+
+

पूर्णबहादुरको सारङ्गीले सिर्जना गरेको एउटा छुट्टै विरहको धुन

विजय हितान विजय हितान
२०८१ मंसिर ८ गते १९:५५

पूर्णबहादुरको रुपमा प्रस्तुत विजय बराल यस चलचित्रमा धेरैचोटि रोएका छन । तर तिनको आँखा न रसाउँछ न तिनले आँखाबाट आँशु नै खसाल्छन् । एकथोपा आँशु खसाल्न कञ्जुस्याइँ गर्ने बरालको यो अभिनयभरि मेरो आँशु खसेन । बरु अन्त्यतिर प्रकाश सपुतको देब्रे आँखाबाट धरक्क आँशु झर्दा मेरा आँखा रसाएका थिए ।

दर्शकको आँशु झार्न सफल भएर मात्र चलचित्रलाई सफल मान्न सकिन्न । आँशु झार्न सक्नु सवल पक्ष होला तर पूर्णबहादुरको सारङ्गीका केही दुर्बल पक्षहरु पनि छन् । यसले एउटा छुट्टै विरह ध्वनित गरेको छ ।

मुख्यत: यस चलचित्रले आमा/महिला/मातृभावप्रति ठूलो घात गरेको प्रतीत हुन्छ । गन्धर्व समुदायमा चल्दै आएको संस्कारमा परिवर्तन ल्याउन आमाको भूमिकामा प्रस्तुत बाटुली (अञ्जना बराइली) के पोइल नै जानुपर्थ्यो र ?

बाउ पूर्णबहादुर चाहन्थ्यो- छोरा कमलले पनि आफूले जस्तै सारङ्गी रेटेको पैसाले जीवन बाँचोस् । जडाउरीले आङ ढाकोस् । मागी ल्याएको अन्नले पेट भरोस् । पुर्खाको रितलाई निरन्तरता दियोस् ।

तर आमा बाटुली चाहिं प्रगतिशील विचारकी हुन्छे । छोरा स्वाभिमानी बनोस् । स्कुल जावोस् र पढोस् । सहर पसोस् र उच्च शिक्षा ग्रहण गरोस् । रुढीवादी परम्पराबाट आफूलाई मुक्त पारोस् । आधुनिक जीवन बाँचोस् भन्नेमा जोड दिन्छे । समग्रमा बाटुली मातृसत्ता स्थापना गर्न खोज्छे । यहाँसम्म आउँदा नायिकालाई एउटी विद्रोही आमाको भूमिकामा उभ्याएर समग्र नारीप्रति न्याए दिलाइएको छ । आमाबाको भूमिकाको सन्दर्भमा यतिबेलासम्म चलचित्रले सन्तुलित गति लिएर अघि बढिरहेको देखिन्छ ।

तर पछि पूर्णबहादुर र बाटुलीको विचार बाझिन्छ । जब बाटुलीलाई पोइल गएको प्रस्तुत गरिन्छ तब चलचित्रको गरिमा एकाएक गिरेको भान हुन्छ । बाटुली अर्कै एक जनाको प्रेममा फस्छे र शहर पस्छे । छोराको सुन्दर भविष्यको लागि उसले यस्तो निर्णय लिएकी हो । पितृसत्ताले उसलाई यस्तो निर्णय लिन बाध्य पारिन्छ । नायिकालाई एक्कासि यसरी प्रस्तुत गरिंदा पितृसत्तात्मकतावाद हावी भएर आएको देखिन्छ । चलचित्र हेर्दैगर्दा कति सचेत महिलालाई यो त सिधै मातृद्रोह हो भन्ने लाग्यो होला ।

छोराको उज्ज्वल भविष्यको लागि बाटुली शहर पसेर गिट्टी कुट्न सक्थी । अरुको घरमा लुगा धुन सक्थी । होटलमा भाँडा माझ्न सक्थी । मकै पोल्न सक्थी । गुट्का, साग, चटपटे, पानीपुरी बेच्न सक्थी । आमाले यसरी संघर्ष गरेर छोरालाई पढाएको दृश्य चलचित्रमा देखाउन सकिन्थ्यो । या त पूर्णबहादुर र बाटुली दुवैको सल्लाहमा घर बेचेर या सारङ्गी बेचेर दुवै जना शहर पस्न सक्थे । अनि छोराले उच्च शिक्षा पूरा गरेको भए बल्ल सन्ततिको भविष्यमा दुवै अभिभावकद्वारा सन्तुलित जिम्मेवारी निभाइएको देखिन्थ्यो । बाआमा दुवैको संघर्षले छोरा डाक्टर बनेको देखाइएको भए बल्ल  न्यायपूर्ण हुन्थ्यो । नर र नारी रथका दुइ पांग्रा हुन् भन्ने हाम्रो सामाजिक मान्यता छ ।  तर यस चलचित्रमा नारीलाई नीचभावमा प्रस्तुत गरिएको प्रष्ट देखिन्छ । चलचित्रमा महिला पांग्रालाई जबरजस्ती दुर्घटनामा पारेर पुरुष पांग्रालाई मात्रै जीवनसंघर्षको बाटोमा गुडाउन खोजिएको छ । यहाँ प्रश्न उठन सक्छ- परिवर्तनको लागि के नारीले आफ्नो अस्मिता बेचेकै हुनपर्छ र ?

कथा वस्तुले मागेको उचित पात्रहरुको चयन भएको छ । नायक र नायिका लगायत सबै पात्रलाई सुहाएको छ । यस्तो कथावस्तुमा धिरज मगर, दयाहाङ्ग राई, दिलीप रायमाझी, राजेश हमाललाई अभिनय गराएको भए सुहाउने थिएन ।  संवादमा रैथानेपना छ । भेषभुषामा मौलिकता झल्किन्छ ।

हलमा चलचित्र हेर्दै गर्दा निर्देशक महिला भैदिएका भए पूर्णबहारदुरको सारङ्गीले कस्तो मोड लिन्थ्यो भनी म गम खान्छु । आमा जस्तो पुज्य व्यक्तित्वमा आँच आउने खालको भूमिका दिइएको छ अञ्जना बराइलीलाई । यदि म बराइलीको स्थानमा हुन्थें भने, नाइ म यस्तो भूमिका निभाउन सक्दिनँ, बरु यस्तो गरौं, भनेर निर्देशकलाई सल्लाह सुझाव दिन्थें ।

बाटुली छोरालाई च्यापेर परपुरुषसँग भाग्छे । शहर जाने बाटो लाग्दै गर्दा छोरा अचानक आमाको हातबाट फुत्किएर घर फर्किन्छ र किरिया बसेको बाउको काखमा लिपिक्कै टाँसिन्छ । यो दृश्य देख्दा एक युवती अर्थात् छोरी दर्शकको मनमा कस्तो विचार जन्मिन्छ होला ? सचेत युवती/महिला/आमाहरुमा यसले अवश्य नै नकारात्मक मानसिकता सिर्जना गरेको हुनपर्छ भन्छु म ।

यसरी मातृद्रोहको चित्रण गरिनु यो चलचित्रको प्रमुख दोष हो भने यसका अन्य दुर्बल पक्षहरु पनि छन् ।

जसरी नारीप्रति निकृष्ट भावनाले यो चलचित्र अघि वढेको छ त्यसैगरी हाम्रो समाजको एउटा वर्ग/जातलाई पनि नराम्रो देखाउने प्रयास गरिएको छ । त्यो कतिबेला भने, पूर्णबहादुर सारङ्गी भिरेर एउटा सत्संगमा पुग्छन् । सत्संग बिटुलो पारेको गुनासो गर्दै  पुजारी उठेर पूर्णबहादुरलाई हप्काउँछन् । त्यही पुजारीले नै पूर्णबहादुरलाई, निस्केर जा यहाँबाट, भन्दै धकेलेको दृश्य देखाइन सकिन्थ्यो । तर टाउको रगताम्य हुनेगरी पूर्णबहादुरलाई गलहत्याउन आदिवासी अनुहारका युवाहरु प्रयोग गरिन्छ । त्यही गम्भीर चोटको कारणले गर्दा पूर्णबहादुरले पछि आफ्नो स्वर गुमाउनुपर्ने हुन्छ । हाम्रो समाजमा जातभात तथा छुवाछूत प्रथा एउटा वर्ग/जातद्वारा लादिएको हो । तर त्यसको दण्ड सजाय दिने कार्य अर्को वर्ग/जातबाट कार्यान्वयन गराइन्छ ।

मुख्यत: यी दुई दोष प्रष्ट रुपमा देखिंदै गर्दा त्यस्तै अन्य त्रुटिहरु पनि यस चलचित्रमा नभएका होइनन् ।

पूर्णबहादुर सारङ्गी बजाउनमा निपुण देखिंदैनन् । तारमाथि उनका औंलाहरु मज्जाले खेलेका हुन्नन् । पूर्णबहादुरले छोरालाई सारङ्गी सिकाउँदा- गजोले जेठी, माइली, साइली र कान्छी तारलाई यसरी रेट्नुपर्छ । यी तारहरुलाई मुर्राहरुले यसरी तन्काउन पर्छ– भनेको भए वास्तविकता झल्किन्थ्यो ।

पटकथामा पंचायतदेखि गणतन्त्र कालभित्रको घटना हो भनेर राजनीतिको मसला छरिएको छ । पिछडिएका अशिक्षित गन्धर्वको जीवनलाई चित्रण गर्दा राजनीति नछुवाइदिएको भए पनि चलचित्र राम्रै बन्थ्यो ।

पूर्णबहादुरको सारङ्गी भनेर शीर्षक नै  सरल र आकर्षित त लाग्छ तर सोही अनुसारको कथावस्तु र अभिनयले गर्दा अब यो खाले चलचित्र बन्ने प्रचलन बस्ला जस्तो देख्छु म ।

बाटुली दुईजीउकी भएको दृश्य गज्जवले प्रस्तुत गरिएको छ । नौ महिनापछि बच्चा जन्मिन्छ ।  बाउले बच्चालाई हातमा लिदाको दृश्य चाहिं कपडाले बेटारेको काठको मुडो जस्तो देखिन्छ । कम्तीमा बच्चाको अनुहार देखाइएको भए वास्तविक जस्तो लाग्थ्यो ।

रैयाँ विशेष महिलाले लगाउने चाँदीको काँडे बाला हो । गीतको बोलले नै भनेको छ- रैयाँ चाँदीको… । तर बाटुलीले हातमा प्लास्टिकको चुरा देखाउँदै गाउँछिन । रैयाँ नै पहिरेर दोहोरी गाएको भए सान्दर्भिक हुनेथियो ।

६०को दशकमा जिइरहेको पूर्णबहादुरले चिठ्ठी पनि पढ्न नजान्ने ! साधारण पैसाको हिसाबकिताब पनि राख्न नसक्ने ! पूर्णबहादुरलाई अति अशिक्षित देखाइनु समय सान्दर्भिक लागेन मलाई । दमको रोगले मृत्युवरण गरेको पूर्णबहादुरको बासम्मको पिढीलाई अनपढ देखाइएको भए बल्ल सुहाउँथ्यो कि !

रुनुलाई सशक्त मानिने नेपाली मानसिकता भए पनि दर्शक त्यसै रुँदैनन् । रुवाउनलाई धेरै मिहिनेत गरिएको छ । रोएर मात्रै यो चलचित्र सफल भएको भने होइन । केही सबल पक्षले गर्दा यसलाई दर्शकले माया गरेका हुन् ।

छायाङ्कन उच्चस्तरको छ । विशेष गरेर रातको अँध्यारो होस् या कोठाभित्रको अँध्यारो दुवै बेलाको दृश्यमा दर्शक स्वयं समाहित भएको अनुभूति हुन्छ । यति धेरै दृश्यहरु पृष्टभूमिलाई धमिलो पार्दै मूल पात्रहरुको संवाद र अभिनयमा केन्द्रित गरेर प्रस्तुत गरिएको छ । यसले दर्शकलाई नाटक हेरेको जस्तो एक किसिमको रोमाञ्चकता पैदा गरिदिन्छ । परिवेशमा चरा, कुकुर, स्याल, कीरा-फट्यांग्राका आवाज; खोलाको सुसाई र हावाको बहकाईले सजीवता थपिदिन्छ ।

त्यसैगरी कथावस्तुले मागेको उचित पात्रहरुको चयन भएको छ । नायक र नायिका लगायत सबै पात्रलाई सुहाएको छ । यस्तो कथावस्तुमा धिरज मगर, दयाहाङ्ग राई, दिलीप रायमाझी, राजेश हमाललाई अभिनय गराएको भए सुहाउने थिएन ।  संवादमा रैथानेपना छ । भेषभुषामा मौलिकता झल्किन्छ ।

अन्त्यमा, जानेर गरिएका गल्तीहरु अवश्य हैनन् । अन्जानमा भएका यस्ता त्रुटिहरुलाई निर्देशकले अर्को चलचित्रमा सुधार्ने मौका छ । पूर्णबहादुरको सारङ्गी भनेर शीर्षक नै  सरल र आकर्षित लाग्छ । सोही अनुसारको कथावस्तु र अभिनयले गर्दा अब यो खाले चलचित्र बन्ने प्रचलन बस्ला जस्तो देख्छु म । अब नेपालमा हेर्दै गर्नु-  कर्णलालको कल, अमरबहादुरको आरन, हर्कबहादुरको हलो, मनकुमारको मादल, मुलबिरको मुरली, गजेन्द्रमानको गिटार, शङ्करदेवको शंख र कमलप्रसादको कलम जस्ता नामधारी चलचित्र निकट भविष्यमा लस्कर लागेर आउनेछन् ।

लेखकको बारेमा
विजय हितान

बेलायतको वातावरण संस्थानमा कार्यरत हितान वातावरण विज्ञ हुन् । उनी वातावरणीय सवाल र पर्या-साहित्यमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?