मोटोपना विश्वमा एक प्रमुख स्वास्थ्य समस्याको रुपमा देखा परिरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांकअनुसार विश्वका हरेक ८ व्यक्तिमध्ये १ जनामा मोटोपनाको समस्या छ । १८ वर्षमाथिका २ अर्ब ५० करोड व्यक्तिको तौल बढी छ ।
यी मध्ये करिब ९० करोड व्यक्तिमा मोटोपना छ । मोटोपना र यसबाट उत्पन्न हुने स्वास्थ्य समस्याका कारण हरेक वर्ष विश्वमा २८ लाख व्यक्तिको मृत्यु हुने गरेको डब्लुएचओले जनाएको छ ।
मोटोपनाका कारण मुटुरोग, टाइप २ मधुमेह, हड्डी तथा जोर्नी सम्बन्धी रोग, कुनैकुनै क्यान्सर समेतको जोखिम धेरै हुन्छ ।
यति धेरै स्वास्थ्य समस्या निम्त्याउने मोटोपनाको एउटा सकारात्मक पक्ष के हो भने खानपान तथा जीवनशैली सुधार गरेर यसलाई नियन्त्रण गर्न सकिन्छ ।
मोटोपना घटाउन नियमित व्यायाम, खानपानमा नियन्त्रण र औषधिहरूको प्रयोग जस्ता उपाय अपनाइन्छ ।
तर कतिपय व्यक्तिमा कसैगरी मोटोपना नघट्ने समस्या हुनसक्छ ।
मोटोपना घट्न नसक्नुका जैविक, मनोवैज्ञानिक, सामाजिक र पर्यावरणीय कारणहरू हुनसक्छन् ।
१. जैविक कारणहरू
मोटोपना घट्न नसक्नुका पछाडि जैविक कारणहरूले ठूलो भूमिका खेल्छन्। मानव शरीरको मेटाबोलिक प्रणाली, वंशाणुगत र हर्मोनल असन्तुलनले मोटोपनालाई प्रभावित गर्छ।
-वंशाणुगत कारण
वंशाणुगत कारणले मोटोपनमा महत्त्वपूर्ण भूमिका खेल्छ। यदि कुनै व्यक्तिका अभिभावक वा नजिकका आफन्तहरू मोटोपनाबाट ग्रसित छन् भने, त्यस व्यक्तिमा पनि मोटोपनाको सम्भावना बढी हुन्छ।एफटीओ जस्ता केही जीनहरूले शरीरको बोसो भण्डारण गर्ने र भोक नियन्त्रण गर्ने क्षमतालाई प्रभावित गर्ने कुरा अनुसन्धानहरूले देखाएका छन् । यस्तो अवस्थामा, व्यक्तिले खानपानमा नियन्त्रण गरे पनि शरीरले बोसो सजिलै पर्गेल्न सक्दैन।
-मेटाबोलिक दर
प्रत्येक व्यक्तिको मेटाबोलिक दर फरक हुन्छ। बेसल मेटाबोलिक रेट (बीएमआर) ले आरामको अवस्थामा शरीरले कति क्यालोरी खपत गर्छ भन्ने निर्धारण गर्छ। कतिपय व्यक्तिको बीएमआर कम हुन्छ, जसले गर्दा उनीहरूको शरीरले कम क्यालोरी जलाउँछ। यस्ता व्यक्तिहरूलाई वजन घटाउन निकै कठिन हुन्छ ।
– हर्मोनको असन्तुलन
हर्मोनहरूले शरीरको भोक, मेटाबोलिज्म र बोसो भण्डारणलाई नियन्त्रण गर्छन्। थाइराइड हर्मोनको कमी (हाइपोथाइराइडिज्म), इन्सुलिन प्रतिरोध र कोर्टिसोल (तनाव हर्मोन) को उच्च स्तरले मोटोपनलाई बढावा दिन्छ।यस्तो अवस्थामा पनि मोटोपन घटाउन कठिन हुन्छ ।
२. खानपान र जीवनशैली
खानपान र जीवनशैली मोटोपनाको प्रमुख कारक हुन्। हामीले यसको सन्तुलन मिलाएनौं भने शरीर पनि सही अवस्थामा रहन सक्दैन ।
बढ्दो शहरीकरणका कारणले पछिल्ला दिनमा मान्छेहरू उच्च क्यालोरीयुक्त खानेकुरा खाने अनि शारीरिक गतिविधि कम गर्ने खालको जीवनशैली अपनाइरहेका छन् ।
प्रशोधित खानेकुराहरू जस्तै फास्ट फूड, चिनीयुक्त पेय पदार्थ र रिफाइन्ड कार्बोहाइड्रेट खाने गर्छन्। यस्ता खानेकुराहरूले रगतमा चिनीको स्तरलाई तीव्र रूपमा बढाउँछ र इन्सुलिनको उत्सर्जनलाई उत्तेजित गर्छ, जसले बोसो भण्डारणलाई प्रोत्साहन गर्छ। साथै, फाइबर, प्रोटिन, र स्वस्थ बोसोको कमीले भोक नियन्त्रण गर्न कठिन हुन्छ।
एकातिर शरीरलाई आवश्यक भन्दा बढी खानपान छ भने अर्कातर्फ कामको प्रकृति फेरिएको छ । लामो समय एकै ठाउँ बसेर काम गर्ने, घरमै बसिरहने अनि व्यायामको कमीले क्यालोरी खपत कम हुन्छ। यसो हुँदा हाम्रो शरीरलाई आवश्यकता भन्दा बढी क्यालोरी बोसोको रुपमा जम्मा हुँदै जान्छ ।
हामी मोटोपना घटाउने इच्छा राख्छौँ, तर खानेकुरामा नियन्त्रण गर्नै सक्दैनौ । अनि व्यायम गर्न तथा शारीरिक परिश्रम पर्ने गर्ने कुरामा अल्छी मान्छौँ भने मोटोपना घटाउन निकै कठिन हुन्छ ।
दिनमा एक-दुई पटक खाने तर टन्नै खाने गर्दा पनि मोटोपना घटाउन गाह्रो पर्छ ।
३. मनोवैज्ञानिक कारण
मोटोपना केवल शारीरिक समस्या मात्र होइन, यसमा मनोवैज्ञानिक पक्षहरूले पनि ठूलो भूमिका खेल्छन्। तनाव र चिन्ताले पनि मोटोपना बढाउन भूमिका खेलिरहेको हुन्छ ।
तनाव र चिन्ताले कोर्टिसोल हर्मोनको स्तर बढाउँछ, जसले भोक बढाउने र बोसो भण्डारण गर्ने काम गर्छ । धेरैजसो मानिसहरू तनावमा हुँदा ‘इमोशनल इटिङ’ मा संलग्न हुन्छन्, अर्थात्, भावनात्मक सन्तुष्टिका लागि खानेकुरा खान्छन्। यस्तो अवस्थामा उच्च क्यालोरीयुक्त खानेकुराहरू खाने सम्भावना बढी हुन्छ।
यदि डिप्रेशनमा परेका व्यक्तिहरूले खानपानमा ध्यान दिँदैनन् र शारीरिक गतिविधिमा कमी गर्छन् भने पनि तौल धेरै बढ्ने हुन्छ । डिप्रेसनको उपचारका लागि प्रयोग गरिने केही औषधिहरूले पनि तौल बढाउने खालका हुन्छन् ।
४. सामाजिक कारण
नेपालजस्ता देशहरूमा, खानपानलाई सामाजिक र सांस्कृतिक महत्त्व दिइन्छ । चाडपर्व, भोजभतेर र सामाजिक जमघटमा धेरै क्यालोरीयुक्त खानेकुराहरू खाने चलन छ। यस्तो अवस्थामा खानपानमा नियन्त्रण गर्न गाह्रो हुन्छ ।
हाम्रो समुदायमा टन्नै खानसक्ने र बेस्सरी मोटाउने मान्छे राम्रो हो भन्ने धारणा व्यापक छ । सानै उमेरदेखि यही खालको मनोविज्ञान विकास भएका कारण पनि खानपानमा नियन्त्रण नहुँदा मोटोपनाको समस्या बढ्छ ।
नेपाली समाजको कुरा गर्दा कुन खानेकुरा स्वस्थ, कुन अस्वस्थ भनेर विभार गरेर खाने भन्दा सजिलै उपलब्ध हुने, सस्तोमै भेट भरिने खालका खानेकुरा खानु बाध्यता पनि छ धेरैमा । फलफूल तथा तरकारीहरू प्रशस्त खान महंगो पर्छ । कार्बोहाइड्रेडयुक्त खानेकुराकै भरमा पेट भर्नुपर्दा यसले मोटोपना बढाउने सम्भावना बढी हुन्छ ।
खाद्य उद्योगहरू चिनीयुक्त पेय पदार्थ, जंक फूड र अन्य अस्वस्थ खानेकुराहरूको आक्रामक विज्ञापन गर्छ। यस्ता विज्ञापनहरूले विशेषगरी युवा र बालबालिकालाई प्रभावित गर्छ । उनीहरूले यस खालका खानेकुरा धेरै प्रयोग गर्छन्, जसले मोटोपनको जोखिम बढाउँछ ।
५. चिकित्सकीय कारणहरू
केही चिकित्सकीय अवस्थाहरू र औषधिहरूले पनि मोटोपनालाई बढावा दिन्छ। उदाहरणका लागि, स्टेरोइड, एन्टिडिप्रेसेन्ट, र एन्टिसाइकोटिक औषधिहरूले तौल बढाउन सक्छ। साथै, अनिद्रा र स्लीप एपनिया जस्ता समस्याहरूले मेटाबोलिज्मलाई प्रभावित गर्छ र तौल घटाउन कठिन बनाउँछ।
मोटोपना घटाउन नसक्नुका पछाडि धेरै कारणहरू हुन्छन् तर सही उपायहरू अपनाएर यो समस्यालाई समाधान गर्न सकिन्छ।
स्वस्थ खानपान
सन्तुलित आहारमा जोड दिनुहोस्। फाइबर, प्रोटिन, र स्वस्थ बोसोयुक्त खानेकुराहरू खानुहोस्। प्रशोधित खानेकुरा र चिनीयुक्त पेय पदार्थहरूको सेवन कम गर्नुहोस्।
नियमित व्यायाम
हप्तामा कम्तिमा १५० मिनेट मध्यम तीव्रताको व्यायाम गर्नुहोस्।
चिकित्सकीय जाँच
हर्मोनल असन्तुलन वा अन्य चिकित्सकीय समस्याहरूको जाँच गर्नुहोस् र चिकित्सकको सल्लाह लिनुहोस्।
प्रतिक्रिया 4