Comments Add Comment

बढ्दो तापमानः ख्याल गर्नैपर्ने केही कुरा

तपाईंले अनुभव गर्नुभएकै होला, घाम निकै चर्किएको छ । वायुमण्डलमा तातो हावा चलिरहेको छ । शहरी क्षेत्र, जहाँ भिडभाड छ, त्यहाँ खपिनसक्नु गर्मी छ । मान्छेको बढी चहलपहल हुने ठाउँ, सार्वजनिक यातायात, विद्यालयको कक्षाकोठा अरु बढी बाफिएको अनुभव हुन्छ । बन्द कोठामा ताजा हावा वहकिएको छैन ।

एकातिर घामको राप, अर्कोतिर जमिनको । त्यसमाथि तातो हावा । उकुसमुकुस छ । गर्मीकै कारण कतिपय विद्यार्थीहरु बेहोस भएको खबर सामाजिक सञ्जालमा देखिन्छ । मोरङको एक सामुदायिक विद्यालयका विद्यार्थीहरु गर्मीकै कारण बेहोस भएको बुझिन्छ । बढ्दो गर्मीकै कारण तराईका कतिपय विद्यालय बन्द गरेको खबर पनि छ ।

काठमाडौं लगायत शहरी क्षेत्रको तापमान बढ्दै गएको छ । काठमाडौंमा केही दिनयता मौसमी तापमान निकै बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गएको सुक्रबार ३३ दशमलव ५ डिग्री सेन्टिग्रेड तापमान रेकर्ड गरिएको छ । गएको बर्ष यही समयमा यत्तिको तापमान रेकर्ड भएको थिएन । तराईं क्षेत्रको तापमान यसपाली ४३ दशमलव ५ डिग्री सेन्टिग्रेडसम्म पुग्यो ।

रापिदै धर्ती

बर्षेनी किन बढ्दैछ त तापमान ?

त्यसो त ग्लोवल वार्मिङको असरले बर्षेनी मौसमी तापमान बढ्दै गएको बताइन्छ । यसको तिब्र प्रभाव चाहि तराई एवं शहरी क्षेत्रमा महसुष हुन्छ ।

ग्लोवल वार्मिङले कसरी असर गरिरहेको कुरा आज हामीले भोगिरहेका छौ । भोलिको दिनमा यो अवस्था थप चर्को बन्नेछ । ग्लोवल वार्मिङले मौसमी चक्रलाई नै प्रभावित बनाइरहेको छ । यसले अन्नबालीदेखि अरु प्राकृतिक कुरालाई पनि असन्तुलित बनाउँदै लगेको छ ।

हाम्रा सन्ततीको भविष्य कति भयावह बन्नेछ भन्ने कुरामा हामी सर्तक हुनुपर्ने अवस्था आएको छ । किनभने यसरी विश्व तापमान बढ्दै जानुमा हाम्रो गल्ती, कमजोरी छन् । एकातिर कलकारखाना, गाडी, विद्युतिय उपकरणको बढ्दो प्रयोग, अर्कोतिर बनजंगल एवं प्राकृतिक सम्पदाको विनास नै ग्लोवल वार्मिङको कारण बनिरहेको छ ।

अब के गर्ने त ?

ग्लोवल वार्मिङको बढ्दो प्रभावबाट बच्न वा यसलाई नियन्त्रण गर्ने दायित्व हाम्रो नै हो । हामीले गर्ने सानातिना गल्ती पनि ग्लोवल वार्मिङको कारण बनिरहेको छ । जस्तो कि, घरायसी प्रयोजनका लागि चलाइने विद्युतिय उपकरण । गाडी वा मोटरसाइकलको प्रयोग । रुख-विरुवाको विनास । प्राकृतिक स्रोतको दोहन । अप्राकृतिक जीवनशैली ।

यीनै कुरामा हामीले अपनाउने संयमता र नियन्त्रणले पनि ग्लोवल वार्मिङलाई केही हदसम्म नियन्त्रण गर्न सहयोग पुग्छ । जस्तो तपाईंको घरमा अहिले विजुली झलमल्ल बालिन्छ । फ्रिज, वाशिङ मसिन, एसी/कुलर आदि चलाइन्छ । घरमा प्लाष्टिकजन्य पदार्थको प्रयोग गरिन्छ । यता रुखबिरुवा रोप्ने, संरक्षण गर्ने काममा भने हाम्रो सक्रियता कतिपनि छैन ।

गर्मीमा केही सावधानी

वढ्दो गर्मीले हामीलाई केही समस्यामा पार्न सक्छ । खासगरी स्वास्थ्य सम्बन्धी समस्या । गर्मी याममा खासगरी शरीरमा पानीको अपुग हुनेगर्छ । पसिनाबाट पानी बग्ने भएकाले शरीरलाई अतिरिक्त पानी आवश्यक हुन्छ । बाहिरी तापमानसँग शरीरको सन्तुलन मिलाउन पर्याप्त मात्रामा पानी सेवन गर्नुपर्छ । रसयुक्त फलफूल अरु बढी उपयोगी हुन्छ ।

यतिबेला जताततै सुख्खा हावा चलिरहेको छ । वायुमण्डलमा धुँवा र धुलो मिसिएको छ । यसले आँखा, छाला सम्बन्धी समस्या ल्याउन सक्छ । त्यसैले आँखा तथा छालाको सुरक्षाको लागि उचित विधी अपनाउनुपर्छ । सनग्लासले आँखाको सुरक्षा गर्छ । यस्तै पुरा शरीर ढाक्ने परिहनले छालाको सुरक्षा गर्छ । गर्मी याममा छाता पनि निकै उपयोगी हुन्छ । बाहिर हिँडडुल गर्दा छाता ओड्न सकिन्छ, जसले सितलता प्रदान गर्छ । साथसाथै घामको सोझो असरबाट शरीरलाई जोगाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment