+
+
Shares

जेनजी घाइते दिपेन्द्रलाई अस्पतालमै भाइटीका, दिदीको आशिष् : जस्तो भए नि बलियो हुनुपर्छ

पहेंलो, बैजनी, हरियो, निलो र रातो रङ लगाइदिन् । माला लगाइदिइन् । र, आसिक दिइन्– जस्तो भए नि बलियो हुनु पर्छ । उनले योभन्दा थप केही भनिनन् । सायद उनलाई परिस्थितिले चुप लगाइदिएको थियो ।

आर्यन धिमाल सापेक्ष आर्यन धिमाल, सापेक्ष
२०८२ कात्तिक ६ गते १७:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनका क्रममा गोली लागेर घाइते दिपेन्द्र बस्नेतको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ र उनको स्वास्थ्य क्रमिक सुधार भइरहेको छ।
  • दिपेन्द्रको दिदी भगवती बस्नेतले अस्पतालमै भाइटिका लगाइदिएकी थिइन् र उनले भनेकी थिइन्, 'धन्न भाइटिका मनाउन पाइयो'।
  • दिपेन्द्रको शरीरको बायाँ हात र खुट्टा चल्दैन र उनी एक्लै उभिन सक्दैनन् भने उनको श्रीमतीले उनलाई आड दिइरहेकी छिन्।

पृष्ठभूमिमा मालश्री धुन बजिरहेको थियो ।

सायद उनीहरूले त्यसको हेक्का गरेनन् । तर अन्नपूर्ण न्यूरो अस्पताल, माइतीघरको छतमा जेनजी आन्दोलनका सख्त घाइते दिपेन्द्र दिपेन्द्रले भाइटिका लगाइरहँदा उनीहरूकै लागि बजाइदिए जसरी कतै बजेको त्यो धुन प्रष्ट सुनिँदै थियो ।

अस्पतालले छतमा सानो कृत्रिम बगैंचा बनाएको रहेछ । ११ बजिसकेकाले बगैंचाको धेरै भागमा टड्कारो घाम लागिरहेको थियो । बगैंचाको किनार छेउ अलि घाम थिएन । जहाँ दैलेखका दिपेन्द्रलाई आफ्नी दिदी भगवती बस्नेतको हातबाट भाइटिका लगाउँदै थिए ।

००० ००० ०००

गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर २८ वर्षीय दिपेन्द्र संसद भवन बानेश्वरको दक्षिणी गेट अघिल्तिरको ब्यारिकेडमा अडेस लागेसरी ढलेका थिए । उनलाई टाउकोमा गोली लागेको थियो । तस्विर मर्माहत पार्ने थियो ।

त्यो सामाजिक सञ्जाल तुरुन्तै व्याप्त बन्यो । कतिपयले त्यस्तो अवस्था देखेर उनको मृत्युको अफवाह फैलाए । तर दैलेख भगवतीमाई गाउँपालिका-१ बस्ने उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको थियो ।

एक महिना बढी अस्पताल बसेपछि अहिले उनको स्वास्थ्य क्रमिक सुधार भइरहेको छ । उनीसँगै अस्पतालमा उपचार गराइरहेका थुप्रै घाइते डिस्चार्ज भइसके । यस अस्पतालमा उनी मात्र एक्लै रहेका छन् ।

अब उनको अर्को प्रमुख अपरेसन अझैं बाँकी छ ।

००० ००० ०००
अस्पतालको पाँचौं तल्लाको ५१० शैयामा पुग्दा उनी बायाँ कोल्टे फेरेर मोबाइलमा केही हेरिरहेका थिए । आमा नजिकैको बेन्चमा बसिरहेकी थिइन् । उनको छोरो असिम बस्नेत पनि मोबाइलमा नै केही हेरिरहेका थिए । श्रीमती सङ्गीता कुमारी खड्काले उनको लुगा फेरिदिन खोज्दै थिइन् ।

आज भाइटिका । अनि भाइलाई टिका लगाइदिन सानेपाबाट उनकी दिदी भगवती बस्नेत अस्पताल आउँदै थिइन् । बिहानको १० बजे आसपास नै दिदी कतिबेला आउँछिन् भनेर दिपेन्द्र श्रीमतीलाई सोधिरहेकी थिइन् । ‘केहीबेरमा आइहाल्नु हुन्छ होला’ उनी श्रीमती जवाफ दिइरहेकी थिइन् ।

उनीहरू रहेको त्यस तलामा अन्य बिरामीहरू पनि थिए । त्यहाँ उत्सव मनाइए अरूहरूलाई असर पर्ने थियो । अनि उनीहरू छतमा बनाइएको बगैंचातिर लागेका थिए । ११ बज्दासम्म दिदी भगवती पनि आइसकेकी थिइन् ।

उनले जेब्रा झोलामा भाइटिका लगाइदिन आवश्यक पर्ने सामानहरू लिएर आएकी थिइन् । मिडिया छेवैमा भएकाे होला, उनी त्यति खुलिरहेकी थिइनन् । ‘राम्रो देखिँदैन होला’ भनेर हामीलाई भिडियो नखिच्न आग्रह गर्दै थिइन् । बुहारी सङ्गीताले ‘केही हुन्न हौ दिदी, अब अस्पतालमा यस्तै त हुन्छ’ भन्दै फकाइरहेकी थिइन् ।

कुरा गर्दै भगवतीले दुई वटा म्याटलाई जोडिन् । त्यसमा आवश्यक सामग्री राख्दै गइन् । चोखो तेल, टिकाको थाली, रङ, धुप, ओखर, माला, फलफूल र भाइ मसला आदि ।

उनलाई त्यो काम गर्न भतिज असिमले दिइरहेकी थिए । ४ वर्ष पुग्दै गरेको उनलाई खेल्न र जिस्कन नै रमाइलो लागिरहेको भान हुन्थ्यो ।

यसैबीच वैजनी रङको सर्ट र फितलो खैरो पाइन्टमा सजिएका दिपेन्द्रलाई रातो रङको कुर्ता लगाएकी श्रीमतीले आडस दिँदै म्याटमा बसाइन् । दिपेन्द्र एक्लै उभिन सक्दैन थिए । उनको शरीरको बायाँ हात र खुट्टा चल्दैन ।

खुट्टालाई लम्पसार पारेर दिपेन्द्र श्रीमतीको अङ्गालोमा अडेस लागिरहेका थिए । कसैले लगिजान्छ झैं गरी उनले पनि निष्फ्रिकी तर सचेत भएर श्रीमानलाई आड दिइरहेकी थिइन् ।

सबै सामान तयार पारिसकेपछि सुरुमा भगवतीले भाइलाई तीन फन्को मारिन् । तेलको कचौंरा लिएर फेरि तीन फन्को मारिन् । त्यहाँ नक्कली झार बिछ्याइएकाले तेल चुहाउन मिल्दैन थियो । चुहाए जस्तो गरिन् ।

त्यसपछि भाइको अघिल्तिर बसिन् । तर सिलसिलाबद्ध रङ लगाउन झुक्किरहेकी थिइन् । सबैभन्दा सुरुमा कुन रङ लगाउँ भनेर बुहारीलाई थिइन् ।

उत्तर पाएपछि उनले भाइको निधारमा सुरुमा सेतो रङ लगाइन् । त्यसपछि क्रमिक रूपमा पहेंलो, बैजनी, हरियो, निलो र रातो रङ लगाइदिन् । माला लगाइदिइन् ।
र, आसिक दिइन्– जस्तो भए नि बलियो हुनु पर्छ ।

उनले योभन्दा थप केही भनिनन् । सायद उनलाई परिस्थितिले थप बोल्न दिएन ।

निदारमा टिका लगाइसकेपछि दिपेन्द्रले सकीनसकी दिदीलाई ढोगिदिए । र, उनले पनि दिदीको निदारमा उसै गरी टिका लगाइदिए ।

टिका लगाइदिँदै गर्दा दिदीभाइ केही बोलेनन् । उसै त दिपेन्द्र अरू बेला पनि कम बोल्थे । त्यहाँ झन् केही बोलेनन् ।

उनलाई राम्ररी टिका लगाइदिन शरीर र मन दुवैले गाह्रो बनाइरहेको थियो । बेलाबेला श्रीमतीले आड दिइरहेकी थिइन् । तर मन बलियो बनाउन सकेनन् ।

थाहै नपाइ उसको आँखा रसायो ।

दिदीलाई टिका लगाइसक्दासम्म उनले दिदीलाई सोझो हेर्न सकेनन् । दिदीले आँसु खसालिनन् ।

केही बेरको सन्नाटापछि दायाँ गोजीबाट केही पैसा झिकेर उनले दिदीको हातमा थमाइदिन् ।

त्यसपछि भगवतीले बुहारी र असिमलाई पनि टिको लगाइदिइन् ।

००० ००० ०००

रहर त आफ्नै कोठामा बसेर उनीहरूलाई भाइटिका मनाउने छ । तर अस्पतालको बसाईं सकिएन । बाहिर जान सक्ने अवस्था छैन । तिहार आइहाल्यो । अनि उनीहरूले भाइटिका अस्पतालमा नै मनाउने निर्णय गरे ।

अहिले दिपेन्द्रको दाइ रबिन बस्नेत विदेशमा छन् । बुबा चार दिन अघि मात्रै गाउँ फर्किए । पालोमा आमा आइन् ।

सामान्य वर्षहरूमा उनीहरूले कहिले काठमाडौ त कहिले गाउँमा टिका लगाउँदै आइरहेका थिए । यसपटक अस्पतालमा ।

टिका लगाइदिसकेपछि दिदी भगवतीले ‘धन्न भाइटिका मनाउन पाइयो’ भनेर हामीलाई सुनाइन् । अर्को पटक आफ्नै घरमा लगाउने पनि बताइन् ।

त्यहाँबाट हामी बिदाइ हुँदै गर्दा दिपेन्द्र उसैगरी श्रीमतीको आडमा थिए । आमा उनीहरूको छेवैमा थिइन् । छोरो केही शान्त देखिएको थियो । अनि भगवतीले सेल्फी खिच्न थालिसकेकी थिइन् ।

यसबेलासम्म मालश्री धुन बज्न बन्द भइसकेको थियो ।

तस्विर: आर्यन धिमाल

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?