Comments Add Comment

सरकारले यस्तो काम गरोस् कि विरोध गर्नै नपरोस्ः प्रकाशमान

२४ भदौ, जाजरकोट । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेस पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । नेता सिंहले प्रेसप्रति गरिने विभेद र नियन्त्रणविरुद्ध कांग्रेस कडारुपमा प्रस्तुत हुने चेतावनी दिए ।

प्रेस युनियन जाजरकोटको पाँचौ जिल्ला अधिवेशन आइतबार उदघाटन गर्दै नेता सिंहले कांग्रेस श्रमजीवी पत्रकारहरुको भावनासँग सहमत रहेको बताए । उनले पत्रकारहरुलाई निडर भएर देश र जनताका पक्षमा लाग्न सुझाव पनि दिए ।

मुलुकमा दुईतिहाइको कम्युनिष्ट सरकार भए पनि शान्तिसुरक्षा कायम गर्न र जनताका अपेक्षा पूरा गर्न पूर्णरुपमा असफल भएको उनले आरोप लगाए । हत्या अपहरण जस्ता आपराधिक गतिविधि दिनानुदिन बढ्दै जाँदा पनि सरकार प्रभावकारी रुपमा प्रस्तुत हुन नसक्नु सबैभन्दा चिन्ताको विषय भएको उनले बताए ।

‘एकातिर सुरक्षा ब्यवस्थापनमा असफल भएको छ भने अर्कोतिर बजार भाउ आकासिएर जनजीवन अस्तव्यस्त हुँदा पनि चासो नदिनुले सरकार पूर्णरुपमा असफल भइसकेको स्पष्ट छ,’ उनले भने ।

सरकारको काम प्रभावकारी नहुँदा जनता निराश भएको दावी उनले गरे । ठूलाठूला सपना बाँड्नुभन्दा दैनिक जनजीवन सहज बनाउन र सुरक्षा ब्यवस्था मजबुत बनाउन उनले सरकारलाई सुझाव दिए । पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले भने, ‘दुई तिहाइको यो सरकारले यस्तो काम गरेर देखाओस् कि हामीले विरोध नै गर्न नपरोस् ।’

बहुमतको दम्भको भाषणले केही नहुने भन्दै उनले सचेत भएर देश र जनताको पक्षमा काम गरेर देखाउन समेत आग्रह गरे । अन्यथा जनताको निराशा आक्रोशमा परिणत हुने र त्यसले मुलुकमा अस्थिरता निम्ताउने भन्दै उनले चिन्ता व्यक्त गरे ।

आइतबार नै नेता सिंहले नेपाली कांग्रेस जाजरकोट जिल्लाको आयोजनामा जिल्लाका कार्यकर्ताहरुसित भेटघाट तथा अन्तरक्रिया गरेका छन् । चुनावी पराजयपछि गतिविधि शून्य जस्तो भएको जाजरकोटमा नेता सिंहको उपस्थितिले कांग्रेस नेता कार्यकर्तामा उत्साह थपिएको कांग्रेस केन्द्रीय सदस्य हृदयराम थामीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment