Comments Add Comment

लुक्ला उडान रामेछापबाट : पर्यटकलाई सास्ती कि सुविधा ?

१ असार, काठमाडौं । काठमाडौंबाट लुक्ला जाने पर्यटकले जहाज चढ्न रामेछापस्थित विमानस्थल पुग्नुपर्ने व्यवस्थालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले निरन्तरता दिएको छ । प्राधिकरणले अघिल्लो साता लुक्लामा उडान गरिरहेका चार वायुसेवा कम्पनीलाई पत्र पठाउँदै रामेछाप-लुक्ला उडान निरन्तर राख्न भनेको हो ।

काठमाडौंस्थित त्रिभुवन विमानस्थलको धावनमार्गको पीच उप्काएर नयाँ बनाउनुपर्ने भएपछि बसन्त ऋतुमा हुने सगरमाथा आरोहण अवधिका लागि काठमाडौंबाट हुँदै आएको लुक्ला उडान रामेछाप सारिएको थियो । काठमाडौंमा धावनमार्ग मर्मतको काम १५ असारबाट सम्पन्न हुने बताइएको छ । त्यसपछि यो विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुनेछ । धावनमार्ग मर्मत सुरु हुनुअघि २१ घण्टा सञ्चालनमा थियो ।

पूर्ण क्षमतामा चल्दा पनि यात्रुले लुक्ला जान भने रामेछाप नै धाउनुपर्ने भएको छ । प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा बढ्दो चाप तथा ट्राफिक जामका कारण काठमाडौंबाट भइरहेको लुक्ला उडान रामेछाप सार्नुपरेको उल्लेख गरेको छ । पहिलो सिजन रामेछाप-लुक्ला उडान सफल भएकाले आगामी सिजनमा पनि यसलाई निरन्तरता दिइएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका अनुसार काठमाडौंमा ट्राफिक चाप गराउने कारणमध्ये साना विमानस्थलमा काठमाडौंबाट हुने उडान पनि एक हो । लुक्ला विमानस्थलमा काठमाडौंबाट पर्यटकीय सिजनमा हरेक दिन ५० भन्दा बढी उडान हुने गरेको थियो । हिमाली र पहाडी भेगका साना विमानस्थलमा काठमाडौंबाट हुने अत्यधिक आवागमनका कारण अन्तर्राष्ट्रिय र घरेलु उडान प्रभावित हुने गरेको प्राधिकरणले उल्लेख गरेको छ । काठमाडौंबाट नेपाल वायुसेवा निगम, तारा एयर, सीता एयर र समिट एयरले लुक्लाका लागि उडान गर्छन् ।

बिनापूर्वाधार उडान सार्दा पर्यटकलाई सास्ती

लुक्ला उडानले काठमाडौंको हवाई ट्राफिक चाप घटे पनि पर्यटकलाई सास्ति थपिएको छ । एभरेष्ट वेस क्याम्प ट्रेकिङ र पर्वतारोहणमा जाने पर्यटक यसबाट प्रभावित बनेका छन् ।

अर्थवाउण्ड एक्स्पीडिसनका प्रवन्ध निर्देशक राजन सिंखडा अहिलेकै पूर्वाधारमा रामेछाप उडान निरन्तर गर्ने हो भने अन्तर्राष्ट्रियस्तरमै नेपालको छवि धुमिल हुने बताउँछन् ।

‘रामेछापमा पर्यटकीयस्तरका होटेलसमेत तयार भइसकेका छैनन्,’ उनले भने, ‘अलि-अलि भएका राम्रो होटलका कोठा एयरलाइन्सले पाइलट र एयरहोस्टेस राख्दा भरिइसक्छ, पर्यटकलाई लामखुट्टेले टोकाउँदै राख्नुको विकल्प छैन ।’

सोही कारण धेरै व्यवसायीले पर्यटकलाई काठमाडौंमै राखेर बिहान ७ बजे रामेछापबाट उड्ने जहाज भेटाउन लैजाने गरेका छन् । यसका लागि राती १/२ बजे नै सुतिरहेका पर्यटकलाई उठाएर कुदाउनुपर्छ । मन्थली पुगुन्जेल राजमार्गमा परेका ठूल्ठूला खाल्डा, निद्राको यात्रा र थकानका कारण पर्यटक हत्तु हुने भएकाले नेपालप्रति अन्तर्राष्ट्रिय स्तरमा नराम्रो सन्देश गएको उनले चिन्ता व्यक्त गरे ।

तर, पहुँचवालाले काठमाडौंबाटै उडाइदिन्छन्

प्राधिकरणले लुक्ला उडान रामेछाप सारे पनि पहुँचवालाको भनसुनमा काठमाडौंबाट अहिले पनि जहाज लुक्ला उड्छन् । प्रभावशाली ट्राभल व्यवसायीले ल्याएका पर्यटकलाई काठमाडौंबाटै लुक्ला उडाउन वायुसेवा तयार हुन्छन् । उनीहरुलाई विमानस्थलले पनि अनुमति दिन्छ ।
‘मैले रामेछाप र अर्को व्यवसायीले काठमाडौंबाट उडाएका पर्यटक लुक्लामा सँगै भेटिएका धेरै उदाहरण छन्,’ एक व्यवसायीले गुनासो गरे ।
दुई साताअघि तारा एयरले काठमाडौंबाटै हिमाल सरसफाई सम्बन्धी कामको अवलोकनमा नेपाली सेना, सञ्चारकर्मी र सरकारी टोली बोकेर लुक्ला उडेको थियो । ‘काठमाडौंबाट उडाउन नपाउने हो भने त कसैले पनि पाउन भएन नि,’ ती व्यवसायीको भनाई छ, ‘कि पूर्वाधार सुधार गरी सबैलाई रामेछाप पठाऔं, कि सबैलाई काठमाडौंबाट नै उड्ने व्यवस्था गरौं ।’

दूरी घट्यो भाडा घटेन

अहिले काठमाडौंबाट लुक्लासम्मको हवाई भाडा पर्यटकका लागि औसत १७५/१७८ डलर रहेको छ । उता, रामेछापबाट लुक्ला उडाउँदा १ सय ५० डलरसम्म लिने गरिन्छ । तर, दूरीका हिसावले काठमाडौं-लुक्लाको तुलनामा रामेछाप-लुक्ला करीव आधा नजिक पर्छ । काठमाडौंबाट लुक्ला पुग्न अधिकतम ४० मिनेट लाग्छ । रामेछापबाट लुक्ला अधिकतम २२-२५ मिनेटसम्मको उडान दूरीमा पर्छ । दूरी घटेपनि वायुसेवा कम्पनीले भाडा नघटाएपछि पर्यटक र यात्रु भने दोहोरो मारमा छन् ।

लुक्ला उडान रामेछाप सार्दा मन्थली र यस आसपास चहलपहल बढेको भए पनि पूर्वाधार पर्यटकमैत्री बनिसकेका छैनन् । सडक मार्गबाट काठमाडौं र्फकदा पनि अधिक ट्राफिक जाम, साँघुरो सडकमा अन्य सवारी साधनको तीब्र गतिका कारण पर्यटकले असुरक्षित महसुश गर्छन् । त्यसमाथि सडकमा सवारी साधन नै फस्ने गरी बनेका खाल्डाका कारण पनि यस रुटको यात्रा असहज बनिरहेको छ ।

हेलिकोप्टरको विजनेश फस्टायो

प्राधिकरणले लुक्ला उडान रामेछाप सारेपछि काठमाडौंमा हेलिकोप्टरको विजनेश भने फस्टाएको छ । सडक यातायातबाट ४/५ घण्टाको यात्रा, त्यसपछि १५/२० मिनेटका लागि जहाज चढ्नुको साटो पैसा तिर्न सक्ने पर्यटक सिधै हेलिकोप्टर चार्टर्ड गरेर लुक्ला पुग्न खोज्छन् ।

यसले हेलिकोप्टरको व्यापार भने उल्लेख्य बढेको बताइएको छ । ‘हेलिकोप्टर व्यवसायी निकै शक्तिशाली र प्रभावशाली छन्,’ एक व्यवसायी भन्छन्, ‘काठमाडौंबाट लुक्ला जहाज नउड्ने हो भने आफूहरु मालामाल हुने उनीहरुले बुझेका छन् ।’ प्राधिकरणले विमानस्थल २४ सै घण्टा सञ्चालन हुँदा पनि उडान काठमाडौं सार्न नखोज्नु अर्थपूर्ण रहेको उनको भनाई छ । विगतमा मुग्लिङ-नारायणगढ सडक मर्मतमा ढिलाई गर्दा भरतपुर उडान गर्ने वायुसेवा कम्पनी रमाइरहेको उदाहरण उनले प्रस्तुत गरे ।

प्राधिकरण भन्छन् : पर्यटकलाई झन् सुविधा

नेपाल नागरिक उड्डयन प्राधिकरणका कार्यवाहक महानिर्देशक राजन पोखरेलले पर्यटकको सुविधाका लागि नै रामेछाप-लुक्ला उडानलाई निरन्तरता दिइएको दावी गरेका छन् ।

‘काठमाडौंको चापले लुक्ला उडान प्रभावित नहोस, काठमाडौंमा मौसम बिग्रदा पनि लुक्लामा उडान प्रभावित नहोस भन्ने दीर्घकालिन सोचसहित यो निर्णय लिइएको हो,’ उनले भने, ‘पूर्वाधारमा देखिएका कमी क्रमशः सुधार हुन्छन् ।’

आगामी आवको बजेटमा रामेछाप विमानस्थलमा पूर्वाधार थप गर्न रकम छुट्याउने भन्दै उनले पहिलोपटक उडान भएका कारण केही समस्या देखिनु स्वाभाविक भएको बताए । आगामी सिजनबाट धेरै पक्षहरु व्यवस्थित हुने उनको प्रतिवद्धता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment