२५ भदौ, प्युठान । रसुवाको भोटेकोशी क्षेत्र हुँदै आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्युठानका ४० संस्थागत विद्यालयले १२ लाख ८२ हजार ७०८ रुपैयाँ सहयोग गरेका छन्।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) प्यूठानमार्फत विद्यालयहरूले उक्त रकम संकलन गरी सहयोग गरेका हुन्। संकलित रकम प्याब्सनको केन्द्रीय कार्यालयमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने प्याब्सन प्यूठानका सचिव शरद गौतमले बताए।
प्याब्सनको केन्द्रीय सर्कुलरअनुसार बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि रकम संकलन गरिएको गौतमले जानकारी दिए।
प्याब्सन प्युठानका अध्यक्ष दीपेन्द्र जिसीले विपत्तिका बेला निजी विद्यालयहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको बताए। ‘महाविपत्तिको यो समयमा निजी विद्यालयका तर्फबाट केही भए पनि राहत मिलोस् भनेर सहयोग गरिएको हो’, उनले भने।
प्याब्सन प्यूठानले यसअघि पनि भूकम्प, कोभिड–१९ तथा बाढीपहिरोलगायतका प्राकृतिक तथा मानवीय विपत्तिमा सहयोग गर्दै आएको जनाएको छ।
संघले बाढीपहिरोमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइते र प्रभावितको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
प्रतिक्रिया 4