३ मंसिर, काठमाडौं । नेपाल टेलिकमले मुस्ताङको लोमान्थाङमा (मंसिर २ गते) देखि थि्रजी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले करिब ३ हजार ८ सय मिटर अग्लो स्थानमा रहेको लोमान्थाङ गाउँपालिकाको वडा नम्बर ५ मा थि्रजी बिटिएस राखेको छ ।
मुक्तिक्षेत्र गाउँपालिकाको ४ हजार २ सय ५० मिटर अग्लो स्थानमा अवस्थित घिउलाडाँडामा रिपिटर स्टेशन राखी माइक्रोवेभ लिंकमार्फत बिटिएससँग सम्पर्क कायम गरिएको छ ।
अब लोमान्थाङ गाउँपालिकाका सबै स्थान र दालोमे गाउँपालिकाका केही स्थानमा समेत थि्रजी सेवाको कभरेज कायम भएको छ ।
यसबाट यो क्षेत्रमा रहेका ४ सय ५० भन्दा बढी घरधुरीका साथै लोमान्थाङ, छोसेर र कोरला नाकासम्म घुम्न जाने पर्यटकले समेत थि्रजी सुविधाको उपभोग गर्न सक्नेछन् ।
अब सो क्षेत्रमा फोन सम्पर्क गर्न मात्र नभई तिब्र गतिमा डाटा चलाउन र भिडियो कल गर्न समेत सहज हुने भएको छ ।
लोमान्थाङ मुस्ताङको सदरमुकाम जोमसोमदेखि करिब १ सय किलोमिटर दुरीमा पर्छ । सो क्षेत्रमा गत २०७३ जेठ १ गतेदेखि जिएसएम अन्तर्गत टुजी मोबाइल सेवा सञ्चालनमा ल्याइएको थियो । सिडिएमए प्रविधिको सेवा भने यो भन्दा पहिले देखि नै उपलब्ध थियो ।
पहिले स्याटेलाइट लिंकबाट टुजी र सिडिएमए सेवा उपलब्ध गराइएकोमा अब ती सेवालाई पनि माइक्रोवेभ लिंकमार्फत अपग्रेड गरिएको छ । त्यसकारण टुजी र सिडिएमएको क्षमता र गुणस्तर पनि बढेको छ ।
त्यसैगरी नेपाल टेलिकमले म्याग्दी जिल्लाको ओखरबोटमा पनि गत शुक्रबार (मंसिर १ गते) देखि टुजी बिटिएस टावर सञ्चालनमा ल्याएको छ । म्याग्दी जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ३, डाँडागाउँ किटेनीमा सो टावर स्थापना गरिएको हो ।
म्याग्दीको सदरमुकाम बेनीदेखि करिब ४६ किलोमिटर टाढा रहेको सो स्थानमा पहिले सिडिएमए सेवा मात्र उपलब्ध थियो । सो टावरमार्फत अब मालिका गाउँपालिकाका वडा नम्बर २ अन्तर्गत रुमा, जेमा, बिलवाङ र खवाङ वडा नम्बर ३ अन्तर्गत झागाउँ, अउला र पातले तथा वडा नम्बर ४ अन्तर्गत ओखरबोटका सबै क्षेत्र गरी ७ सय भन्दा बढी घरधुरी लाभान्वित हुने छन् ।
अधिकांश प्रयोगकर्तासँग जिएसएम मोबाइल सेट हुने भएकाले पनि यो सेवाको माग उच्च थियो ।