+
+
अनुभूति :

बाउआमा र भाइ गुमेको आँशुमा मुस्कुराएको विवेकको फूल

देशका ७५३ पालिकामध्ये शून्य बेरुजु भएका जम्मा ५ पालिकामध्ये बेनीघाट रोराङ गाउँपालिका पनि एक हो । अध्यक्षको श्रीपेच फुकालेको परिणाम होला यो । शून्य बेरुजु भनेको सुशासनको एक नमूना पनि हो ।

डा. नवराज लम्साल डा. नवराज लम्साल
२०८१ मंसिर ८ गते ८:३०

बेनीघाट रोराङ गाउँपालिका विशालटारस्थित चन्द्रोदय माध्यमिक विद्यालयको प्राङ्गण । पारि-पारि देखिने हरिया वनवृक्ष, नजिकै कहिले सोरठी र कहिले श्लोक जस्तो लाग्ने गरी सुर भरेको त्रिशूलीको सुसाइ !

जब खोला खोलासँगै सुसाउँछ नजिकै, जब एकान्त आफूसँग आफैं कुरा गर्न थाल्छ एकान्तमै, जब एक्लोपनबाट अन्तर सुख सुखमै रूपान्तरण हुन थाल्छ, म त्यसै त्यसै आनन्दित हुन्छु । आनन्दलाई अपूर्व भन्ने चलन छ ।

आँखाभरि फैलिएको विद्यालयको प्राङ्गण । लहरै राखिएका प्लाष्टिकका एक हजार कुर्ची । कुर्चीमा मुस्कुराइरहेका मान्छेहरू । तिनै मान्छेलाई सुरक्षा दिए झैं छेउछेउमा लहरै उभिनेहरू पनि पत्रपत्र भएर खडा ।

विभिन्न वडा र वडास्थित विद्यालयहरूबाट प्रतिनिधित्व गरेर आएका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहितका शिक्षक र विद्यार्थीका समूह । तिनैसँग मिसिएर आएका आमा समूह । स्थानीय स्वयंसेवी समूह । बाजा समूह । टाढा टाढासम्म रन्को भर्ने बाजाको मधुर स्वर । नाच्दै गाउँदै रसिकहरू ।

के हो यो ? शिक्षक, विद्यार्थी र अभिभावकहरूको त्रिवेणी । यो परम्परागत जात्रा होइन, कुनै मेला वा उत्सव पनि होइन । कसैको बिहे वा पूजा र यज्ञ पनि होइन तर जात्रा, उत्सव र यज्ञ सबै-सबै सँगै भए जस्तो । यो बेनीघाट रोराङ गाउँपालिकाले आयोजना गरेको सप्ताहव्यापी खेल उत्सव र त्यसको समापन समारोह हो ।

कात्तिक सकिएर मङ्सिर भित्रिने तयारी । मसान्त । घट्दै गएको गर्मी तर चीसोले च्यापिनसकेको मौसम । त्रिशूलीको चीसो हावाले स्पर्श गरेको छ तर जाडो छैन । चर्कै घाम लागेको छ तर पोलेको छैन । मन्द मन्द महकको मधुरता भरिएको छ मौसममा पनि र उत्सवमा पनि । पालिकाले यो के गरिरहेछ ?

आज सर्वत्र निराशा छाइरहेको छ, भनिएको बेला । मान्छेहरूबीच चिन्ताले घर गरिरहेछ, भनिएको बेला । मान्छेहरूमा निराशाले डेरा जमाइरहेछ, भनिएको बेला । यो उत्साहको सञ्चार कसरी भइरहेछ ? किन भइरहेछ त ? तर भइरहेछ । पालिका स्वयं यसको आयोजक हो । सबै वडा सम्मिलित छन्, परिचालित छन् । पालिकाभित्रको ७८ वटा विद्यालयहरूमध्ये कम्तीमा १२ वटा मावि त प्रत्यक्ष सहभागी छन् । विद्यार्थीहरू आफैं उत्साहको स्रोत जस्ता । उनीहरू कहिले फूल झैं उभिएका, कहिले नदी झैं सल्बलाएका । कोही खेल पोशाकमा । कोही सांस्कृतिक पोशाकमा । कोही नाचिरहेछन् । कोही गाइरहेछन् । कोही कविता सुनाइरहेछन् ।

शिक्षकहरू आफैं पनि नाचिरहेछन् र निजामती पोशाकमा पालिका परिवार पनि नाचिरहेछ छमछम । फूलका मालाको चाङ छ अगाडि । कप, शिल्ड र प्रमाणपत्रका थाक छन् । मञ्चमा लहरै छन् अतिथि र अतिथिहरूलाई मञ्चमा राखेर मञ्चमै नाच्न मिल्ने फराकिलो छ परिवेश । नाच्नेहरू कहिले हातभरि फूल लिएर आउँछन् । कहिले राष्ट्रिय झण्डा । बनिबनाउ धुन होइन, त्यहीं प्रत्यक्ष गुञ्जिएको छ मादलको ताल र त्यहीं जीवन्त धुनमा छ बाँसुरी । म धेरैपछि एउटा लाइभ शोमा रमाइरहेछु, श्रीखण्ड चन्दनले प्रमुख अतिथि लेखिएको पीपलको पात छातीमा टाँसेर ।

मञ्चमा धेरै जना छन् । स्वाभाविकै हो, धेरै धेरै जना छन् । प्रमुख अतिथि, अतिथि वा आयोजक । स्थानीय अभिभावक, पूर्व जनप्रतिनिधि वा स्थानीय नेताहरू । पालिकाको राजनैतिक तथा प्रशासनिक नेतृत्व । राजनीतिक मान्छेहरू छन् तर त्यहाँ राजनीतिको रङ देखिन्न । कसैले भाषण गरेका छैनन् । भाषण नभएपछि प्रायः भाषणमा सुनिने पक्ष विपक्षको प्रशंसा वा आलोचनाको तिखो र कर्कश स्वर सुन्न परेको छैन । प्रशंसाको फूलजडीमा ताली पिट्न पनि परेको छैन । दुःख छन् र होलान् पनि मान्छेमान्छेमा तर कहीं छैन, केही छैन जस्तो । पक्ष विपक्ष छन् र होलान् पनि तर छैन जस्तो । प्रवाह जस्तो, मूलप्रवाह जस्तो । बहुरूप, बहुरङ तर मीठो एकता, एकत्व ।

यो के हो त ? यो एक उत्सव हो । यो पालिकास्तरको सप्ताहव्यापी राष्ट्रपति रनिङ शिल्ड तथा मजदुर शहीद स्मृति खेलकुद प्रतियोगिता, मदन भण्डारी स्मृति फुटबल कप र अध्यक्ष कप क्रिकेट प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोह । यी फरक फरक शीर्षक आफैंले भन्छन्, बहुरूप र विविधता । सबै खेलको प्रतियोगिता सकिएको छ र बाँकी छ समापन घोषणा र पुरस्कार वितरण । पुरस्कार वितरण समारोह तर यही समारोहमा मिसिएको छ; खेल, शिक्षा र संस्कृति । लाग्छ, पालिका मनोरञ्जनको माध्यमबाट शिक्षा र सूचना प्रवाह गरिरहेछ ! जनसहभागिताको माध्यमले विकासको लहर उठाइरहेको छ र अन्तरचेतना, शैक्षिक जागरण र संस्कृतिको मूल्यलाई सुरक्षित राखेर भौतिक विकास अगाडि बढाइरहेछ ! क्रिकेटमा छक्का हानेर आएका वा फुटबलमा गोल गरेर आएका विद्यार्थीहरू मज्जाले मादल बजाइरहेछन्, कविता वाचन गरिहेछन् र नाचिरहेछन् । त्यो पनि आ–आफ्ना बाआमा, शिक्षक र प्रशिक्षकलाई आँखा अगाडि राखेर । व्यक्ति एक व्यक्तित्व अनेक । बहुप्रतिभा विकासको साझा मञ्च, साझा आँगन ।

विकासको अवधारणा के ? पुल, बाटो, भवन वा स्कुलको कक्षा कोठामा शैक्षिक उपकरणको थाक वा यी सबैलाई प्रयोगमा ल्याउन सक्ने सीप र जीवनबोधको अवधारणा ? मान्छे आफैं खुशी भएन र पीडाको बादलले खुशी सञ्चारको चेतना छोपियो भने अडेस लाग्ने भित्ता सुनकै भए पनि के काम र ? खेल र खेल दुनियाँ, संस्कृति र सांस्कृतिक परिवेश, शिक्षा र शिक्षाको वातावरण । सबै दिनुछ र सबै सिकाउनुछ । अझ सबैभन्दा पहिले एउटा विद्यार्थीलाई मान्छे भनेको के हो भनेर सिकाउन जरूरी छ ।

जति पढे पढाए पनि विद्यार्थीले नजिकै बगेको नदी चिनेनन् भने ? विद्यालयकै आँगनमै उभिएको रूख चिनेनन् भने ? बाख्रा र भेडा छुट्याउन सकेनन् भने ? गाई र भैंसी चिनेनन् भने ? सुन्तला र अम्बा चिनेनन् भने ? शिक्षक र बाउआमाप्रतिको श्रद्धा गुम्यो भने ? माटोको माया र अपनत्व हरायो भने ? आफू आफू हुनुको पहिचान र आधारभूमि चिनेनन् वा बिर्से भने ? के अर्थ विद्यालयको ? के अर्थ राजनीतिको ? के अर्थ विकास नामको विकासकै पनि ? समाजसँग मिसिएर हिंड्न र हिंडाउन सक्ने संस्कृति र स्वभावको विकास गरेर त्यसैमा जोड्नुछ प्रविधि र प्रेम ।

यतिखेर लागिरहेछ, खुशीमा खुशीकै फूल फुल्नु त्यति ठूलो कुरा भएन तर आँशुमा फूल मुस्कुराउनुको मजा कि विवेकलाई थाहा होला कि सृष्टि स्वयंलाई !  नीति र मतिबाट विवेक हराएन भने यी र यस्ता विवेकहरूको आँशु पनि समृद्धिको राजमार्ग हुनसक्छ शायद

पालिका यो उत्सवको आयोजक । पालिकाका अध्यक्ष हुन् कृष्णबहादुर थपलिया ‘विवेक’ । औपचारिक रूपमा विवेकसँगको यो मेरो तेस्रो भेट हो । पहिलोपल्ट सामुदायिक रेडियोहरूको एउटा भव्य भेलाका अवसरमा धादिङकै बैरेनीमा भेटेको थिएँ । रेडियोकर्मीहरूका नेता सुवास खतिवडाजीले हामी दुईलाई केही समय मञ्चमा सँगै बसालेका थिए । विवेकको प्रस्तुति र तर्कलाई पहिलो पटक नजिकबाट हेरें । तिनै सुवास र अर्का जोशिला तन्नेरी ऋषि खतिवडाको संयोजनमा कुनै एक वर्षको अन्तर्राष्ट्रिय रेडियो दिवस सामूहिक रूपमा मनाएका थियौं बेनीघाट रोराङकै एउटा चेपाङ बस्तीमा ।

स्थानीय सरकार प्रमुखको हैसियतमा विवेकलाई प्रमुख अतिथि बनाउन खोजिएको थाहा पाएर उनले सुवासजीसँग भनेका थिए, राजनीतिक नेतृत्व दीर्घकालीन पद होइन । समाज र सामाजिक संस्कृति निर्माणका गैरराजनीतिक कार्यक्रममा साहित्य, संस्कृति क्षेत्रले नेतृत्व गर्नुपर्छ । यसैमा सामाजिक स्वीकृति रहन्छ । सुवासजी भन्थे, ‘उनले त्यहाँ एउटा कविको नेतृत्वमा सभा सञ्चालन गराएर सर्वस्वीकार्य सामाजिकता स्थापित गराउन खोजेका हुन् ।’

को हुन् त ती विवेक ? विवेक स्वाभाविक छ कुनै दलको प्रतिनिधित्व गरेर पालिका जितेका अध्यक्ष हुन् तर उनीभित्र राजनीतिभन्दा बढी करुणा र कम्पन छ । पीडा र प्रहारको पहाड थिए र ती सम्झना आलै छन् उनीसँग । छियाछिया भएको छाती छोपेर मुस्कुराउँदै हिंडेका तन्नेरी हुन् उनी । उनी हृदयमा स्नेहको मूल फुटाउन खोजिरहेछन् । घाउ छ तर खाटा नउप्कियोस् भन्ने चाहन्छन् । दुश्मनीको पराकाष्ठा कति क्रूर हुन्छ र प्यारको नदी कति गहिरो हुन्छ उनलाई थाहा छ ।

उनीभित्र अर्को चुनावको भोक देख्दिनँ । भोक नभएपछि भोक पूरा गर्न हतारिनु पनि परेन । राजनीति गर्छन् तर राजनीतिको चश्मा फुकालेर राजनीति गरिरहे झैं लाग्छ । उनले त्यसै दिनको आफ्नो छोटो भाषणमा भनेका थिए, ‘राजा परीक्षितले कलि बस्नका लागि सबै नराम्रो नराम्रो ठाउँ मात्रै दिए । कलिले भन्यो, महाराज सबै नराम्रो किन ? कुनै राम्रो ठाउँ पनि पाऊँ न ! राजाले कलिलाई सुनमा पनि बस न त भने । सुनमा पनि बस भन्ने बित्तिकै कलि राजाको श्रीपेचमा गएर बस्यो । श्रीपेचमा सुन थियो । श्रीपेच लगाएपछि राजाको काम उल्टोपाल्टो भयो रे ! कहिलेकाहीं मलाई पनि यस्तै लाग्छ । पालिका अध्यक्षको श्रीपेच लाउँदा कलि बसेर गलत निर्णय पो गर्छु कि भनेर आत्तिन्छु र बाहिर बसेर शान्त मनले सोच्ने गर्छु ।’

देशका ७५३ पालिकामध्ये शून्य बेरुजु भएको जम्मा ५ पालिकामध्ये बेनीघाट रोराङ गाउँपालिका पनि एक हो । अध्यक्षको श्रीपेच फुकालेको परिणाम होला यो । शून्य बेरुजु भनेको सुशासनको एक नमूना पनि हो । अनि लाग्यो यिनले परीक्षितको कथा पनि ठीकै भनेछन् । बुझेरै भनेछन् । यिनी सुशासनको यात्रामा छन् र सुशासनका लागि कोशिश पनि गरिरहेछन् । यिनको कर्मचारी टिम पनि यही अभियानको सशक्त हिस्सा भएको छ ।

बेनीघाट रोराङ । रोराङ भनेको चेपाङ भाषामा फूलबारी हो । यो ठाउँ आफैंमा एउटा फूलबारी पनि हो । यहाँ ४० प्रतिशत चेपाङ छन् । चिउरी, चेपाङ र चमेरोको त्रिवेणी हो यो गाउँ । ब्राह्मण क्षेत्री बाहेक चेपाङपछि तामाङ र दलितको पनि बाक्लो बस्ती छ यहाँ । यही बस्तीको नेता भएर पनि विवेक नेता जस्तो छैन । ऊ सरल छ, सहज छ र हार्दिक छ । राजनीतिको सामान्य घेरा तोडेर ऊ समाजका सुन्दर फूलहरूमाथि कित्ताकाटको कैंची चलाउन्न र राजनीति मात्रै सबै हो अरू तपसिल हुन् पनि भन्दैन । नेता हुनु भनेको सबै जान्नु हो पनि भन्दैन र नजानेर पनि जानेको नक्कल गर्दैन तर म जान्दिन भन्छ र सबै जान्दछ ।

वडाअध्यक्षहरू फरक उमेर समूहका छन् तर राम्रै देखिन्छ मिलन । त्यो टिम उत्साही छ र कर्मचारी प्रायः सबै युवा र उत्साही छन् । प्रमुख प्रशासकीय अधिकृत नर्वदा घिमिरेले भनेको याद छ, ‘विद्यालयको सुधार गर्न सके सबै विकासको मूल त्यहींबाट शुरु हुन्थ्यो । कहिलेकाहीं त कुनै विद्यालयमा प्र.अ.भएर जाऊँ कि जस्तो पनि लाग्छ ।’
विविध विचार, अनुपम सौन्दर्य र सार्थक सक्रियताबीच यसरी त्रिशूली नदीको किनार, पृथ्वी राजमार्गको काख र महाभारत पर्वत शृङ्खलाको अङ्कमालमा मुस्कुराएको छ बेनीघाट । मलेखुदेखि मौवा खोला र जरुङदेखि जवाङसम्मको चार किल्लाले बाँधिएको छ । यसलाई मदेखि म र जदेखि ज भन्ने गरिन्छ । कुल जनसङ्ख्या ३४ हजार छ । २४ किलोमिटर पृथ्वी राजमार्गले छोएको १० वडा भएको पालिका हो यो । पालिकाको विकट बस्ती र अभावको कथा अर्कै छ, उज्यालो पर्खिरहेको छ ।

देशका विभिन्न जिल्लाहरूबाट सङ्घीय राजधानी छिर्नेहरू २४ किलोमिटर यही पालिकाको छाती भएर गुड्छन् । यसरी गुड्दा जसरी पालिकाले दुख्यो भन्दैन, ऐय्या भन्दैन, त्यस्तै छ पालिका अध्यक्ष विवेकको छाती पनि । धेरै ऐय्या ऐय्या र दुखाइको शृङ्खला बाँच्दैबाँच्दै आएर पनि उसको आँखामा आँशु छैन र ओठमा ऐय्याको सुस्केराले कलेटी पारेको देखिन्न । चुल्बुले उमेरको किशोर वयमा युद्धमा पुगेको त्यो अल्लारे आँखाले कल्पना नै गर्न नसकिने दृश्य देखेको छ, पीडा भोगेको छ । गहिरो दर्द लुकाएर पनि छातीभित्र धन्न ऊ मुस्कुराउँछ र कसरी हाँस्ने भनेर दुनियाँलाई हाँस्न सिकाउँछ । ‘ठूला नेताले के गरे गरेनन् छोड्नुस् म केही गर्न चाहन्छु भन्छ । दल आफैंमा सबै राम्रो पनि होइन र नराम्रो पनि होइन । सबै दलभित्र राम्रा नराम्रा सबै हुन्छन् । आफू इमानदार हुने कोशिश गर्ने हो’, उसको तर्क छ ।

युद्धको बेला छातीमा गोली थापेर विवेकका पिताजी ढले विवेककै आँखाअगाडि । गोली स्वीकारेर भाइले प्राण छोडे, त्यही आँगनमा । यी दुवै दृश्य आफैंले देखेकी आमाले पीडा सहन नसकेर कठोर आत्महत्याको बाटो रोजिन् । यसरी परिवारमै तीन तीन वटा मृत्यु देखेर पनि अविचलित उभियो विवेक त्यही रगतले भिजेको माटोमा । रगत सुक्यो, पुरियो पनि होला रगतले भिजेको माटो तर खाटो बोकेर बाँचिरहेछ विवेक ।

पीडा सहेर मृत्युलाई नजिकबाट बुझेको छ तर दुनियाँसामु दुःखको गीत गाउँदैन ऊ । आँशु हुनु र नहुनुको अर्थ बुझेको छ तर दुनियाँसामु रुँदैन । शायद रुनु र नरुनुबीचको भेद थाहा छ उसलाई । के राजनीतिमा आँशु हुँदैन र ? करुणा हुँदैन र ? हुन्छ नि ! झन् बढी आँशु त राजनीतिमै हुनुपर्छ । राजनीतिमा आँशु सुक्दै गएर पो नेताहरूले जनताको आँशु नदेखेका र देखेर पनि मूल्यबोध नगरेका । आमा रोएको आँशुको भेलमा सपना पौडिएको देखेर आएको विवेक आज आफ्नै आँशु लुकाइरहेछ, थाहा छैन कसरी लुकाइरहेछ तर भनिरहेछ, ‘मलाई भोलिको चिन्ता छैन । जीवनकै पनि त्यति माया छैन । जति सक्छु आजै गर्छु र राम्रो गर्न सकिनँ वा पाइनँ भने मेरो राजनीति यत्तिमै टुङ्गिन पनि सक्छ । म एउटा नभएर देशलाई के फरक पर्छ र ? मसँग धेरै महत्वाकाङ्क्षा पनि छैन ।’ एक दिन उसले एउटा कविता सुनाएको थियो । प्रेमको आवरणमा आँशुको कविता । नरुनु र रोएको नदेखाउनु फरक कुरा हुन् ।

विवेकसँग लेखक लम्साल ।

उसले जसरी लुकाए पनि पीडा, करुण रसको कविता झैं करुणापूर्ण देख्छु उसको अनुहार र जति दह्रो पारे पनि छाती, छातीमा केही नयाँपन उम्लिरहे जस्तो लाग्छ । लाग्छ, उसले जनताको पीडा र निराशा बोध गरेको छ र जनतालाई पीडाबाट बाहिर निकालेर खुशीको सामूहिकतामा ऊ विकासको धजा उठाउन चाहन्छ । चाहन्छ र त ऊ उत्साह र अन्तर खुशीका यी र यस्ता उत्सवहरू आयोजना गरिरहन्छ । खेल उत्सव ! विद्यार्थीको सहभागिता । गीति उत्सव ! कलाकार र विद्यार्थी अन्तरक्रिया ।

विद्यार्थी घटे, विद्यालय चलाउन गाह्रो भयो भनेर दुनियाँ गुनासोको गीत गाउँछ तर ऊ बीच पर्ने एउटै विद्यालयमा अरू विद्यालयका विद्यार्थीलाई आवासीय सुविधा दिने र साझा विद्यालयको योजनाबद्ध अवधारणा बनाउँछ । यसो गर्दा विद्यालय गाभिए जस्तो पनि, विद्यार्थीहरूको लालनपालन पनि, पुग्दो शिक्षक पनि र विद्यालय पालिका वा सरोकारवालाको नियन्त्रणमा हुने हुँदा गुणस्तरीय शिक्षा पनि । लगानी पालिकाको र सहभागिता सबैको । टाढाका विद्यार्थीले बिहानै कुद्न पनि परेन ।

गरीब बाउआमालाई बच्चालाई के खुवाऊँ कसरी पढाऊँ भन्न पनि परेन । क्षमतावान् विद्यार्थीले अवसरबाट वञ्चित हुन पनि परेन । शिक्षक हुने विद्यार्थी नहुने र विद्यार्थी हुने शिक्षक नहुने समस्या पनि हट्यो । विद्यालयदेखिकै शैक्षिक विभेद पनि मेटिने भयो । हेर्दा महत्वाकाङ्क्षी जस्तो लाग्छ तर अब यसै गरेर मात्रै विद्यालय शिक्षालाई गुणस्तरीय बनाउन सकिएला शायद ।

विषयको केस्रा केस्रा केलाउँदै र उत्सवको आनन्द लिंदै म आफैं पुगें कताकता । एउटा आनन्दकै सागरमा थिएँ शायद । पालिका शिक्षा प्रमुख समेत रहेका बोधराज पाठकको मीठो उद्घोषणले उत्सवलाई दिनभरि बाँधिरह्यो । मञ्चभरि सजिएका सबै शिल्ड, प्रमाणपत्र, कप बाँडेर सकिए पालैपालो । शिल्ड लिन पालिकाबाट बाजागाजा सहित आएका थिए आमा समूह, स्वयंसेवी समूह र शिक्षक-विद्यार्थीहरू । त्यो समूहको नेतृत्व स्वयं वडाध्यक्षले गरेका थिए । शिल्ड, प्रमाणपत्र र पदक लिन मञ्चमा विजेता समूह उक्लँदा तल बजेको बाजा र उत्साहको ताली अवर्णनीय थियो । तत्तत् वस्तु मात्र होइन मैले मेरै दिल पनि बाँडें त्यहाँ । फूलहरू, मालाहरू, अबीरका रङ र मुस्कानका छिटा, संस्कृतिमा खेलकुद र खेलकुदले निर्माण गरेको संस्कृति । शिक्षकहरू विद्यार्थी जस्तै खुशी र विद्यार्थी शिक्षक जस्तै जिम्मेवार । सबै टम्म मिलेर बसेका र हलचल नगरेका दर्शकदीर्घा तर ढल्नढल्न लागेको दिन र बढ्नबढ्न खोजेको चीसो । विना रोकतोक उसै गरी बगिरहेथ्यो त्रिशूली पनि र समय पनि ।

मलाई पनि त्यसै दिन चितवन पुग्नु थियो र भोलिपल्ट कावासोती पुग्नु थियो पठन संस्कृति अभियानको एउटा नयाँ शृङ्खलाका लागि । त्यहाँ एक दर्जन उत्साही तन्नेरीहरू एकएक पुस्तक पढेर आफूले पढेको पुस्तकमाथिको समीक्षा सुनाउन मलाई पर्खिरहेका थिए । धादिङवेसीबाट बेनीघाट आएका आफैं पनि कवि प्रमुख कोष नियन्त्रक रोशन पुन, प्रशासकीय अधिकृत छत्रबहादुर अधिकारी लगायतका जिम्मेवार राष्ट्रसेवकहरू सदरमुकाम फर्किसकेका थिए गम्भीर गफ सहितको मीठो भेटघाट सकेर । काठमाडौंबाट चितवन जान आएको एउटा कवि समूह विद्यालय प्राङ्गणमै आएर कार्यक्रमको स्वाद लिइरहेको थियो, मलाई पर्खिरहेको थियो ।

समापन मन्तव्यपछि अँगालोमा बेसरी कसेर विवेकले भने, ‘दाइ, एउटा पालिका अध्यक्ष वा राजनीतिक नेतृत्वलाई विस्थापित गर्न अर्को व्यक्ति तुरुन्तै आउँछ, आइहाल्छ तर एउटा कवि र संस्कृतिकर्मी कहिल्यै कसैबाट विस्थापित हुँदैन । पालिकाले सम्झेको बेला आउँदिन नभन्नू ल !’ शिक्षक समेत रहेका स्थानीय कलाकार महाजन श्रेष्ठले ढुङ्गामाथि रङ भरेर बनाएको सुन्दर कला र उनैले गाएको गीत, रवीन्द्र कँडेलजीले क्यानभासमा रङ भरेको आकर्षक कला उपहार हातमा थमाएर केहीबेर मञ्चमै मौन उभियौं हामी । उभियौं, उभिइरह्यौं एकअर्कालाई हेरेर, हेरिरहेर ।

यतिखेर लागिरहेछ, खुशीमा खुशीकै फूल फुल्नु त्यति ठूलो कुरा भएन तर आँशुमा फूल मुस्कुराउनुको मजा कि विवेकलाई थाहा होला कि सृष्टि स्वयंलाई ! राजनीतिको नीति र निजामतीको मतिसँग जनताको खुशी जोडिएको छ । नीति र मतिबाट विवेक हराएन भने यी र यस्ता विवेकहरूको आँशु पनि समृद्धिको राजमार्ग हुनसक्छ शायद । राजनीति त तल-माथि हुन्छ पनि र भइरहला पनि तर समाजलाई यत्ति भन्नुछ, हे समाज ! समाजको ढुकढुकीबाट समाजकै विवेक नहराओस् ।

लेखकको बारेमा
डा. नवराज लम्साल

साहित्यमा मदन पुरस्कार विजेता साहित्यकार लम्साल पूर्व सञ्चारकर्मी पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?