
News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनका घाइतेहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आन्दोलनमा गोली प्रहार गर्नेको कारबाही, संविधान सुधार, भ्रष्टाचार छानबिन लगायत ५ बुँदे माग राखेका छन्।
- प्रधानमन्त्री कार्कीले सरकारले म्यान्डेटअनुसार काम गर्ने प्रतिबद्धता जनाउँदै जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने बताएकी छन्।
- उनले भ्रष्टाचार छानबिन तीव्र गतिमा भइरहेको र तोकिएको समयमा चुनाव हुने स्पष्ट पारेकी छन्।
४ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका घाइतेले प्रधानमन्त्री सुशीला कार्कीसँग ५ बुँदे माग राखेका छन् ।
प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगेका घाइतेले ५ बुँदे माग राखेका हुन् ।
आन्दोलनमा गोली प्रहार गर्नेलाई कारबाही, संविधानको सुधार, आन्दोलनको संरक्षण, भ्रष्टाचारको छानबिन लगायतको माग राखेको प्रधानमन्त्री कार्कीलाई भेट्न पुगेका रुपिन खड्काले बताए ।
‘हामीले ५ बुँदे माग सम्बोधन गर्न भनेका छौं,’ उनले भने ।
उनका अनुसार घाइतेहरूले माग पूरा गर्न सरकारलाई अल्टिमेट दिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने बताएकी छन् ।
जेनजी आन्दोलनका घाइतेहरूलाई प्रधानमन्त्री कार्कीले सरकारले पाएको म्यान्डेट अनुसार काम गर्ने प्रतिबद्धता जनाइन् ।
‘हामी जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौं । प्रक्रियासम्मत ढंगले कानुनी रुपमा तल नपर्ने गरी हामी काम गर्छौं। हामीलाई दिइएको म्यान्डेटअनुसार चल्छौँ,’ उनले भनिन् ।
तोकिएको समयमै चुनाव हुने बताउँदै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारको छानबिन गरिने बताइन् । राज्यका निकायहरूले तीव्र गतिमा भ्रष्टाचारको छानबिन गरिरहेको उनको दाबी छ ।
‘चुनाव पनि हुन्छ, भ्रष्टाचारको अनुसन्धान पनि हुन्छ । राज्यका स्थापित निकायले तीव्र गतिका साथ भ्रष्टाचारको छानबिन गरिरहेका छन् । आआफ्नो ठाउँबाट काम भइरहेको छ,’ प्रधानमन्त्री कार्कीले भनिन् ।
उनले अगाडि भनिन्, ‘ तपाईंहरू बोल्न नछाड्नुहोस् । हामीलाई दबाब दिन पनि नछाड्नुहोस् । हेर्नुहोला, अब नतिजा आउँछ । छानबिनमा परेपछि बाहिर कसले केके बोलिरहेका छन्, सुन्नुभएकै होला ।’
प्रतिक्रिया 4