कठोरता प्रतिको समर्पण त्यो आइसोलेशनको सृजन हो ? कमसेकम मैले त्यो अनुभूति गरें।
मलाई अझै याद छ – कसैले सोधेको थियो के सिक्छौं वर्तिकाको लिरिक्सबाट? मैले केही समय व्यतीत गरेको थिएँ उक्त प्रश्नको उत्तर भेटाउने आशामा। अनि उत्तर नभेटेर कुनै कपोलकल्पित उत्तर पनि दिएको थिएँ झैं लाग्छ। तर आजकाल लाग्छ – संसारमा सिकाउने मानिस कति छन्? अवश्य पनि सिक्न चाहने भन्दा त अधिक नै छन्। के वर्तिका ती मूर्छित भीडको सदस्या हुन् र? अवश्य होइनन्। वर्तिकाका गीत निश्चल दर्पण हुन् जसको अघि गएर हामी आफूलाई नियाल्ने गर्छौं। हाम्रा अदृश्य हृदय, हाम्रो अनुहारको रङ्ग, खुम्चाइ, दाग, डाम, यादकादा आँशुका धर्सा…. अनि यिनैबीच खुसीको सानो प्रकाश जो क्षणभरमै विलय हुनेछ।
तपाईंका गीतहरू युगका गीत हुन् त? के उनका गीतले विशेष गरेर वर्तमान युगका अन्तरकुन्तरका रहस्य, समस्या आदिलाई हाम्रो आलोकमा ल्याएर बोधगम्य पार्दिन सक्छ त? प्रश्नको वैचित्र्य। सृजनाले उठाएको यावत् कुरालाई पुष्टि गर्नको लागि युगको उदाहरण दिनु आवश्यक शर्त हुन्छ होला, हैन भने त सृजना कसरी सम्प्रेषणीय होला र? तर स्वयम्को अभिव्यक्ति जुनै युग आए पनि सधैं युगनिरपेक्ष झैं लाग्छ, किनकि मानिसको अन्तर्य सधैं एकै प्रकारले परिपूर्णित भएको हुन्छ। म र वर्तिकामा के फरक छ, शिवाय कथा भन्ने तरिका या प्रयोगभन्दा। वर्तिकको जीवनको अनुभूतिहरू सृजनाको रूपमा जन्म लेला, हाम्रो अन्य कुनै रूपमा। बस्, जे भए पनि कथा सुनाउने कार्य अनिवार्य नियति हो।
काव्यहरू सधैं किताबको पत्रहरूबीच च्यापिने मात्र हो भने तिनले मानिसको मुखमा पुराना स्वाद छाडेर जान्छन् या विलय हुन्छन् पनि। कहिलेकाहीं काव्यले सङ्गीतको आवरण ओड्नुपर्छ, हैन भने त जीवनका काव्य बचाउन अब कागज मात्र समर्थ छैन। वर्तिकाजी! तपाईंको सङ्गीतले काव्य बचाइरहोस्, काव्य अर्थात् जीवनको एक मात्र सत्य ।
वर्तिकाजी ! रात धेरै पर्यो। धेरै रात परेको समय मायाका कुरा मात्र हैन काव्य र गीतका कुरा पनि गर्नुहुँदैन हैन भने काव्यमा स्वप्नको कुनै स्थान पनि नहोला। त्यसैले अहिलेलाई धन्यवाद, अविस्मरणीय निश्चल अवस्थानको लागि। प्रत्येक आरम्भ र अन्त्य, यो सदा अस्तित्ववान् शून्य भन्दा अर्थोक के होला र!
शुभरात्रि!
प्रतिक्रिया 4