आमा, अपरिभाषित, अतुलनीय घनत्व,महत्व,अपनत्व र माया-ममताको प्रतीक हुन् । शब्द वा परिभाषामा सीमित गर्न नसकिने भएकाले पनि हुनसक्छ आमाबारे कमै लेखिएको छ ।
धेरै लेखिएर आमाको महिमा वा महत्व बढ्ने वा नलेखिएर आमाको महिमा वा महत्व घट्ने पनि हुँदैन । लेख्न नसकिएर नै सम्भवत: आमाबारे हिजोसम्म केही लेखिएन वा धेरै लेखिएन । पर्याप्त पनि लेखिएन । नेपालको मात्र नभएर विश्व परिवेशमा नै सामाजिक मान्यता,दृष्टिकोण र राज्यको व्यावहार समेत आमा आर्थात् महिलाहरूका सम्बन्धमा विभेदकारी नै रह्यो ।
बदलिंदो युग परिवेशअनुसार ज्ञान-क्षमता र साहस बढ्दै जान थालेको आजको समयमा आमाको बारेमा लेख्न,आमाको कथा भन्न थालिएको छ । महिला र पुरुषका बारेमा सामाजिक वा पारिवारिक वातावरण र राज्यको व्यवहार पनि अझै समानरुपमा निर्माण भइनसकेको भएपनि सामाजिक मान्यता र राज्यका व्यवहार भने उदार हुँदै आएको छ ।
आमाको बारेमा नभनिएको वा नलेखिएको नै पनि होइन । पौराणिक कालदेखि नै ‘मातृ देवो भवः’ भनिएको छ । ‘कोक्रो हल्लाउने हातहरूले संसार हल्लाउँछ’ होस् वा ‘मलाई एउटा असल आमा देऊ, म तिमीलाई एउटा राष्ट्र दिनेछु’ पनि आमाकै महिमा हुन् ।
अन्य यस्ता धेरै आमाका महिमा र महत्वका भनाइहरु छन् –‘आमाले सबैको ठाउँ लिन सक्छिन् तर आमाको ठाउँ कसैले लिन सक्दैन । मर्नका लागि धेरै बाटा छन् तर जन्म लिन एउटा मात्र बाटो छ, त्यो हो आमा । माथि जसको कहिल्यै अन्त्य हुँदैन, त्यसलाई परमात्मा भनिन्छ र तल जसको अन्त्य हुँदैन उसलाई आमा भनिन्छ ।’
तर यी बोली र व्यवहारमा भने एकरुपता छैन । त्यसैले अहिले आमाका कथाहरु (महिलाका संघर्ष र साहसका प्रेरणादायी कथा) को अभिलेखीकरणलाई अभियानका रुपमा शुरु गरिएको छ, ‘हर स्टोरी टेलिङ ।’
प्रकृतिका सवै विषय वा वस्तु चाहे जीव हुन् वा निर्जीव नै ती सबैको सिर्जनाको स्रोत र शक्ति आमा नै हुन् । आमाका बारेमा वाल्मिकी रामायणमा उल्लेख एउटा सन्दर्भ यस्तो पनि छ-
मित्राणि धन धान्यानि प्रजानां सम्मतानिव ।
जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी ॥
यसलाई अन्य ग्रन्थहरू र सन्दर्भहरूमा धेरै विद्वानहरूले विभिन्न तरिकाले चर्चा गरेका छन् ।
यस पृष्ठभूमिमा नेपाली समाजमा आमाका कथाहरू लेख्न-भन्न,सुन्न-सुनाउन थालिएको धेरै भएको छैन । हजुर आमाका कथा (अमृता लम्साल), छोरीले जन्माएका आमाहरू (मन्जु थापा) र आमा छोरी (बुना दाहाल) यी पछिल्लो समयका गणना योग्य प्रयास र परिणाम हुन् ।
यो आलेखमा चर्चाको स्रोत सामाग्री हो – आमा छोरी (मदर-डटर लिगेसी) को ।
अमेरिकाको सियाटल राज्यस्थित वासिङ्टन केन्द्र रहेको ‘डाइनामिक बुना इन्क ब्लाइन्ड कोर्प्स’ प्रकाशक रहेको यस संग्रहको नेतृत्व र प्रेरणा बुना दाहाल हुन् भने सम्पादक इन्द्रकुमार श्रेष्ठ सरित् । दाहालले नेपाल, अमेरिका, बेलायत, थाइल्याण्ड, बर्मा, फ्रान्स लगायतका २५ देशहरूमा प्रेरक वक्ताकारुपमा काम गरिसकेकी छन् भने श्रेष्ठ नेपाली साहित्यमा विशेषतः कथाकारकारुपमा स्थापित साहित्यकार हुन् यद्यपि उनका कविता र उपन्यास पनि प्रकाशित छन् ।
यस संग्रहमा आमाको कथा भन्ने १४ जना छोरीहरू यस प्रकार छन् –
१) गंगा अधिकारी – छोरी,स्मृतिमा मेरी आमा
सुमित्रादेवी पोख्रेल (विके रसाइली) – आमा
२) चेतना लोक्सम – छोरी,मेरी आमा र म
करूणादेवी लोक्सम – आमा
३) ज्यामु भोटिया – छोरी , मेरी आमा
ल्हानाङ किप्पा सङ्दारा सेच्चा – आमा
४) टिका आङ्देम्बे – छोरी,आमा हुँदा घरै उज्यालो
पद्मावती लिम्बू – आमा
५) नीता श्रेष्ठ ‘नित्यनूर’- छोरी, मेरी आमाः धर्ती र आकाश
जानकी देवी श्रेष्ठ – आमा
६) बुना दाहाल – छोरी, मेरी प्रेरणाकी अजस्र स्रोत
मेनुका दाहाल – आमा
७) भागीरथी श्रेष्ठ – छोरी,मेरी आमा
जानकी वजिमय – आमा
८) मिना शाक्य प्रधान – छोरी,आमाको जिवनःसम्झनाका डोबहरू
कृष्णमाया शाक्य – आमा
९) राधा पौडेल – छोरी, मितेरी आमाको आशिर्वाद
गंगामाया पौडेल – आमा
१०) डा. रेखा यादव ‘निर्झर’- छोरी, अक्षर नचिन्ने साक्षर आमा
रत्नदेवी यादव – आमा
११) लक्ष्मीकुमारी चौधरी – छोरी,आमा छोरी विरासत
दुखनी थारू – आमा
१२) सबिना पोखरेल उप्रेती – छोरी, व्यस्त रहनुलाई सौन्दर्य ठान्ने मेरी आमा
लक्ष्मी उप्रेती – आमा
१३) सृजना ओमित्सा लामा थापा- छोरी,मेरो दृष्टिमा मेरी आमा
सोनाम लामा – आमा
१४) शान्ता अधिकारी – छोरी, छोरीको प्रेमपत्र
सुभद्रा अधिकारी – आमा
आमा, एकै शब्द पर्याप्त छ । यसको वर्णन वा परिभाषा नगरे पनि पुग्छ । भागीरथी श्रेष्ठ नेपाली साहित्यमा वरिष्ठ कथाकार र उपन्यासकार पनि हुनुहुन्छ । उहाँका ५ वटा कथा सङ्ग्रह र २ वटा उपन्यास प्रकाशित छन् । हजुर आमा पुस्ताकी ७६ वर्षीया श्रेष्ठले यस संग्रहमा छोरीका रुपमा आफ्नी आमाको बारेमा अढाई पेज वा करिब ८ सय शब्द मात्र लेख्नु भएको छ ।
उहाँको जीवनका उकाली ओरालीका बारेमा छोरा-छोरी,नाति-नातिना जो कसैले पनि लेख्न सके प्रेरणादायी सन्देश हुनेछ । आमाको बारेमा कमबेसी लेखियो भन्नका लागि नभएर जीवनका समग्र पक्ष नसमेटिएको उदाहरण हो यो ।
संग्रहमा आमाहरू र छोरीहरूको पनि सामाजिक परिचय अर्थात् पेशा-विज्ञता आदि उल्लेख गर्न सकिन्थ्यो । त्यो पनि नवपुस्ताका लागि थप प्रेरणादायी उदाहरण हुनसक्थ्यो । आमाको साहसको कथाका लेखक छोरीहरू पनि आ-आफ्ना क्षेत्रका पेशा-व्यवशायका विज्ञ र साहसी आमा वा छोरीहरू हुन् ।
संग्रहमा आमा छोरी दुवैको सामाजिक-सार्वजनिक भूमिका र व्यक्तित्वलाई अपेक्षितरुपमा उजागर गरिएको छैन । सार्वजनिकरुपमा यो पंक्तिकारले ‘नोटिस’मा राखेको अर्को एकजना आमा हुनुहन्छ – लक्ष्मी उप्रेती ।
विराटनगरमा सामाजिक र साहित्यिक गतिविधिमा सकृय लक्ष्मी उप्रेतीको सामाजिक जीवनको समग्र व्यक्तित्वलाई छोरी सविनाले पर्याप्त खोतल्न सकेको देखिंदैन । अन्य आमाहरूको पनि सामाजिक पाटोमा सन्तोषजनकरुपमा उत्खनन् हुन सकेको छैन । दुवै तर्फका व्यक्तित्वहरूका बारेमा किन यसरी पर्दा हालियो ? पाठकहरू त त्यो जान्ने मौकाबाट वन्चित भए नै तर सम्पादक – प्रकाशकले पनि यो अवसरको सदुपयोग गर्ने मौका गुमाए ।
आ-आफ्ना आमासँगका अनुभूति लेख्ने छोरीहरूको भावना र सन्देशको निष्कर्ष समान छ । तर डेढ-दुई पेजदेखि माथि ४-५ पेज, ८-१० पेज, १५-१६ पेज वा ३०-३५ पेजसम्म क्षेत्रफल ओगटेका आमाहरूका बारेमा छोरीहरूको संस्मरण र अनूभुतिलाई यति धेरै असन्तुलित नगरेर न्यूनतम् र अधिकतम्को सिमा तोक्न पनि सकिन्थ्यो ।
‘म मेरी आमालाई असाध्यै माया गर्छु । उहाँ महान हुनुहन्छ’, यति लेखेपनि आमाको बारेमा पर्याप्त हुन्छ तर आजसम्म नलेखिएका आमाहरूका कथा लेखनको यस श्रृङ्खलामा त्यति धेरै छोटो पनि हुनुहुन्थेन भने सामूहिक संकलनमा त्यति धेरै लामो पनि नगरौं कि भनेर सोच्नु भने पर्थ्यो ।
काम गर्दा सामना गर्नु पर्ने कठिनाइ परिणाम फेला पार्ने उपभोक्तालाई थाहा हुने कुरा पनि भएन । यद्यपि यस प्रकाशनका क्रममा पूर्व प्रकाशनहरूबाट लिन सकिने प्रेरणा वा उदाहरणमा भने उदासिनता हो कि अज्ञानता त्यो भने खट्किन्छ । काम गर्दै र सिक्दै नै जाने हो । जन्मँदै कसैले सिकेर आएको पनि हुँदैन र के गर्न आएको पनि थाहा हुँदैन । यो प्रयास पनि आमाका कथाहरूको शृंखला अर्थात् ‘हर स्टोरी टेलिङ’ को प्रस्थान बिन्दु हो ।
सुरुवातका क्रममा हुने यस्ता कमिकमजोरी सच्याउन सकिन्छ । आमाको कथा छोरीले भने पनि भयो, आमाको कथा आमाले नै भने पनि भयो वा महिलाको कथा महिलाले नै भने पनि भयो । पुरुषले अर्थात् छोराहरूले भने त झनै जाती भयो । यो पंक्तिकार यसको अर्को श्रृंखलाको प्रकाशनमा आमाका कथाहरूका बारेमा छोराहरूको अनुभूति वा आमाको कथा छोराहरुबाट सुनाउने पहल गर्न सिफारिस गर्दछ ।
राम्रो काम, उदाहरणीय काम भनेर प्रशंसा नै मात्र गरे पुग्ने भए अब अर्को काम नगरे भयो ! तर त्यस्तो हुनु हुँदैन र होइन पनि । यस प्रकाशनको आवरण पेजमा राखिएका ‘आमा छोरी ( मदर-डटर लिभिङ लिगेसी)’ बाहेकका शब्द वा अक्षरहरू नहुँदा पनि फरक पर्ने थिएन ।
त्यसमा पनि कृतिको गरिमा बढाउन र आमाहरूको सन्देशलाई महत्व दिनमा ‘आइफल टावरबाट लोकार्पित पहिलो नेपाली पुस्तक’ ले कुनै भुमिका खेल्यो होला त ? पुनर्विचार गर्न सकिन्छ अन्य संस्करणहरूमा । मदर-डटर यसरी लेखिंदा आमा-छोरी पनि यसरी लेखिनु पर्थ्यो कि ? प्राविधिक साज-सज्जा र व्याकरणमा पनि सुधार गर्न सकिने अवसर छन् । छोटो समयमै दोस्रो संस्करण प्रकाशित भएको यस सङ्ग्रहको तेस्रो संस्करणमा त्यो अवसरलाई सदुपयोग गर्न सकिन्छ ।
समग्रमा यो महत्वपूर्ण,उदाहरणीय र प्रेरणादायी प्रयास हो । यसलाई कमिकमजोरीको कसीमा तौलेर राम्रो वा नराम्रो भन्नुभन्दा पनि उदेश्य तथा सन्देशको महत्वका आधारमा बुझ्न र ग्रहण गरेर आगामी दिनमा पनि अन्य यस्ता प्रयासहरू गरिनु आवश्यक छ ।
प्रकाशकीयमा बुना दाहालले लेखेकी छन्, ‘अमेरिकाका ३५ औं राष्ट्रपति जोन एफ.केनेडीले भनेका छन् – देशले तिम्रो लागि के गर्न सक्छ भनेर नसोध बरु देशका लागि तिमीले के गर्न सक्छौ भनेर सोध ।’
तर यहाँ ती अमेरिकी राष्ट्रपतिको भनाइको सान्दर्भिकताभन्दा गोपाल योञ्जनको रचना,स्वर र संगीत रहेको गीतका यी हरफको पो सान्दर्भिकता बढ्ता हुन्थ्यो कि –
देशले रगत मागे मलाई बली चढाऊ
रुदिनन् मेरी आमा ऊ नेपालकी छोरी ।
अन्त्यमा यो पनि थपौं-‘विचार एउटा सानो वीज हो,जसलाई बचाउन सकियो भने कालान्तरमा वृक्षको रुप लिन्छ ।’ यस संग्रहको नेतृत्व र प्रेरणाको भूमिकामा रहेकी बुनाको यो भनाइले पनि यो सत्प्रयासको महत्व दर्शाएको छ ।
प्रतिक्रिया 4