Comments Add Comment

समुदायसँग सहकार्यमा ७४ वटा सीसी क्यामरा जडान

२ असार, काठमाडौं । महानगरीय प्रहरी वृत्त, बानेश्वरले समुदायसँग सहकार्य गरेर ७४ वटा सीसी क्यामरा जडान गरेको छ । अपराध अनुसन्धानमा सहयोग पुग्ने उद्देश्यले समुदायबाट ३७ लाख ३५ हजार रुपैयाँ संकलन गरेर सीसी क्यामरा जडान गरिएको हो ।

वृत्तका प्रमुख डीएसपी गोविन्दराज काफ्लेको अगुवाइमा सुरक्षित नागरिक समाज, सामुदायिक विकास समिति, एकीकृत उपभोक्ता संघ लगायतको आर्थिक सहायतामा राखिएको क्यामराको सोमबार महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले उद्घाटन गरे ।

सीसी क्यामरा जडानपछि समाजसँग भिजेर बसेको प्रहरीले अपराधको सफल अनुसन्धान गर्न सक्ने खरेलले बताए ।

खरेलले भने, ‘सीसी टीभीमार्फत प्रहरीलाई अपराध अनुसन्धान गर्न सहज हुने तथा सुरक्षित समाज निर्माणमा थप सहयोग पुग्ने विश्वास लिएको छु ।’ अपराध र अपराधी समाजकै वरिपरि रहने बताउँदै उनले भने, ‘अपराध अनुसन्धानका क्रममा प्रहरीलाई समुदायको सहयोगी भूमिका हुन जरुरी छ ।’

कतिपय अपराधको अनुसन्धानमा अपराधी पत्ता लाग्न समय लागे पनि अधिकांश घटनाका अपराधी पत्ता लागि कानूनी दायरामा आएको समेत उनले उल्लेख गरे ।

विशेष अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले नेपाल प्रहरीले अंगिकार गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम विगतमा गरिएका कार्यक्रमहरुको अनुभवलाई माझेर परिष्कृत रुपमा आएको जनाए ।

उनले भने, ‘यो कार्यक्रम पहिलेको अनुभवबाट निखारेर सञ्चालन गरिएको हो । कार्यक्रमलाई सम्पूर्ण समुदायको पूर्णविश्वास र सहयोग प्राप्त हुनेमा आशावादी छु ।’

जडान गरिएका सीसी क्यामराले प्रहरीको काम कारबाहीमा थप चुस्तता आउने बताउँदै उनले प्रविधिको स्थापना गर्ने मात्र नभइ निरन्तर मर्मत गर्दै कायम राखी त्यही अनुरुपको प्रहरी सेवा प्रदान गर्न उपस्थित प्रहरी कर्मचारीलाई निर्देशन समेत दिए ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले राज्यको उपस्थिति प्रत्येक कुना र कन्दरामा हुन नसक्ने भएकाले प्रविधिको प्रयोगलाई बढाइनुपर्ने बताए ।

सोही अवसरमा महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरी सरुवा भएर जान लागेका डीएसपी काफ्लेलाई समुदायका तर्फबाट सम्मान पत्र पनि प्रदान गरिएको थियो । काफ्लेकै कार्यकालमा काँडाघारीमा ११ लाख रुपैयाँको लागतमा १८ वटा र प्रहरी कार्यालय आसपास ४ वटा सीसी क्यामरा जडान भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment