+
+
Shares

भारतमा चोरी गरेको आरोपमा कैलालीबाट ८ जना पक्राउ

२८ लाख नगदसहित गरगहना बरामद

११ अप्रिलमा दिल्लीस्थित स्थानीय कपिल बद्रीलालको घरमा चोरी भएको घटनामा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते १८:२२
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको दिल्लीमा भएको चोरीसम्बन्धी घटनामा संलग्न ८ जना नेपाली पक्राउ परेका छन् ।
  • चोरीको घटनामा संलग्नलाई नियन्त्रणमा लिन आवश्यक समन्वय गरिदिन भारतीय दूतावासले नेपाल प्रहरीसँग अनुरोध गरेको थियो ।
  • यो प्रकरणको अनुसन्धान एसएसपी मल्ल स्वयंले गरेका थिए ।

३० वैशाख, धनगढी । भारतको दिल्लीमा भएको चोरीसम्बन्धी घटनाका ८ जना आरोपी कैलालीबाट पक्राउ परेका छन् ।

११ अप्रिलमा दिल्लीस्थित स्थानीय कपिल बद्रीलालको घरमा चोरी भएको घटनामा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

चोरीको घटनामा संलग्न रहेकालाई नियन्त्रणमा लिन आवश्यक समन्वय गरिदिन भारतीय दूतावासले अनुरोध गरेको थियो ।

सोही आधारमा धनगढीका ३ जना सुनचाँदी व्यवसायीसहित ८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा अछामको मेल्लेख गाउँपालिकाको सेल गाउँका राजेश साउद, गोकुल साउद, सुरेश साउद, धनगढीको एसके सुनचाँदी पसलका सञ्चालक सुरेश बर्मा, दिपेन्द्र सोप र रोविक सुनचाँदी पसलका सञ्चालक रोहित सिंजापती रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रकाश मल्लले पुष्टि गरे ।

उनकाअनुसार गोदावरी नगरपालिकाका मीनबहादुर गुरुङ र ज्ञानेन्द्र खड्कालाई समेत पक्राउ गरिएको छ । यो प्रकरणमा संलग्न २ जना भारतीय नागरिकसहित झापाका देव मल्ल र दोलखाका शंकर लामा भारतको दिल्लीमा पक्राउ परेका छन् भने अन्य ३ जना अझै फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी जारी छ।

प्रहरीकाअनुसार उनीहरूको साथबाट नगद २८ लाख नेपाली रुपैयाँ, दुई सय ४० ग्राम सुन, १३ तोला सुनको गरगहना, चार किलो ९ सय ग्राम चाँदी र ४ वटा घडी बरामद भएको छ ।

प्रहरीका अनुसार बद्रीलालको घरबाट दुई किलो सुन, २२ लाख भारु, १० किलो चाँदी र १० वटा घडी चोरी भएको भन्दै भारतीय दूतावासमार्फत समन्वयका लागि पत्राचार भएको थियो ।

यो प्रकरणको अनुसन्धान एसएसपी मल्ल स्वयंले गरेका थिए ।

भारतमा हुने चोरीको हकमा दुई देशबीचको संयुक्त कानुन अभावमा सोही शीर्षकमा मुद्दा चलाउन चुनौतीपूर्ण भए पनि प्रहरीले समन्वय गरेर आरोपितको साथमा भेटिएको नगद र गरगहना सम्बन्धित पक्षलाई नै फिर्ता गराउने गरेको छ ।

प्रहरीका अनुसार भारतमा घरेलु कामदारका रूपमा जाने नेपाली संगठित रूपमा चोरीमा संलग्न हुने गरेको देखिन्छ ।

एसएसपी मल्लले भारतमा हुने चोरीमा विभिन्न खालका मानिस जोडिने गरेको पाइएको बताए । भारतमै रहेको एउटा समूहले सुरुमा चोरी गर्ने ठाउँ पत्ता लगाएर त्यहाँ घरेलु कामदारका रूपमा नेपालीलाई राख्ने गरेको छ ।

मल्लका अनुसार कामदारले चोरी गर्ने व्यक्तिलाई सुनचाँदी र नगद राखिएको बारेमा सूचना दिने गर्दै आएको देखिएको छ भने सोही आधारमा उनीहरूबीच चोरी गर्ने योजना बन्ने गरेको पाइएको छ ।

त्यसरी चोरी गरिएको सुन र गरगहना नेपालमा ल्याएर सुनचाँदी व्यवसायीसँग बिक्री गर्दै आएका छन् । यो गिरोहमा बिचौलियाको भूमिका खेल्दै आएका केहीले नेपालस्थित सुरक्षा निकायलाई समेत मिलाउने भन्दै रकम लिने गरेको अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?