Comments Add Comment

रामेछाप सदरमुकाममा एक हप्तादेखि खानेपानी बन्द


१० वैशाख, रामेछाप । एक हप्तादेखि धारामा पानी नआउँदा रामेछाप सदरमुकाम मन्थलीमा खानेपानीको चरम अभाव भएको छ ।

मन्थली खानेपानी उपभोक्ता समितिले तामाकोसी नदी किनारमा इनार खनी लिफ्टिङ गरेको खानेपानी पानी तान्ने मेसिन बिग्रिएको कारण ६ दिनदेखि बन्द छ ।

यस अघि पनि मेशिनमा समस्या आएको भन्दै मर्मत गरिए पनि पुन मोटरमा समस्या भएको उपभोक्ता समितिले जनाएको छ । पानीको चरम अभाव भएपछि सदरमुकाम भित्रका विद्यालय, होटल, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरुलाई मात्र हैन निजी आवासमा बस्ने सर्वसाधारणलाई समेत समस्यामा परेको छ ।

खानेपानीको विकल्प सदरमुकाम मन्थली आसपासमा कुनै स्रोत नभएपछि मन्थलीका स्थानीयहरु मारमा परेका छन् ।

अहिले स्थानीयहरु रणजोर खोला र तामाकोसी नदी किनारमा रहेका जरुवाहरुमा पानी लिन जाने गरेका छन् ।

खोला र नदी किनारका जरुवाहरुमा बिहान ४ बजेदेखि राति १० बजेसम्म मानिसहरुको भीड लाग्ने गर्छ । एकैपटक सयौँ मानिसहरु पानी भर्न जाँदा ती जरुवा र आसपासको क्षेत्र अत्यन्त फोहोर बनेको छ ।

मन्थली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र वियोगीले सकेसम्म चाँडो नयाँ मोटर राखेर खानेपानी ल्याउने तयारी भइरहेको बताए ।

उनका अनुसार केही दिनअघि परेको चट्याङका कारण पानी तान्ने ४ वटा मोटर, सोलार प्यानल, ट्रान्सर्फमर र तारमा समस्या आएको छ । पानी तान्ने मोटरसहित आवश्यक सामाग्री खरिद गरी पानी वितरण गर्ने तयारी भइरहेको अध्यक्ष वियोगीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment