Comments Add Comment

वामपन्थी सरकार असफल भइसक्योः महामन्त्री कोइराला

३० भदौ, चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वामपन्थी नेतृत्वको सरकार असफल भइसकेको दाबी गरेका छन् ।

विपी चिन्तन प्रतिष्ठान नेपाल चितवनले शनिबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा महामन्त्री कोइरालाले सरकारका पछिल्ला गतिविधिले असफलता पुष्टि गरेको बताए । वामपन्थीलाई भोट दिनेहरु पनि पछुताउन थालेको उनको टिप्पणी थियो ।

कांग्रेस महामन्त्री कोइरालाले चितवनमा कार्यकर्ताको भावना लत्याउँदै अहिले माओवादीलाई त कहिले राप्रपालाई भोट हाल्न लगाउनु दुर्भाग्य भएको बताएका छन् । पार्टी सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै महामन्त्री कोइरालाले भने, ‘आफू प्रधानमन्त्री बन्न कार्यकर्ताको भावना लत्याउनु हुँदैन । त्यसले पार्टीलाई दीर्घकालीन असर गर्छ ।’

गुट-उपगुटमा विभाजन गरेर कांग्रेसको हित नहुने भन्दै उनले आफू पार्टीलाई एकढिक्का बनाउन लागिपरेको बताए । ‘इतिहास, सिद्धान्त र कार्यकर्ताका कारण कांग्रेसको भविश्य उज्वल छ’ कोइरालाले भने, ‘गाउँगाउँमा पुगेर संगठन विस्तार गर्नुपर्छ ।’

कार्यक्रममा नेता कुलबहादुर गुरुङले कांग्रेसले संगठन, सिद्धान्त र आदर्शलाई महत्व नदिएको गुनासो गरे । वीपीको आदर्श बिर्सिएका कारण कांग्रेस कमजोर बन्न पुगेको भन्दै उनले अब परिमार्जित र परिस्कृत हुनुपर्ने बताए । कांग्रेस सकिन्छ कि भन्ने चिन्ता हटाउँदै संगठन सुदृढिकरणमा लाग्न नेता कार्यकर्तालाई उनले आग्रह गरे ।

कार्यक्रममा बोल्ने नेताहरुले पार्टी पैसाको पछाडि लागेको भन्दै चिन्ता प्रकट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment