१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा गएका बेला काठमाडौंमा गुठी विधेयकविरुद्ध आन्दोलनको सुरुवात भयो । काठमाडौंको बसन्तुपरमा उर्लिएको जनसागर अनि पाटनमा निस्किएको मसाल जुलुसले सरकारलाई झस्कायो ।
काठमाडौंका आदिवासीहरुमा देखिन थालेको आक्रोशका कारण सरकार एकाएक गलेको महसुस स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले दिएको छ । प्रधानमन्त्री ओलीले आइतबार स्वदेश फर्केकै दिन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै विधेयक सच्याउन तयार रहेको बताए । साथै गुठीसम्बन्धी विधेयकलाई लिएर कसैलाई पनि खेल्ने मौका नदिने प्रधानमन्त्री ओलीले बताएका छन् ।
प्रधानमन्त्री ओलीले गुठी विधेयक सच्याउने प्रतिवद्धता जनाएका छन् । साताब्यापी युरोप भ्रमण पूरा गरेर आइतबार स्वदेश फर्किएका ओलीले विमानस्थलमै सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘धर्म संस्कृतिमा प्रतिकूल असर पर्ने केही कुरा जानेर वा नजानेर परेको रहेछ भने सरकारले सच्याउँछ ।’
प्रधानमन्त्रीले अगाडि भने, ‘यो सरकार बनेको जनताको मन दुखाउन होइन, हँसाउन हो । कहीँ कतै नमिलेको रहेछ वा भुलवश भएको रहेछ भने मौका आयो भन्ठान्नु बेकार हो । यत्ति भन्न चाहन्छु ।’
‘खुबै मौका पायौं भन्ठान्या होलान्, कुनै चान्स छैन’
प्रधानमन्त्री ओलीले गुठी विधेयकको विरोधमा भइरहेको आन्दोलनतिर लक्षित गर्दै भनेका छन्- ‘अब केही मानिसहरुले खुबै मौका पायौं भन्ठान्या होलान्, कुनै चान्स आउनेवाला छैन । चान्स छैन । किनभने यो सरकार जनताका लागि जनताले भनेअनुसार काम गर्छ । जनताको हितमा काम गर्छ ।’
प्रधानमन्त्री ओलीले कतिपय ठाउँमा गुठीका नाममा गरीबहरुमाथि शोषण भैरहेको समेत बताए । तर, काठमाडौंको धार्मिक सम्पदालाई एकैठाउँ राखेर हेर्न नमिल्ने बताउँदै गुठी विधेयकले सांस्कृतिक सम्पादमाथि नजानेर धक्का दिन खोजेको रहेछ भने त्यसलाई सच्याइने बताए ।
गुठी विधेयकलाई लिएर भइरहेको विरोधका सम्बन्धमा प्रधानमन्त्रीको भनाइ जस्ताको त्यस्तै-
कतिपय ठाउँमा गुठीका नाममा जनतामाथि, गरीबहरुमाथि शोषण भैरहेको छ, जमीनमा । तर, सबै कुरा एकै ठाउँ, ‘भाजी टकासेर खाजा’ भन्छ हिन्दीमा । त्यो हुँदैन । धार्मिक गुठी यहाँका यस्ता ऐतिहासिक गुठीहरु हाम्रा संस्कृतिक परम्परासँग र यस्ता परोक्ष ढंगका सांस्कृतिक धरोहरसँग जोडिएका गुठीहरुको कुरा बेग्लै हो । यदि यस विधेयकले कहीँकतै त्यसप्रकारका गुठीहरुमा कतै केही धक्का परेको रहेछ भने त्यो सरकारले विचार गर्छ ।
अब केही मानिसहरुले खुबै मौका पायौं भन्ठान्या होलान्, कुनै चान्स आउनेवाला छैन । चान्स छैन । किनभने यो सरकार जनताका लागि जनताले भनेअनुसार काम गर्छ । जनताको हितमा काम गर्छ । र, यो हाम्रा परम्परा, हाम्रा संस्कृति, हाम्रा ऐतिहासिक धरोहरहरु, हाम्रा पुरातात्विक महत्वका धरोहरहरु । पुरातात्विक महत्वका धरोहर भन्दा घरमात्रै बुझँदैन । घरसँग जोडिएका हाम्रा संस्कृति पनि बुझिन्छ । मच्छिन्द्रनाथको रथयात्रा आफैंमा एउटा धरोहर हो । इन्द्रजात्रा आफैंमा एउटा धरोहर हो । कुमारी यात्रा आफैंमा एउटा धरोहर हो । त्यसकारण भवन, घर, कुँदिएको कलामात्रै होइन, सांस्कृतिक कला, जो झन राम्ररी कुँदिएको छ, त्यो पनि हो ।
ती सबै कुराहरु हेरेर कुनै पनि हाम्रो सांस्कृतिक धरोहर, ऐतिहासिक धरोहर, परम्परा, चाडबाड, रीतिथितिसँग कुनै कुराले कहीँनेरी अलिकति पनि प्रतिकुल असर या घच्चा जानेर नजानेर पारेको रहेछ भने त्यसलाई त सरकारले सच्याइहाल्छ नि । यो सरकार बनेको जनताको मन दुखाउन हैन, यो सरकार बनेको जनताको मन हँसाउन हो ।
त्यसकारण कहीँ कतै केही नपुगेको देख्ता वा कहीँ कतै केही भुलवस कतै गएको देख्ता त्यो मौका आयो कि भन्ठान्नु बेकार हो । म त्यत्ति भन्न चाहन्छु ।
प्रतिक्रिया 4