Comments Add Comment

कमेडियन सिम्रन भन्छिन्– परिवार मेरै सपोर्टमा

सिम्रन पाण्डे कहलिएकी कमेडियन होइनन् । तर, उनको एउटा ‘स्ट्यान्ड अप कमेडी’ यूट्यूबमा अपलोड भएको दोस्रो दिनमा नै एक नम्बर ट्रेन्डिङमा आयो ।

अत्यधिक सिर्जनशील प्रस्तुति वा हास्यरसको प्रचुरताले गर्दा सिम्रनको भिडियो भाइरल भएको होइन । यसको प्रमुख कारण हो उनले बोलेका केही ‘द्विअर्थी शब्दहरु । स्ट्यान्डअप कमेडीका नाममा यसअघि पनि द्विअर्थी शब्दहरू प्रस्तुतिहरुमा आउँथे । तर, प्राय पुरुष कलाकारका हुन्थे ।

एउटी भर्खरकी किशोरीले निर्धक्क द्विअर्थी शब्दहरु बोलेपछि धेरैको ध्यान तानिने नै भयो । यो समाचार लेख्दासम्म सिम्रनको भिडियोले १३ लाख भ्यूज कटाइसकेको छ भने ४ हजार पाँच सय भन्दा बढी कमेन्टहरु आएका छन् ।

कमेन्टमा गालीभन्दा ताली बेसी छन् । धेरैले उनलाई ‘साहसी’ र ‘बोल्ड’ भनेका छन् । कतिपयले चाहिँ उनको परिवार वा आफन्तले यो भिडियो हेरे भने के भन्लान् भन्ने पनि चिन्ता गरेका छन् ।

तर, अनलाइनखबरसँगको कुराकानीमा सिम्रनले परिवारबाट आफूलाई सपोर्ट मिलेको बताइन् । ‘सुरुमा धेरै नै नकारात्मक प्रतिकृयाहरु आएका थिए, त्यो हेरेर परिवारका सदस्यहरु खुशी हुनुहुन्नथ्यो,’ उनले भनिन्, ‘तर, पछि उहाँहरुले यसलाई बुझिदिनु भयो । अहिले मेरै सपोर्टमा हुनुहुन्छ ।’

सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरु हेरेर रमाइहेकी छिन् सिम्रन । सकारात्मक र नकरात्मक दुबै प्रतिकृयालाई सहजरुपमा लिएको उनी बताउँछिन् । उनले भनिन्, ‘मलाई स्कृप्ट लेख्दै गर्दा नै थाहा थियो कि यसबाट मैले राम्रो र नराम्रो दुबै कमेन्ट पाउनेछु । नभन्दै त्यस्तै भयो ।’

उनले यो भिडियो यति धेरै भाइरल होला भन्ने चाहिँ नलागेको बताइन् । साथीहरुको देखेर, सुनेर र केही थप खोजी गरी स्कृप्ट बनाएको भन्दै उनले यसमा रहेका कुराहरु आफ्नो व्यक्तिगत जीवनमा नभोगेको दावी गरिन् । ‘यो मेरो अनुभव हैन । यदि भएको भए मलाई स्वीकार्न कुनै गाह्रो पनि हुन्थेन,’ उनले भनिन् ।

सिम्रन आफूले फोहोर नबोलेको दाबी गर्छिन् । उनले भनिन्, ‘मान्छेको शरीरको अंगहरुको बारेमा बोल्दा फोहोर हुन्छ जस्तो मलाई लाग्दैन । त्यहाँ कुनै किसिमले पनि फोहोर शब्दहरु मिसाइएको छैन ।’

उनले थपिन्, ‘हाम्रो समाज नै यस्तै छ । यहाँ छोरी मान्छेले यस्तो कुरा बोल्न हुन्न भनिन्छ । यसलाई म पनि स्वीकार्छु । ज-जसले नराम्रो भन्नुभयो उहाँहरुलाई पनि धन्यावाद ।’

भिडियो आएपछि साथीहरुले आफ्नो प्रशंसा गरेको उनले बताइन् । तर, सुरुमा यूट्यूबमा आएका नकारात्मक प्रतिकृयाले भने उनी खिन्न बनेकी थिइन् । आफूले गरेको ‘मेहनत’ लाई नबुझी प्रतिकृया दिनेहरुसँग उनको आक्रोश थियो ।

उनी भन्छिन्, ‘मैले लामो समय मेहनत गरेर यो भिडियो बनाएको हुँ । यसमा नराम्रो कमेन्ट आउदाँ म निराश भएको थिएँ ।’

तर, सिम्रनलाई आफूले भिडियोमा बोलेको कुराहरुमा कुनै पश्चाताप छैन । ‘त्यहाँ मैले बोलेका शब्दहरु सबै हामीले वास्तविक जीवनमा बोलेकै हुन्छौँ । आफ्नो साथीहरुलाई सेयर गरेकै हुन्छौँ’, उनले भनिन्, ‘त्यही कुरालाई मैले पब्लिक्ली भनेको हुँ । त्यसमा मलाई कुनै पश्चताप छैन ।’

कमेडी गर्न फोहोर शब्दहरु बोल्नुपर्छ भन्ने मान्यता चाहिँ उनीसँग छैन । तर, दर्शक श्रोता त्यही कुरामा हास्ने भएका कारण पनि अहिलेको आकर्षण त्यहाँ भएको उनी स्वकार्छिन् ।

पहिले सिम्रन इन्स्टामा सानो-सानो भ्लग हाल्ने गर्थिन् । उनले हालेको भ्लगहरु युट्युबर सुरक्षा भट्टको नजरमा परेको थियो । उनै सुरक्षाले उनलाई स्ट्याण्डअप कमेडीको बाटो देखाइदिइन् ।

आजसम्म सिम्रनले ६ वटा प्रस्तुति दिइसकेकी छिन् । तर, युट्युबमा आएको यो नै पहिलो भिडियो हो । उनले भनिन्, ‘मैले यो भन्दा अगाडि पनि कमेडी गरेको थिएँ । तर, त्यो युट्युबमा आएन । यो छैटौँ हो ।’

सिम्रन चाँडै अध्ययनका लागि अमेरिका जाने तयारीमा छिन् । उनले आइइएलटीएसमा ७ स्कोर गरेकी छिन् र दुई कलेजको अफर लेटर पनि उनीसित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment