Comments Add Comment

आँधी प्रभावित भरवलियाका बासिन्दा आन्दोलित

२ असार, वीरगञ्ज । गत चैत १७ गते आएको आँधी प्रभावित क्षेत्र बाराको फेटा गाउँपालिका-१ भलुही भरवलियाका बासिन्दा आन्दोलित भएका छन् ।

शुक्रबार वडानम्बर १ को कार्यालयमा तालाबन्दी गरेका उनीहरुले सोमबार गाउँपालिका कार्यालयमा प्रदर्शन गरेका हुन् । त्यस क्रममा सामान्य झडपसमेत भएको छ ।

फेटा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्न स्थानीय रम्भा देवीको नेतृत्वमा गएका महिला समूहमाथि हातपात भएको बताइएको छ ।  झडपमा स्थानीय रामनाथ राउत, मुकेश राउत र बद्री मुखियाको श्रीमान श्रीमतीसहित चार जनालाई चोट लागेको छ ।

गाउँपालिका प्रमुखले नै मान्छे बोलाएर कुटपिट गरेको आरोप उनीहरुले लगाएका छन् । स्थिति तनावग्रस्त बनेपछि प्रहरीले घटनालाई साम्य पारेको थियो ।

तर, प्रहरीले भने सामान्य भनाभन मात्रै भएको दावी गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले हावाहुरी प्रभावित क्षेत्रका महिला गाउँपालिका गएर गुनासो राखेर फर्किएको बताए । ‘हावाहुरी प्रभावित क्षेत्रका महिला गाउँपालिका कार्यालय पुगेका थिए, उनीहरु र कर्मचारीबीच सामान्य भनाभन मात्रै भएको हो ,’ उनले भने, ‘छलफलपछि उहाँहरु सहमत भएर र्फकनुभएको छ ।’

फेटा गाउँपालिकाका प्रमुख अमिरिलाल प्रसादले घटनाको जिम्मेवारी आफूले लिने भन्दै महिलाहरुसँग माफि मागेका थिए । उनले स्थानीयको समस्या समाधानका लागि आफूले जुनसुकै ठाउँमा गएर पहल गर्न तयार रहेको बताएपछि महिलाहरु घर फर्केका थिए ।

यसअघि आइतबार उनीहरुले वडानम्बर १ को वडा कार्यालयमा तालाबन्दी गरेका थिए । वडाले प्रभावकारी काम नगरेको अवस्थामा के-कसो भएको हो ? भनी बुझ्न खोज्दा सही सूचना नपाएपछि वडा कार्यालयमा ताल्चा लगाएको उनीहरुको भनाइ छ ।

हावाहुरीले घर पूर्ण रुपले क्षति पुर्‍याएको भए पनि प्रभावितको सूचीबाट आफ्नो नाम हटाइएको भन्दै स्थानीय आक्रोशित भएका हुन् ।

नेपाली सेनाले अघिल्लो दिन एउटा घर निर्माणका लागि जग खनेको र अर्को दिन प्रभावितको सूचीमा नरहेको भन्दै छोडेर अर्कै घर निर्माण गर्न थालेको स्थानीयको आरोप छ । छुटेका पीडितको नाम समेत समावेश हुनुपर्ने माग स्थानीयको छ ।

दुई महिनादेखि वास्तविक प्रभावित छुटेको भनी गुनासो गर्दा सुनुवाई नभएपछि गाउँका महिलाहरु आक्रोशमा आएको स्थानीय बासिन्दा एवं ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक वीरेन्द्रप्रसाद साहले जानकारी दिए ।

‘दुई महिनादेखि हार गुहार गर्दा कसैले सुनेनन्, बिहान घर बनाउन शुरु गर्छन् बेलुका यो त होइन भनेर जान्छन्,’ उनले भने, ‘यस्तो गतिविधि देेखेर आजित भएका महिला आन्दोलित भएका हुन् ।’ उनले हजारमा तथ्यांक संकलन गर्दा त्यसमा त्रुटी भएको महसुस आफूले पनि गरेको बताए ।

गाउँपालिका अध्यक्ष अमिरी प्रसादले स्थानीयले उठाएको सवालमा गाउँपालिकाबाट कुनै सुनुवाई हुन नसक्ने बताए । प्रभावितको नाउमा राजनीति घुसेका कारण समस्या उत्पन्न भएको उनको भनाइ छ ।

‘गाउँपालिकामा नहुनुपर्ने घटना भयो, त्यहाँ तलिम चल्दै थियो । उनीहरुले प्रतिकार गरेछन्, कर्मचारी पठाएर स्थानीयसँग छलफल गरेर विवरण संकलन गर्ने, सेनासँग परामर्श गर्ने र प्रमुख जिल्ला अधिकारी समक्ष जानकारी गराउने कुरामा उनीहरु सहमत भएका छन्,’ उनले भने, ‘भरवलिया टोलमा समस्या देखिएको छ ? नाम कटाउने व्यक्ति को हो खोजी हुनुपर्छ । तर एउटा वडाको समस्यालाई लिएर गाउँपालिकाको कामकाजमा अवरोध गर्नु हुँदैन ।’

उनले गाउँपालिका कार्यालय बन्द हुँदा छ वटै वडाका बासिन्दा समस्यामा पर्ने बताए । नेपाली सेनाले गाउँपालिकासँग समन्वय नगरी काम गर्दा समस्या उत्पन्न भएको उनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय बाराका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत मुरारी कार्की पुनः मूल्यांकन गर्ने संभावना एकदमै कम रहेको बताउँछन् । ‘हामीले तीन चरणमा विवरण संकलन गरेका हौं, घटना घट्दा प्रमाण पनि थियो, कसको घर भत्केको हो देखिन्थ्यो, अब प्रमाण सबै मेटिसकेको छ,’ उनले भने, ‘कोही पनि पीडित नछुटुन भन्ने उद्देश्य हाम्रो पनि हो, समयमा आवाज उठाएको भए राम्रो हुन्थ्यो । अब जसले आवाज उठाउँछ त्यसको बन्छ कि भन्ने आशामा पनि यसो गरिएको हुन सक्छ तर पूर्ण मूल्यांकनको सम्भावना एकदमै कम छ ।’

समयमा कुरा नराखेपछि उचित कुरा नै भएपनि सुनुवाई गर्न कठिन हुने तर्क उनको छ । वास्तविक हावाहुरी प्रभावितको नाम छुटेको भन्दै गत बिहीबार प्रसौनी गाउँपालिका वडा नं ४ खुटवा जब्दीका बासिन्दाले वडा कार्यालयमा गरेको तालाबन्दी अझै खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment