Comments Add Comment

पोखरा विश्वविद्यालयका सभापति र सचिवले थाले आमरण अनशन

८ माघ, पोखरा । पोखरा विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको पदाधिकारी सम्बन्धी विवाद अदालत हुँदै आमरण अनशनसम्म पुगेको छ ।

स्ववियु विवाद समाधानमा विश्वविद्यालयले ध्यान नदिएको र क्याम्पसमा लगाइएको ताला तत्काल नखोलिएको भन्दै स्ववियुका सभापति सुनील तिमिल्सिना र सचिव सुरज परियारले सोमबार साँझदेखि केन्द्रीय कार्यालयमा आमरण अनशन थालेका हुन् ।

स्ववियु पदाधिकारी पदावधि सम्बन्धी विवादमा पुस २३ गतेदेखि पोखरा विश्वविद्यालयका केन्द्रीय कार्यालयमा ताला लागेको छ । नेपाल विद्यार्थी संघले आफैंले हस्ताक्षर गरेको नियम बिपरीत स्ववियु पदाधिकारीको पदावधि थप्न लागिएको भन्दै विश्वविद्यालयका भिसी, रजिस्टार, ४ वटै डिनका कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा ताला लगाएको छ ।

विश्वविद्यालयको स्ववियु तथा विद्यार्थी आचारसंहिता सम्बन्धी नियमावलीमा उल्लेखित नियम आफैंमा बाझिएको भन्दै स्ववियु पदाधिकारीलाई निर्वाध काम गर्न दिन अन्तरिम आदेश माग गर्दै विद्यार्थी नेताहरुले रिट निवेदन दायर गरेका थिए । रिटमा उच्च अदालत पोखराले शुक्रबार अन्तरिम आदेश पनि जारी गरेको छ ।

यो पनि पढ्नुहोस पोखरा विश्वविद्यालयको स्ववियु बिवाद अदालत पुग्यो

पोखरा विश्वविद्यालयलाई विपक्षी बनाएर अदालतले कारण देखाऊ आदेश जारी गर्दै बाटोको म्यादवाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ । अदालतले दुवै पक्षलाई छलफलका लागि माघ १६ गते बोलाएको छ ।

यसपाली स्ववियु पदाधिकारीको समयावधिको विवादसँग भन्दा पनि क्याम्पसमा लागेको ताला तत्काल खोल्नुपर्ने र यसअघि विद्यार्थीले राखेका माग पनि पूरा गर्नुपर्ने आमरण अनसन थालेको स्ववियु सभापति तिमिल्सिनाले बताए । ‘स्ववियुको पदावधिको विवादतिर हाम्रो आमरण अनसनको लक्ष्य होइन । ताला खोल्नेतिर हो,’ उनले भने, ‘हामी कानुनी प्रक्रियामा गएका छौं । कानुनबमोजिम निर्णय होला । तर विश्वविद्यालयमा ताला लगाइरहन पाइँदैन ।’

विश्वविद्यालयमा पहिलो पटक गएको चैत २२ गते स्ववियु निर्वाचन भएको थियो ।  चुनावअघि नै विद्यार्थी संगठनको सहमतिमा स्ववियु तथा विद्यार्थी आचारसंहिता सम्बन्धी नियमावली २०६५ संशोधन गरिएको थियो । त्यही आचारसंहिताका कारण उब्जिएको विवादले अहिले उग्र रुप लिएको हो ।

कार्यसमितिका पदाधिकारी र सदस्य विद्यार्थीहरु जुन तह र विषयको नियमित विद्यार्थीको हैसियतमा निर्वाचित भएका हुन्, सोही तहको अन्तिम वर्ष वा सेमेस्टर वा ट्राइमेस्टरको सैद्धान्तिक परीक्षा दिइसकेपछि कार्यसमितिको पदाधिकारी र सदस्यको पद स्वतः समाप्त भएको मानिने नियमावलीमा उल्लेख छ ।

पदावधि २ वर्ष भए पनि विश्वविद्यालयको सैद्धान्तिक परीक्षा सकिएकाले स्ववियु सचिव सुरज परियारको भदौमा म्याद सकियो भने उपाध्यक्ष प्रतीक्षा गैरेको असोजमा । अध्यक्ष सुनील तिमिल्सिनाको फागुन अन्तिममा म्याद सकिँदैछ । नियमावलीअनुसार अब उनीहरुको पदावधि स्वतः समाप्त भइरहेको छ । तर, स्ववियु अध्यक्ष सुनील नेतृत्वको पदाधिकारी यो नियम मान्नेवाला छैनन् । उनीहरु भन्छन्, ‘यो नियम व्यवहारिक नभएकाले परिवर्तन गर्नुपर्छ र पदावधि २ वर्ष नै कायम हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment