+
+
Shares

द्विपक्षीय भेटमा राष्ट्रिय सभा अध्यक्ष : जेनजी आन्दोलन र निर्वाचनबारे अन्तर्राष्ट्रिय चासो

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ६ गते १५:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तर व्यवस्थापिका संघको महासभामा सहभागी नारायणप्रसाद दाहालसँग अन्तर्राष्ट्रिय समुदायले नेपालमा भएको जेन–जी आन्दोलन र आगामी निर्वाचनबारे चासो व्यक्त गरेको छ।
  • अष्ट्रेलियाका सभामुख मिल्टोड डिकले दाहालसँगको भेटमा नेपालमा हुने निर्वाचनबारे चासो राखेका थिए र दुई देशबीचको सम्बन्धमा छलफल भएको छ।
  • दाहालले भारतको संसदीय टोलीसँग भेटमा नेपालमा नयाँ राजनीतिक परिवेश र निर्वाचनको तयारीबारे जानकारी गराउँदै मित्र राष्ट्रहरूको सहयोगको आग्रह गरेका छन्।

६ कात्तिक, काठमाडौं। अन्तर्राष्ट्रिय समुदायले नेपालमा हालै भएको जेनजी आन्दोलन र २१ फागुनका लागि तय निर्वाचनबारे चासो व्यक्त गरेको छ।

अन्तर व्यवस्थापिका संघको १५१अ‍‍ौं महासभामा सहभागी हुन जेनेभामा रहेका राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँगको द्विपक्षीय भेटघाटमा अन्तर्राष्ट्रिय समुदायले यस्तो चासो व्यक्त गरेको हो।

अध्यक्ष दाहालसँगको भेटमा अष्ट्रेलियाको संसद् हाउस अफ रिप्रेजेन्टेटिभका सभामुख मिल्टोड डिकले आसन्न निर्वाचनका बारेमा चासो राखेका थिए। भेटमा दुई देशबीचको आपसी सम्बन्ध, द्विपक्षीय हित र सहयोगका साथै संसदीय सहकार्यका विषयमा पनि छलफल भएको दाहालको सचिवालयले जनाएको छ।

अष्ट्रेलियाले नेपालको शिक्षा, स्वास्थ्य, सुशासन र सामुदायिक वन व्यवस्थापनका क्षेत्रमा उल्लेख योगदान गरेको भन्दै अध्यक्ष दाहालले आगामी दिनमा जलवायु परिवर्तनको सामना, नवीकरणीय ऊर्जा, स्थानीय सुशासन लगायतका क्षेत्रमा सहकार्य हुने विश्वास व्यक्त गरे।

एक लाख ८० हजार बढी नेपालीहरू अष्ट्रेलियामा रहेको भन्दै अध्यक्ष दाहालले ६० हजार बढी विद्यार्थीहरू अष्ट्रेलियामा अध्ययन गरिरहेको बताएका थिए।

सचिवालयका अनुसार अष्ट्रेलियामा रहेका नेपाली समुदाय र विद्यार्थीहरूको सुरक्षा, सम्मान र सहयोगी वातावरणका लागि धन्यवाद व्यक्त गर्दै दाहालले शैक्षिक साझेदारी, प्राविधिक तालिम र अनुसन्धान आदान प्रदान जस्ता कार्य विस्तारमा जोड दिन आग्रह गरे।

अध्यक्ष दाहालले जेनेभामा अनुराग सिंह ठाकुर नेतृत्वको भारतको संसदीय प्रतिनिधिमण्डल तथा अन्तर व्यवस्थापिका संघ (आइपियू) का महासचिव मार्टिन चुङगोङसँग पनि भेट गरेका छन्।

भारतीय टोलीसँगको भेटमा अध्यक्ष दाहालले भारतसँगको सम्बन्ध अ‍ौपचारिक र देशबीचको मात्रै नभई जनता–जनताबीचको सम्बन्ध निकै बलियो रहेको बताए।

नेपालमा पछिल्लो समयमा भएको जेनजी आन्दोलन, त्यसबाट उत्पन्न नयाँ राजनीतिक परिवेशमा अन्तरिम सरकार गठन भएको र चुनाव घोषणा भएको जानकारी गराउँदै अध्यक्ष दाहालले तोकिएको समयमै निर्वाचन सम्पन्न गरी लोकतान्त्रिक सुदृढीकरणका लागि नेपाल प्रयत्नशील रहेको बताए।

त्यस्तै, आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको पुनर्निमाण र नयाँ निर्वाचनका लागि मित्र राष्ट्रहरूको साथ र सहयोगको लागि अध्यक्ष दाहालले आग्रह गरे।

आइपियूका महासचिव मार्टिन चुङगोङसँगको भेटमा अध्यक्ष दाहालले नेपालमा बदलिएको राजनीतिक परिस्थितिमा प्रतिनिधि सभाको निर्वाचन तोकिएको र विधायिकी जिम्मेवारी राष्ट्रिय सभाले निर्वाह गरिरहेको बताए।

संसदीय अभ्यास थप परिष्कृत गर्न र लोकतान्त्रिक संस्थाहरु सुदृढ बनाउन अन्तर व्यवस्थापिका संघसँग सहकार्य गर्न चाहेको अध्यक्ष दाहालले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?