११ मंसिर, मोरङ । इन्धन ढुवानीका क्रममा २५ सय लिटर डिजेल बाटो बाटै गायब भएपछि नेपाल आयल निगम प्रदेश-१ निर्देशक दिनेश यादव विवादमा तानिएका छन् ।
बरौनीस्थित इण्डियन आयल कर्पोरेशनबाट विराटनगरस्थित नेपाल आयल निगमको डीपोले खरिद गरेर ल्याएको डिजल ट्यांकरबाटै चोरी प्रकरणमा मुछिएपछि यादव विवादमा तानिएका हुन् ।
तीन वर्षअघि विराटनगरमा प्रमुखको रुपमा काम गरेका यादव तेलको कृतिम अभाव सिर्जना गरेको आरोपमा काठमाडौं तानिएका थिए । तर, नाताले सम्धी पर्ने नेकपा नेता मात्रिका यादव उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री बनेपछि गत साउनमा दोस्रो पटक विराटनगरस्थित प्रादेशिक डीपोको निर्देशक भएर आएका थिए ।
गत बिहीबार आइओसीको बरौनी डीपोबाट २० हजार लिटर डजेल बोकेर आएको को१ख ५९६५ नम्बरको ट्यांकरबाट आधुनिक ताला नखोली २ हजार ४ सय ८४ लिटर डिजल चोरी भएको थियो ।
आधुनिक लकिङ सिस्टम प्रयोग गरिएको ट्यांकरबाट २४८४ लिटर डिजल चोरी प्रकरणमा यादवको नाम जोडिएपछि उनी विवादमा तानिएका हुन् ।
तेल चोरी भएको ट्याङकरको लक सिस्टम तोडिएको थिएन् । चाबीको प्रयोग गरेर तेल चोरिएको थियो । यादवकै निगरानीमा रह्ने आधुनिक लक सिस्टमको चाबी मिलोमतो बिना बाहिरिन सक्ने अवस्था नरहेका कारण निर्देशक विवादमा तानिएका हुन् ।
चोरी प्रकरणको छानविनकालागि आयाल निगमले अञ्जना पोखरेल नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।
नेपाल आयल निगम उपनिर्देशक पोखरेल सहित इन्जिनियर प्रमेश पुडाशैनी र सहायक प्रवन्धक राजकुमार केसीको टोलीले शुक्रवारदेखि अनुसन्धान गरेपनि ठोस कारण पत्ता लगाउन सकेको छैन ।
छानबिन समितिले डिजल लोड गरिएको ट्यांकरको प्राविधिक निरीक्षण र नापजाँच गर्दा २४८४ लिटर डिजेल कम भएको पुष्टि गरिसकेको छ ।
चोरी प्रकरणको छानबिन गरिरहेकी उपनिर्देशक पोखरेल अनुसन्धान अघि बढिरहेको भन्दै कुनै पनि बिषयमा नबोल्ने बताइन् । पोखरेलकै निगरानीमा आइतबार ट्यांकरको डिप परीक्षण गरिएको थियो ।
सोमबार पनि अत्याधुनिक तालाचाबीलाई बिगार्न सकिन्छ कि सकिंदैन भनेर परीक्षण गरिएको थियो । परीक्षण गर्दा चाबी बिगार्न सक्ने अवस्था देखिएको थिएन् ।
अाज (मंगलबार) टोली अध्ययनका लागि इन्डियन आयल कर्पाेरेशनको बरौनी डीपो पुगेको छ । इन्धन भर्ने आइओसी र खन्याउने एनओसीको विराटनगर डिपोमा मात्रै रहने अत्याधुनिक ताला कसरी खोलियो र डिजेल चोरी भयो भन्ने छानबिन टोलीले पत्तो पाएको छैन् ।
डिपोमा खटिएका निगम कर्मचारी पुण्य पौडेलले ट्यांकरमा भण्डारण भएको डिजल नाप्ने क्रममा कम देखिएपछि निगमभित्रै होहल्ला भएर घटना सार्वजनिक भएको थियो ।
घटनालाई अनावश्यक रुपमा बाहिर ल्याएको आरोपमा निर्देशक यादवले पौडेललाई कार्यकक्षमै दुव्र्यवहारसमेत गरेको कर्मचारी स्रोतले जानकारी दिएको छ । यादवले घटनामा आफ्नो संलग्नता नभएको दाबी गर्दै आएका छन् ।
उनले ट्याङकरबाट तेल चोरी गर्ने चालक, ढुवानीकर्ता र ट्याङकरलाई निलम्बन गरिएको बताए ।
यसैबीच अत्याधुनिक तालाचाबी लगाउँदा पनि इन्धन चोरी भएपछि निगमले थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) आग्रह गर्ने भएको छ ।
निगमका निमिक्त कार्यकारी निर्देशक सुशील भट्टराईले इन्धन चोरी लगायतका घटनाको सुक्ष्म छानबिनका लागि सीआईबीसँग सहकार्य गरिने जानकारी दिए ।
प्रतिक्रिया 4