+
+
Shares

… अनि दाजुभाइले एकापसमा लगाए भाइटीका

रासस रासस
२०८२ कात्तिक ६ गते १३:५३
Photo Credit : रासस

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तनहुँको व्यास नगरपालिका–१० सेवरका मदन र सुमन तिमिल्सिनाले आठ वर्षदेखि एकापसमा भाइटीका लगाएर तिहार मनाउँदै आएका छन्।
  • मदनले भने, 'दिदीबहिनी नभएपछि हामीले एक अर्कालाई टीका लगाउने निर्णय गरेका थियौं।'
  • दाजुभाइबीच भाइटीका लगाउने सामाजिक मान्यता नभए पनि उनीहरूले यो परम्परा निरन्तरता दिइरहेका छन्।

६ कात्तिक, दमौली (तनहुँ) । तिहार दाजुभाइ र दिदीबहिनीको पर्व हो । यस पर्वमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर दीर्घायूको कामना गर्छन् । तर तनहुँको व्यास नगरपालिका–१० सेवरका मदन र सुमन तिमिल्सिना दाजुभाइले एकापसमा भाइटीका लगाएका छन् । आज उनीहरुले शुभसाइतमा एकापसमा टीका लगाएका हुन् ।

सुरुमा दाजु मदनले भाइ सुमनलाई पानी र तेलको धारो चुहाउँदै फेरो मारे । भाइटीकाको प्रक्रियाअनुसार निधारमा सप्तरङ्गी टीका लगाएर उनले फूलको माला गलामा पहिराइदिए । भाइको शत्रु नास र दीर्घायुको कामना गर्दै ओखर फोरे । त्यसपछि भाइ सुमनले दाजु मदनलाई भाइटीका लगाइदिए ।

विगत आठ वर्षदेखि मदन र सुमनले यसरी नै एक अर्कालाई टीका लगाएर भाइटीका मनाउँदै आएका छन् । दिदीबहिनी नभएपछि आठ वर्षदेखि भाइटीका यसैगरी मनाउँदै आइरहेको दाजु मदनले बताए ।

उनले भने, ‘विगतमा आफन्त दिदीबहिनीको हातबाट टीका थाप्दै आइरहेका थियौं । उहाँका आफ्नै दाजुभाइ विदेश गएपछि हामीलाई टीका लगाउन आउन छाड्नुभयो । हामी टीका थाप्न कुरिरहेका थियौं । नआएपछि मन खल्लो भो ।’

उनले थपे, ‘त्यसपछि हामी दाजुभाइले नै भाइटीका गर्ने सोच बनाएर सुरु गर्‍यौं । त्यसपछि निरन्तर एक अर्कालाई टीका लगाएर भाइटीका मनाउँदै आइरहेका छौं ।’

मदन र सुमनले भाइटीका गर्दा सुरुमा धेरैले अनौठो माने । दाजुभाइबीच भाइटीका लगाउने सामाजिक मान्यता थिएन ।

तिहारको मुख्य दिन भाइटीका, दिदीबहिनीले दाजुभाइलाई निधारमा सप्तरङ्गी टीका, गलामा मखमली र सयपत्रीको माला पहिराइदिएर दीर्घायुको कामना गरी मनाउँछन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?