Comments Add Comment

‘तीन दिन पार्टीका लागि, चार दिन रोटीका लागि !’

‘भाइ प्रवक्ता हुनुपर्छ’ भनेर देउवाले पहिल्यै वचन दिनुभएको थियो

१ असार, काठमाडौं । विश्वप्रकाश शर्मा नेपाली कांग्रेसका प्रवक्ता भएयता पुरातन ढर्रामा चलिरहेको पार्टीको प्रचार शैली निकै फेरिएको छ । कुनै पनि विषयमा तत्काल धारणा बनाउन सक्ने तथा स्पष्ट र तार्किक ढंगले बोल्न सक्ने क्षमता भएकाले शर्मा प्रवक्ताको भूमिकामा खुबै जमेका छन् ।

तथापि कतिपयले चाहिँ झिनामसिना कुराहरुमा पनि प्रतिक्रिया जनाउँदै हिँड्ने र सामाजिक सञ्जालमा लोकप्रियताका लागि सस्ता कुराहरु गरेर शर्माले आफूलाई हलुंगो बनाएको टिप्पणी पनि गर्छन् । जे भए पनि उनी प्रमुख प्रतिपक्षी कांग्रेसको ‘पोष्टर ब्वाई’ झैं बनेका छन् । उनलाई पार्टीभित्र ‘सानो वीपी’ पनि भन्ने गरिन्छ ।

पार्टी सभापति शेरबहादुर देउवा मिडियासँग खासै नबोल्ने र बोलिहाले पनि प्रष्ट नबुझिने भएकाले मिडियाकर्मी शर्माकौ पछि लाग्न बाध्य छन् ।

त्यसो त प्रवक्ता नियुक्त हुनुभन्दा अगाडि पनि विश्वप्रकाश चर्चित नै थिए । कलात्मक भाषणशैलीका कारणले उनका प्रशंसक पार्टीभित्र मात्रै नभएर बाहिर पनि छन् । यद्यपि, संसदीय चुनावमा भने उनले झापामा लगातार दुईपटक पराजय व्यहोरे । चुनाव जित्न नसकेकाले अहिलेसम्म उनले सांसद वा मन्त्री पदको स्वाद चाख्न पाएका छैनन् ।

यिनै युवा नेता शर्मा कांग्रेस केन्द्रीय कार्यालयमा अनलाइनखबरसँग करिब दुई घन्टा गफिए । हामीले उनीसँग व्यक्तिगत तथा राजनीतिक विषयवस्तु खोतल्यौं ।

डेढ वर्षदेखि कांग्रेस प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्छ । अरुले गर्ने मूल्यांकन आफ्नो ठाउँमा होला । तपाईं स्वयंले चैं कस्तो महसुस गरिरहनुभएको छ ?

मैले सजिलो ठानेर यो जिम्मेवारी लिएको थिइनँ । अप्ठेरो विषयको पनि अभ्यास गर्ने र आफ्नो क्षमतावृद्धि गर्दै पार्टीलाई योगदान पुर्‍याउने भन्ने कोणबाट नै हेरेको हुँ । मैले जिम्मेवारी लिँदा कांग्रेस प्रतिकुल अवस्थामा थियो । प्रतिकुलताको बीचबाटै अनुकुलता सिर्जना गर्ने प्रयास गर्दै इमान्दारितापूर्वक आफ्नो जिम्मेवारी निभाइरहेको छु ।

कस्तो प्रतिकुलताको कुरा गर्नुभएको ?

शान्ति बहाल गर्न, संविधान जारी गर्न र चुनाव गराउन सफल भएको कांग्रेस पार्टी जनमतको कसीमा भने खरो उत्रिन सकेन । भर्खर चुनाव हारेको अवस्था थियो । एउटा फुटबल म्याचमा खेल हारेर मैदानबाहिर निस्केको टिमभित्र कस्तो माहोल हुन्छ ? स्ट्राइकरले किपरलाई भन्छ, किन बल छोडिस, समातेको भए जित्ने थियौं । किपरले स्ट्राइकरलाई भन्छ, तैंले गोल मिस गर्दा हारियो । त्यस्तै खालको माहोल कांग्रेसभित्र थियो ।

त्योबेलामा फेरि टिम स्पिरिटलाई जगाएर साझा भूमिका निर्वाह गर्नु प्रवक्ताका लागि चनौतिपूर्ण हुने नै भयो । आलोचनालाई विश्वासमा बदल्ने चुनौति थियो । राजनीतिमा चुनौतिलाई सामना गर्नु नै पर्छ, जिम्मेवारी हिच्किचाउनुहुँदैन भन्ने मेरो सोच हो ।

पत्रकारहरुबाट अनेकथरी प्रश्नको सामना गर्नुपर्ने, कहिलेकाहीँ पार्टीका अलोकप्रिय निर्णयहरुको पनि बचाऊ गर्नुपर्ने अवस्थामा कत्तिको दवाब महसुस हुन्छ ?

मलाई प्रवक्ता भएर जाँदा केही साथीहरुले भन्नुहुन्थ्यो, प्रवक्ता भनेको खासमा ‘प्रतिवन्धित वक्ता’ हो है । सतर्क भएर काम गर्नू । मैले एक–दुईवटा इस्यूमा पार्टीको संस्थागत निर्णयभन्दा फरकरुपमा पनि बोलेँ । बोल्नुपर्ने भयो । त्यस्तोबेलामा अलिकति दवाब त महसुस भइहाल्छ ।

प्रवक्ताले नै पार्टी निर्णयविपरीत बोल्न मिल्छ र ?

कांग्रेसको सौन्दर्य के छ भने यहाँ फरक मतलाई पनि अवहेलना र तिरस्कार गरिँदैन । सबैका विचारलाई स्थान दिएर अगाडि बढ्ने परम्परा भएकाले प्रवक्तालाई अलिकति सजिलो पनि छ । त्यसको अर्थ म सधैं पार्टी निर्णयलाई चुनौति दिएर बोल्छु भन्ने होइन । त्यस्तो अपवादमा हुन्छ ।

एउटा व्यक्ति विश्वप्रकाश र कांग्रेस प्रवक्ता अलग–अलग हुन् । विश्वप्रकाशले बोल्दा आवेग राख्यो भने प्रवक्ताले विवेक राख्नुपर्छ । विश्वप्रकाश हतारिन्छ भने प्रवक्ताले संयमित बन्नुपर्छ । विश्वप्रकाशले कम अध्ययन गरेर बोल्यो भने प्रवक्ताले अलि अध्ययन गरेर मात्र बोल्नुपर्छ । किनभने, प्रवक्ता विश्वप्रकाशले बोलेको कुरामा सिंगो पार्टी जिम्मेवार हुन्छ ।

तपाईं कतिबेला व्यक्ति विश्वप्रकाश र कतिबेला कांग्रेस प्रवक्ताका रुपमा आफूलाई पाउनुहुन्छ ?

यदि पार्टीको आन्तरिक वैठक-छलफल छ भने त्यहाँ म कांग्रेसको केन्द्रीय सदस्य मात्रै हुन्छु । त्यस्तोमा व्यक्ति विश्वप्रकाश जागृत हुन्छ । अनि, बाहिर सार्वजनकि रुपमा आफ्नो भनाइ राख्दाचाहिँ विश्वप्रकाश गौण हुन्छ र प्रवक्ता जागृत हुन्छ ।

प्रवक्ताले हतारिएर बोल्न मिल्दैन भन्नुभयो । तर, तपाईंले कतिपय सन्दर्भमा हतारिएर प्रक्रिया जनाउँदा चिप्लिएका घटना पनि छन् । एउटा घटना सम्झनुपर्दा जब सिके राउत सरकारसित सम्झौता गरेर राजनीतिको मूलधारमा आए, त्यतिबेला तपाईंले करिब एक घन्टाको अन्तरालमा दुईवटा ट्विट लेख्नुभयो । पहिलो ट्विटमा सम्झौताको स्वागत गर्नुभयो र दोस्रोमा आलोचना गर्नुभयो । यसरी एक घन्टाभित्रै यूटर्न लिनुपर्ने अवस्था ‘हतार’कै उपज होइन ? 

ती दुवै ट्विट हतारिएर नभई सोची सम्झी गरेको हुँ । एक घन्टा होइन, २०-३० मिनेटको फरकमा होला । त्यस दिन म झापाबाट साथीको गाडीमा बाग्लुङतर्फ जाँदै थिएँ । पथलैया पुग्दा अनलाइनमा सिके राउतको समाचार पढेँ । सरसर्ती ११ बुदेँ सम्झौता पत्र पढ्दा बुँदा १ र बुँदा २ महत्वपूर्ण थिए । पहिलो बुँदालाई तपाईं विरोध गर्न सक्नुहुन्नथ्यो, किनभने त्यसमा पृथकतावादी आन्दोलन त्यागेर नेपालको संविधान र सार्वभौमिकता स्वीकार गर्ने कुरा थियो । दोस्रो बुँदा तपाईं समर्थन गर्न सक्नुहुन्नथ्यो, किनकि त्यसमा ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ बाट समस्या हल गर्ने भनिएको थियो  ।

अब एउटै ट्विटमा सिंगै लेख, निवन्ध वा विज्ञप्ति त अटाउँदैन । त्यतिबेला कतिपय नेताले पनि हतारिएर गरिस् भन्नुभएको हो । तर, पछि कार्यसमितिको निर्णय पनि मेरो ट्विटकै स्पिरिटमा आयो ।

यस्ता आकस्मिक र महत्वपूर्ण घटना हुँदा पार्टी सभापतिलाई सोधेर मात्रै टिप्पणी लेख्नुहुन्छ कि आफूखुशी ?

अधिकांश विषयमा पार्टीको स्पिरिटको जगमा उभिएर धारणा बनाउने र सार्वजनिक गर्ने काम हुन्छ । कुनै विषय चर्चामा आउँदै गर्दा पार्टीको कार्यसमिति वैठक बसेर वा सभापतिज्यूलाई सोधेर मात्र प्रतिक्रिया दिने कुरा व्यवहारिक र प्रभावकारी हुँदैन । प्रवक्ताले कहिलेकाहीँ तुरुन्तै धारणा बनाउनुपर्ने हुन्छ । आखिर विचार जनेरेट गर्ने पनि त प्रवक्ताको जिम्मेवारी हो । त्यसमा मैले हेर्ने भनेको पार्टीको विचारको जग र संविधानको स्पिरिट हो । समग्रतामा आधाभन्दा बढी आफैंले सोचविचार गरेर धारणा सार्वजनिक गर्नुपर्ने अवस्था आउँछ ।

अनि, कतिपय सन्दर्भमा विषयले पनि भूमिका खेल्छ । कुनै विषयमा सभापति भन्दा पनि विज्ञसँग सल्लाह गर्नुपर्ने अवस्था आउला । कुनै विषयमा अन्य नेताहरुको सुझाव बढि प्रभावकारी होला । त्यसैले सँधै सभापतिसित नै सोध्नुपर्छ भन्ने होइन ।

आफूलाई नसोधी महत्वपूर्ण विषयमा बाहिर बोल्दा सभापतिले चित्त दुखाउनुहुन्न ?

त्यसरी बोल्नुभन्दा अगाडि सभापतिको वा पार्टी नेतृत्वको यसमा कस्तो धारणा हुन सक्छ भन्ने खालको पूर्वानुमान पनि हुन्छ ।

विप्लव समूहलाई सरकारले प्रतिवन्ध लगाउँदा सभापति र तपाईंका विरोधाभाषपूर्ण अभिव्यक्ति आए । बिहान भाषण गर्दा सभापति देउवाले सरकारको निर्णय ठीक छ भन्नुभयो । दिउँसो तपाईंले पत्रकार सम्मेलन गरेर विरोध गर्नुभयो । यस्तोबेला कसको अभिव्यक्तिलाई आधिकारिक मान्ने ?

विप्लवको प्रकरणमा त्यस्तो भएको हो । तर, सभापति र प्रवक्ताले के बोल्नुभयो भन्ने एउटा विषय हुँदै गर्दा महत्वपूर्णचाहिँ अन्ततः कांग्रेसले के बोल्यो भन्ने हो । मैले जे बोलेँ, त्यो विपरीतमा त पार्टी गएन । सभापतिले सरल तरिकाले भनिदिनुभएको थियो, विप्लवले यत्रो हिंसा गरिरहेको छ, उदयपुरमा मिरा कटुवालको खुट्टा काट्नुपर्‍यो,  उदयपुरका नारायण कार्कीको खुट्टा काट्नुपरो । त्यसैले यसलाई प्रतिवन्ध गरौं सरकारले भन्छ भने विरोधका लागि विरोध किन गर्ने ? उहाँलाई लाग्यो होला । त्यसैले तत्कालिकरुपमा सकारात्मक प्रतिक्रिया दिनुभयो । पछि सच्याउनुभयो ।

तपाईंले पत्रकार सम्मेलन गर्दा सभापतिले यस्तो बोल्नुभएको छ भन्ने थाहा थिएन ?

थाहा थियो । सभापतिले बिराटनगरमा बिहान साढे ९ बजे बोल्नुभयो । मैले साढे ३ बजेतिर बोलेँ । थाहा भएरै बोलेको हुँ ।

सभापतिकै अभिव्यक्तिसित बाझिने गरी प्रवक्ताले बोल्दा पार्टी अनुशासन लाग्दैन ? 

विचारमा फरक मत नै कांग्रेसको सौन्दर्य हो । सभापति र प्रवक्ताको निरन्तर दुई धारणा आयो भने अनुशासनको प्रश्न उठ्ला । दुई तीन दिनपछि त पार्टीको स्पष्ट धारणा आइहाल्यो । सभापतिले बिराटनगरमा त्यो भन्नुभयो, पछि पाल्पामा गएर निषेध गर्नु हुँदैन र वार्ताले मिलाउनुपर्छ भन्नुभयो । जम्मा दुई दिन जति मात्रै अन्योल भएको हो ।

भनेपछि सभापतिलाई पनि आफ्नै लाइनमा ल्याउन सफल हुनुभयो होइन ?

आफ्नो लाइनमा ल्याएको भन्दिनँ । उहाँले जब साथीहरुबाट विश्लेषण सुन्नुभयो, त्यसपछि कन्भिन्स हुनुभयो होला । विगतमा तत्कालीन माओवादीलाई बल प्रयोगमार्फत नियन्त्रण गर्न खोज्दा सफल नभएको अनुभव उहाँसित पनि थियो ।

तपाईंलाई आलोचकहरुले प्रवक्ता होइन, खण्डनकार भन्ने गर्छन् । तपाईको आधा समय प्रधानमन्त्री ओलीको अभिव्यक्तिहरुको खण्डन गर्दैमा बित्छ भनेर विष्णु रिमालले भन्नुभएको छ । यति धेरै नकारात्मकता किन ?  

हामी सन्दर्भअनुसार आवश्यक हुने विषयमा प्रतिक्रिया दिन्छौं । म्याथको टिचरले म्याथै पढाउँछ नि । प्रवक्ताले पार्टीको नीति सिद्धान्तको वकालत गर्नुका साथै विपक्षीबाट प्रहार हुँदा बचाउ पनि गर्नुपर्छ । कांग्रेसको प्रवक्ता हुनुको नाताले त्यो मेरो जिम्मेवारी हो । कहिले कम्युनिष्ट पार्टीको नीति–सिद्धान्त र दस्तावेजलाई चिरेर बोल्नुपर्ने होला, कहिले सरकारको गलत क्रियाकलापमाथि बोल्नुपर्ने हुन्छ होला, कहिले प्रधानमन्त्रीको अभिव्यक्तिको खण्डन पनि गर्नुपर्छ होला ।

उहाँले हामीलाई प्रहार गरिरहँदा हामी चुपचाप सहेर बस्ने त ? प्रधानमन्त्रीज्यूले ‘कांग्रेस सकियो’ भनिरहँदा हामीले सकिएको छैन त भन्न पाइयो नि । हामीले उहाँले जस्तो तितो शब्द त प्रयोग गरेका छैनौं । प्रवक्ता भएपछि विश्वप्रकाशले प्रधानमन्त्रीको अभिव्यक्तिको खण्डन गरिरहँदा कहिल्यै तितो शब्द बोलेको भए देखाउनुस । प्रधानमन्त्रीले मर्यादामा बसेर बोल्नु पर्ने कि नपर्ने ? हामीले त उहाँजस्तो शालीनता नराखी बोलेका छैनौं । हामीले तार्किकरुपमा जवाफ दिएकै कुराले पनि उहाँहरुलाई अप्ठेरो लाग्छ भने बुझ्दा हुन्छ, यो उत्तर कोरिया होइन ।

शालीनता त तपाईंकै पार्टी सभापति शेरबहादुर देउवामा पनि कहाँ भेटिन्छ र ? प्रधानमन्त्री हुँदा पनि प्रश्न सोध्नेलाई गाली गरेको, थर्काएको भिडियो भाइरल भएकै हो ।

बीबीसीको कार्यक्रममा एउटा घटना भयो, अब त्यसैलाई लिएर कति उहाँलाई खेदिरहने ? एउटा कालखण्डको कुनै घटना सर्वकालसम्म आलोचनाको विषय बनिरहन सक्छ र ? म घटनाको होइन, प्रवृत्तिको कुरा गरिरहेको छु । एकाधपटक नेताहरुबाट त्यस्तो गल्ति हुन सक्छ । तर, यसले प्रवृत्तिको रुप लियो भने चिन्ताजनक हो ।

कामरेड केपी ओलीको हकमा प्रवृत्ति हो, भने सभापतिज्यूको हकमा घटना हो । सभापतिजयूले त्यस्तै खालको व्यवहार गरेको अर्को कुनै घटना भए देखाउनुस् ।

पत्रकारसित जंगिने र थर्काउने त बारम्बार गर्नुहुन्छ । हरेकजसो अन्तरवार्तामा एकपटक झोक्किनुभएकै हुन्छ । अस्ति भर्खरै पनि त एउटा भिडियो आएको थियो । त्यसमा उहाँलाई मेडिकल कलेजसम्वन्धी प्रश्न सोधिँदा पत्रकारमाथि कसरी खनिनुभयो, हेर्नुभएन ?

त्यो उहाँको शैली हो । हरेक नेताको शैली  र स्वाभाव आफ्नो–आफ्नो हुन्छ । गाली गरेको भनिरहँदा उहाँले कस्तो शब्द प्रयोग गर्नुभएको थियो, त्यसमा जाउँ न । उहाँले कुनै अपाच्य वा अपशब्द बोल्नुभएको थियो त ? बीबीसीको साझा सवालमा पनि उहाँले प्रश्न सोध्नेलाई ‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’ भन्नुभएको थियो, कुनै अपशब्द त प्रयोग गर्नुभएको थिएन । त्यसो भन्दै गर्दा म उहाँको शैली ठीक हो भनिरहेको छैन । सकभर झोंक नदेखाउनु राम्रो हो ।

अपशब्द त प्रधानमन्त्रीले पनि कहाँ बोल्नुभएको छ र ? विपक्षीलाई झर्रो शब्दमा कटाक्ष गर्ने पनि त उहाँको शैली नै होला ।

अरिंगाल, नन्दीभृंगी, थला पार्छु, जस्ता शब्द सम्मानजनक हुन् ? प्रधानमन्त्री जस्तो गरिमामय पदमा भएको व्यक्तिमा शिष्टता हुनुपर्छ कि पर्दैन ? हाम्रो सभापति जंगिएर बोल्दा पनि खराब शब्द प्रयोग गर्नुहुन्न । प्रधानमन्त्रीज्यू मीठो लवजमा पनि तीतो शब्द प्रयोग गर्नुहुन्छ । शब्दमार्फत उहाँको प्रवृत्ति झल्किन्छ ।

प्रधानमन्त्रीले विपक्षी पार्टी र नेताहरुलाई कटाक्ष गर्ने त अरु देशमा पनि सामान्य नै मानिन्छ । अस्ति भारतमा चुनाव हुँदा मोदी र राहुल गान्धीबीच व्यक्तिगत स्तरमै कडा आरोप प्रत्यारोप भयो । तर, त्यहाँ मोदीको आलोचना भएन । नेपालमा चैं प्रधानमन्त्रीले केही बोल्नासाथ किन ज्वारभाटा आउँछ ? 

विदेशका नेताहरुबाट हामीले राम्रो कुरा सिक्ने कि खराब कुरा सिक्ने त ? विदेशका नेताले नराम्रो बोल्नुभयो भनेर हामीले पनि त्यही सिको गर्ने ? हाम्रो प्रधानमन्त्रीले त अरु देशका नेताहरुका लागि आफू उदाहरण बनेर देखाउन सक्नुपर्छ । प्रधानमन्त्रीले अनावश्यक बोलिरहनुभन्दा चुपचाप काम गर्नु राम्रो हो । हामी इतिहासकै सुन्दर घडीमा छौं ।

प्रधानमन्त्रीसँग इतिहास रच्नका लागि सबै अनुकुलताहरु छन् । दुई तिहाईको सरकार छ । मित्रवत प्रतिपक्षी छ । संबिधान बनेको छ । यो अवसरलाई सदुपयोग गर्नुपर्छ । प्रतिपक्षी दलको प्रवक्ता भन्दै छ कि यो अवसरको सदुपयोग गर्नुस, हामी सहयोग गर्न तयार छौं ।

मुखले त भन्नुभयो, तर सरकार बनेयता अहिलेसम्म रचनात्मक प्रतिपक्षको रुपमा सरकारको कुनै काममा समर्थन जनाएको वा सहयोगी भूमिका खेलेको रेकर्ड छ ?

किन छैन ? अघिल्लो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा भइरहँदा कांग्रेसको फेसबुक पेजमा यो सकारात्मक छ भनेर लेखिएको अहिले पनि भेट्नुहुन्छ । तर, त्यो कार्यक्रमले पनि परिणाम त दिएन । ३ अर्ब १० करोड बजेट छुट्याइएको थियो, त्यसको १ प्रतिशत पनि खर्च हुन सकेको छैन । खर्च भएको पनि उत्पादनमूलक कार्यमा छैन । परिणाम नदिएपछि हामीले कसरी समर्थन गरिरहने ?

रचनात्मक प्रतिपक्ष भनेको आखिर के हो ? तपाईंले ४८ सालमा कांग्रेसको एकलौटी सरकार बनेपछिको डेढ वर्ष र यसपाली कम्युनिष्टको डेढ वर्षको अवधिमा प्रतिपक्षी भूमिकालाई तुलना गरेर हेर्नुस न ? त्यतिबेला कति बन्द–हड्ताल भएका थिए ? कति रेलिङ तोडिएका थिए ? अहिले केही भएको छ ? कांग्रेसले त कुनै बन्द हड्ताल गरेको छैन ।

सडकमा नआए पनि संसद त बारम्बार बन्द गराउनुभएको छ नि ।

संसदभित्र उभिएर फरक मत राख्नु संसदीय मर्यादाभन्दा बाहिरको कुरा होइन । संसदीय व्यवस्थामा यस्तो सामान्य हो । कुनै कुराको सुनुवाइ होस, देशको ध्यान तानियोस, सरकारलाई दवाव पुगोस भन्नका खातिर संसदभित्र कुर्सीबाट उभिएर असहमति राख्ने चलन सबैतिर छ । यदि संसदभित्र असंसदीय व्यवहार वा उद्दण्डता देखिएको छ भने त्यसलाई सच्याउन तयार छौं ।

कांग्रेस भन्नेबित्तिकै अहिले विश्वप्रकाश र गगन थापाको नाम मात्रै अगाडि आउँछ । सभापतिलाई समेत आफूहरुले ओझेलमा पारेको छु भन्ने कत्तिको खुशी लाग्छ ?

प्रवक्ता भनेको सञ्चारमाध्यममा आइरहनुपर्ने भएकाले हाइलाइट हुनु स्वभाविक नै हो । गगन थापाले पनि संसदभित्र र बाहिर प्रखर भूमिका निभाइरहँदा उहाँको चर्चा हुनु स्वभाविक हो ।

मिडियामा छाइरहने कला पनि त तपाईंहरु दुवैजनासित छ नि होइन ?

हामी मिडियामा आउनकै लागि कुनै कुरा बोल्ने लेख्ने गर्दैनौं । हामीमात्रै चर्चामा छौं भन्ने पनि होइन । अरु मिनेन्द्र रिजाल, बालकृष्णा खाँड, मीन विश्वकर्मालगायतले संसदमा प्रखर भूमिका निभाइरहनुभएको छ । कम बेसीको कुरा मात्रै हो ।

पार्टीभित्र र बाहिर गगन थापा र तपाईंलाई तुलना गर्ने र प्रतिस्पर्धीको रुपमा हेर्ने गरिएको पाइन्छ । तपाईंहरु आफैंमा चाहिँ प्रतिस्पर्धाको भावना कत्तिको छ ? 

त्यस्तो चर्चा सुन्छु म पनि । तपाईंलाई बताइहाल्छु, आज बिहान पनि हामी दुई भाइले एउटा अनलाइनको समाचार सँगै बसेर पढ्यौं र हाँस्यौं । गगन बिहान ९ देखि साढे १० बजेसम्म केन्द्रीय कार्यालयमा थिए । म पत्रकार सम्मेलनका लागि ९ बजे नै आएको थिएँ । हामीबीच केही विषयमा छलफल भयो । हाम्रो सम्वन्ध सधैं सुमधुर छ ।

के थियो तपाईंहरुलाई हँसाउने समाचार ?

‘हेर्नुस, गगन र विश्वप्रकाशले कसरी एक–अर्काको विरुद्ध धावा बोले’ भनेर लेखिएको थियो ।

केही त भएको थियो होला नि । हावा नचली पात हल्लिन्छ र ?

होला, नेतृत्व परिवर्तनको सन्दर्भमा हामीले फरक–फरक विचार अभिव्यक्त गर्‍यौं होला । उहाँले तत्काल नेतृत्व परिवर्तनको वकालत गर्नुभयो होला । मैले नेतृत्व परिवर्तन महाधिवेशनले मात्र गर्नुपर्छ भनेँ होला । यसैलाई लिएर एकअर्कामाथि खनिएको भनेर समाचार लेख्नु त अतिरञ्जना भयो नि । गगन मेरा समकालिन हुन् । हामी दुवैमा एकअर्काप्रति कुनै तुष छैन ।

तपाईं उहाँभन्दा सिनियर होइन र ?

उमेरले ५-७ वर्षको फरक हो । हामीले सँगै विद्यार्थी राजनीति गर्‍यौं । म नेविसंघको अध्यक्ष हुँदा उनी मध्यमाञ्चल उपाध्यक्ष थिए । त्यतिबेलाको कार्यसमितिमा ५ उपाध्यक्षमध्ये गगन सबैभन्दा अगाडि गए । अरु चारजना पनि होनाहार थिए । उनीहरु सबैमा म गर्व गर्छु । गगनलाई पहिल्यैदेखि मैले उदाउँदो प्रतिभाका रुपमा हेरेँ । त्रिचन्द्र क्याम्पसमा नेविसंघको सभापतिमा उम्मेदवार बनाउँदा हस्ताक्षर गर्ने मध्ये एक म पनि थिएँ ।

तपाईं लगातार चुनाव हारिरहँदा गगन दुईपटक सांसद र एकपटक मन्त्रीसमेत बनिसक्नुभयो । आफ्नो मातहतमा काम गरेको, अहिले आफूलाई ओभरटेक गरेको जस्तो लाग्दैन ?

त्यसो भए के मलाई ओभरटेक नगर्ने भनेर उहाँले जानीजानी चुनाव हार्नुपर्थ्यो ? झापाबाट मैले चुनाव हारेको समाचार आइरहँदा उहाँले पनि काठमाडौंमा जित्दाजित्दै हार स्वीकार गर्नुपर्थ्यो ? चुनावअघि मैले गगनका लागि मत मागेको छु । गगनले मेरा लागि मत मागेका छन् । झापामा मेरो सचिवालय र काठमाडौंमा मेरो सचिवालयले एकै समयमा भिडियो सन्देश जारी गरेर एक–अर्काका लागि भोट मागेका हौं कि होइनौं ?

म आफ्नो प्रतिस्पर्धी आफैंलाई मान्छु । म एक वर्ष अगाडि कहाँ थिएँ र अहिले कहाँ छु भनेर दाँज्छु । अरुसित दाँजेर समय खेर फाल्दिनँ । गगन भोलि कांग्रेसलाई र देशलाई नै नेतृत्व गर्न सक्ने नेता हुन् । हामी दुवैले एक–अर्कालाई स्वीकारेर नै अगाडि बढिरहेका छौं । उनको प्रगतिमा मलाई गर्व छ । यतिसम्म कि मलाई भोलि यदि म रहिँन भने पनि मेरो पुस्ताका थुप्रै योग्य साथी अगाडि बढिरहेका छन् भनेर ढुक्क लाग्छ ।

भन्नाले ?

मृत्यु कसले देखेको छ र ? कसले ग्यारेन्टी गर्न सक्छ, अबको १५ वर्षसम्म विश्वप्रकाश बाँचिरहन्छ भनेर ? रवीन्द्र अधिकारी मेरा परम भित्र थिए । कम्युनिष्ट पार्टीमा मेरो तँ, तिमी चल्ने  केही घनिष्ठ साथी मध्ये थिए उनी । यति चाँडै जालान् भन्ने सोचिएको थियो र ? यदि कुनै घटना भएर म पनि अकश्मात गएँ भने मलाई यो कुरामा ढुक्क हुनेछ कि मेरो पुस्ताका भरोसायोग्य साथीहरु बढिरहेका छन् है ।

अलि बढी भावुक हुनुभयो कि ? 

कतिपय कुराहरुलाई आध्यात्मिक कोणबाट पनि सोच्नुपर्छ । जबसम्म हामी रहन्छौं, समाजको रुपान्तरणका लागि क्रियाशील हुन्छौं । मैले बेलाबेला भन्छु– मान्छे जिउँदो रहँदासम्म मात्रै समाजको सेवा गर्ने हो । मरेपछि सकियो । यदि भेडा भएको भए मरेपछि स्वीटर बनेर अरुलाई न्यानो दिन सक्थ्यो । भैंसी भएको भए कसैको जुत्ता बनेर सेवा दिन सक्थ्यो । बाख्री भएको भए मादलको छाला बनेर घिन्ताङघिन्ताङ बज्न सक्थ्यो । हामी मानिसको शरीर त मरेपछि खरानी हुने हो । हामीले छोडेको कीर्ति मात्रै बाँकी रहन्छन् ।

विश्वप्रकाश वा गगनले कांग्रेसको नेतृत्व गरेको हेर्न चाहने कांग्रेसभित्र र बाहिर पनि थुप्रै छन् । तपार्इंले आगामी महाधिवेशनलाई लिएर के सोच्नुभएको छ ?

मैले बोलेको कुरा जस्ताको तस्तै राख्नुहोला । व्यक्तिका रुपमा विश्वप्रकाशले बोल्न सक्छ तर, प्रवक्ताका रुपमा सार्वजनिकरुपमा बोल्दै गर्दा कुन विषयमा कहिले बोल्ने भन्ने प्रश्न आउँछ ।

कसैको न्वारनमा पुगेर ‘ह्यापि बर्थ डे’ भन्यो भने मानिसहरु हाँस्छन् नि । अहिले धेरै साथीहरु आफूलाई सभापतिको उम्मेदबार भन्दै हिँड्नुभएको छ । मैले उहाँहरुलाई भनेको छु पहिले सभापति को बन्नेभन्दा संगठन कस्तो बनाउने भन्ने सोच्नुस् । मृत कांग्रेसको होइन, जागृत कांग्रेसको नेता बन्नुस । ठीक समयमा त्यो विषय उठाउनु उपयुक्त हुन्छ ।

तर, पनि केही योजना त बनाउनुभएको होला ?

मलाई जिल्लामा जाँदा धेरै साथीहरुले यो प्रश्न सोध्नुहुन्छ  । तपाईं महामन्त्रीको उम्मेदवार हो कि सभापतिको कि के हो भन्नुहुन्छ ? म एउटै वाक्यमा जवाफ दिन्छु कि विश्वप्रकाश शर्मा कांग्रेसको प्रवक्ताबाटै मात्रै विदा हुने गरी चाहिँ राजनीतिमा आएको होइन ।

त्यसोभए आगामी महाधिवेशनमा कुन पदमा लड्ने ? 

मैले अघि उत्तर दिइसकें । समय भएको छैन बोल्ने । देशभरका साथीभाइको अपेक्षा के छ बुझ्नुपर्‍यो । सभापति वा महामन्त्रीको दौड सुरु नै भएको छैन । विवाहको मिति टुंगो नभई, कन्या फेला नपरिकन दौरा–सुरुवाल सिलाउन कुद्नु ठीक हुँदैन । अहिले मैले आफ्नो आकांक्षा व्यक्त गरेँ र अन्य उम्मेदवारहरुमाथि टिप्पणी गरेँ भने तपाईंको सबै अन्तरवार्ताको केन्द्रविन्दु यही बन्न पुग्छ र अरु सबै कुरा गौण बनिदिन्छन् । यो भनाइलाई पनि जस्ताको तस्तै राखिदिनुहोला ।

तपाईंको विचारमा कांग्रेसको नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुनुपर्छ ?

म त नेतृत्व वा पदाधिकारीमा युवाको अधीकता हुने भन्दा पनि सिंगो कांग्रेसलाई तन्नेरी बनाउने सोच राख्छु । व्यक्ति युवा हुनेभन्दा सोच युवा हुनुपर्छ ।

कांग्रेसलाई पार्टीभन्दा पनि गुटहरुको महासंघको रुपमा हेर्ने गरिन्छ । तपाईं अहिले कुन गुटमा ?

पार्टीको प्रवक्ता कुनै गुटको हुँदैन । प्रवक्ताले त पार्टीभित्रका सबै मतहरुलाई समेटेर सबैको साझा बन्न सक्नुपर्छ । म त्यही प्रयत्न गरिरहेको छु । पार्टीभित्रका फरक समुहहरु भनेका फरक बोटमा फुलेका फूलहरु हुन् । हरेक फूलहरुसँग बेग्लै बास्ना हुन्छ । यी फूलहरुलाई गाँस्नका लागि जुन धागो प्रयोग हुन्छ, त्यसमा त बास्ना हुँदैन । प्रवक्ता भनेको पनि धागोजस्तै हो, यसमा कुनै गुटको बास्ना हुँदैन ।

पहिले शशांक कोइरालाको गुटमा हुनुहुन्थ्यो र प्रवक्ता पद पाएपछि देउवा गुटमा बसाईं सर्नुभयो भन्ने गरिन्छ नि ?

म कांग्रेसको कार्यकर्ताका रुपमा सबै नेतासँग उत्तिकै नजिक रहेँ । आफूलाई कुनै अमूक नेताको निकट राखेर हेरिनँ ।

देउवाले तपाईंलाई प्रवक्ताको भूमिकामा कसरी विश्वास गर्नुभयो, जबकि उहाँ पार्टीभित्रका प्रतिपक्षीप्रति त्यति उदार मानिनुहुन्न ।

म उहाँको प्रतिपक्षी थिइनँ । उहाँलाई सभापति बनाउन मत हालेको हुँ । देउवाले प्रवक्ता बनाएपछि अचानक गुट बदलेको होइन । प्रवक्ता बन्नुअघि विरोध र प्रवक्ता बनेपछि जयजयकार गरेर हिँडेको पनि छैन ।

मैले देउवालाई सभापति बनाउन लाग्दै गर्दा उहाँले ‘भोलि भाइले प्रवक्ता भएर काम गर्नुपर्छ’ भन्नु भएको  थियो । बरु दुई वर्ष किन ढिला गर्नुभयो भन्ने पो मेरो गुनासो थियो त । निर्वाचन अगाडि नै म प्रवक्ता हुनुपर्थ्यो ।

चुनाव अगाडि त प्रवक्तामा गगन थापाको नाम चर्चामा थियो । उहाँको नाममा चिठी पनि बनिसकेको तर पछि कार्यान्वयन नभएको कुरा कति सत्य हो ?

त्यो मैले पनि सुनेको हुँ । एकिन कुरा थाहा भएन । प्रवक्ता कसलाई बनाउने भन्ने सभापतिको कुरा हो ।

यो विषयलाई लिएर गगनसित तपाईंको मनमुटाब भएन ?

अहँ । त्यस्तो केही पनि भएन । गगन प्रवक्ता भएको भए पनि मेरो कुनै गुनासो हुन्नथ्यो । सायद उनले मैले भन्दा राम्रो गर्न सक्थे ।

त्यतिबेला कांग्रेसलाई रुपान्तरण गर्ने भन्दै तपाईं र गगनसहित सात भाइ युवाहरुको एउटा नयाँ गुट बनेको थियो । तर, तपाईं प्रवक्ताको पद खान दौडिएपछि उक्त गठवन्धन बिथोलियो र अरुले तपाईंबाट धोका पाएको महसुस गरे भन्ने छ नि ?

हा..हा.. । यो कुरा पहिलोचोटि तपाईंबाट सुन्दैछु । एकातर्फ कांग्रेसभित्र गुट धेरै भए भन्ने कुरा आउँछ । अर्कोतर्फ सात भाइ एकै ठाउँ टाँस्सिएर बस्नुपथ्र्यो भनिन्छ । त्यो सात भाइको जुन साझेदारी थियो, दीर्घकालका लागि थिएन । त्यसलाई सातबाट ८ पनि बनाउन नहुने वा ६ मा झार्न पनि नहुनेखालको होइन ।

तपाईं प्रवक्ता भएपछि त्यो समूह त बिथोलियो नि ?

गलत हो । खासमा त्यस सोचको प्रस्तावक नै म थिएँ । मैले चन्द्र भण्डारीसित पहिले यो प्रस्ताव राखेपछि २ बाट ३ हुँदै सात जना भएका हौं ।

वीपीले ४१ वर्ष अगाडिको पुस १६ गते मेलमिलापको नीति ल्याउनुभयो । त्यही स्पिरिटमा उभिएर हामीले पुस १६ गते नै हामीले विज्ञप्ति निकाल्यौं । सात जनाको विज्ञप्तिमा के थियो हेरौं । ‘विगतका अप्रिय कुराहरु बिर्सिएर नविन ढंगले अगाडि बढौं । हामी हारेका छौं, तर थाकेका छैनौं । ढलेका हौंला, तर मरेका छैनौं । हामी छौं, नविन ढंगले आउँछौं । म बदलिन्छु, हामी बदलिन्छौं, हाम्रो देश बदल्छौं ।’ विज्ञप्तिको सार यही थियो । यही गुटलाई सदासर्वदा कायम राखेर सबै चिजमा भाग खोज्ने खालको अवधारणा थिएन । आज जागरण अभियानसम्म आइरहँदा त्यतिबेला हामीले अघि सारेको नविन सोचको रिफ्लेक्सन यसमा केही न केही छ भन्ने लाग्छ ।

तपाईंको अन्तरवार्ता लिन आउनुअघि इन्टरनेटमा तपाईंको प्रोफाइल चेक गरेको थिएँ । के भेटेँ भने तपाईंले ०४३ सालयता पार्टीभित्र र बाहिर ५ वटा चुनाव हारिसक्नुभएको रहेछ । ०४३ सालमा मेची क्याम्पसको स्ववियू सदस्य हार्नुभयो । ०४५ सालमा सहसचिवमा हार्नुभयो । झापाको कांग्रेस सभापतिमा हार्नुभयो । पछिल्ला दुईवटा संसदीय चुनावमा हार्नुभयो । लगातारको पराजयलाई विश्लेषण गर्दा तपाईं आफूलाई अभागी मान्नुहुन्छ कि अलोकप्रिय ?

मैले अहिलेसम्म ६÷७ वटा चुनाव लडेकोमा केही हारेँ होला । तर, सबै हारेको छैन । नेविसंघको केन्द्रीय सदस्य र अध्यक्ष जितेकै हुँ । पछिल्लो दुई संसदीय चुनावमा लगातार पराजय व्यहोरेको हुँ । तर, म आफूलाई अभागी भन्न चाहन्न । चुनावमा धेरै फ्याक्टरहरुले काम गर्छन् । मेरो क्षेत्रमा कांग्रेस बलियो थियो, तर एमाले र माओवादी मिलेपछि हामी पछि धकेलियौं । दोस्रो र तेस्रो मिलेपछि पहिलोलाई गाह्रो त भइहाल्छ ।

म आफूले पाएको मतबाट खुशी छु । समानुपातिकमा भन्दा प्रत्यक्षमा ९ हजार बढी भोट आएको छ, तीन हजार चानचुनले हारेको हुँ । झापामा सबैभन्दा कम मतान्तरले हारेको मैले नै हो । हारलाई स्वभाविकरुपमा लिएको छु । जनताले अझै केही समय पार्टीमा नै भूमिका निर्वाह गर भनेर अह्राएको अर्थमा बुझेको छु । फेरि, चुनावी जितहारले मात्रै समग्र लोकप्रियतालाई प्रतिविम्वित नगर्न सक्छ । यो एउटा महत्वपूर्ण सूचक त हो, तर सबैथोक होइन ।

त्यसो त तपाईं केपी ओलीसितै चुनाव लड्न तम्सिनुभएको थियो क्यार । नलडेर ठीक गरेंछु भन्ने लाग्छ ?

म आफूले त्यो कुरा उठाएको थिइनँ । केपी ओलीको क्षेत्रमा कसलाई चुनाव लडाउने भन्ने सन्दर्भमा मेरो नाम चर्चामा आएको हो ।

तपाईंले पार्टीभित्र खुलेरै ओलीसित लड्ने इच्छा व्यक्त गर्नुभएको होइन र ?

त्यसरी भन्दा पनि मैले पार्टीभित्र ‘आवश्यक परे त्यहाँ लड्न तयार छु’ भनेको हो । पार्टीले निर्णय गरेको भए लड्ने थिएँ । तर, मेरो पहिलो प्राथमिकता केपी ओलीको क्षेत्र थिएन । आफ्नो क्षेत्र, जहाँ म जन्मेको, हुर्केको, पढेको छु, जहाँको नदिमा आफ्ना पितामातालाई जलाएको छु, त्यही मेरो पहिलो प्राथमिकता हो । भविश्यमा कुनै दिन प्रधानमन्त्री पदमा पुगेँ भने पनि मरेपछि मलाई काठमाडौंको आर्यघाटमा होइन, यहीँको माटोमा विलीन होउँ भन्ने चाहन्छु । त्यसैले चुनाव लड्ने सवालमा पनि झापा १ नै मेरो पहिलो प्राथमिकता थियो ।

दोस्रो प्राथमिकता चाहिँ केपी ओलीको क्षेत्र ?

आफ्नो क्षेत्र छाडेर जानुपर्‍यो भने अन्त किन जाने ? त्यतिबेलाको लोकप्रिय नेता । पूर्वप्रधानमन्त्री । जनताले उहाँबाट आशा निकै राखेका थिए । आशा राखेको नेतालाई हराउनैपर्छ भन्ने पनि मेरो मनमा थिएनँ । उहाँलाई जित्छु भन्ने नै थिएनँ । म आफ्नै क्षेत्रमा त हारेँ भने उहाँको क्षेत्रमा के जित्थेँ होला ? तर, पार्टीले लड् भन्यो भने मैले जितको खोजी मात्रै गर्नु हुँदैनथ्यो । उहाँसँग हारे पनि मेरो विजय नै हुन्थ्यो । जिते त झन् दिग्विजय हुन्थ्यो ।

हार्दा कसरी विजय हुन्थ्यो ?

हार्दा पनि केपी ओलीसित प्रतिस्पर्धा गर्नुको बेग्लै महत्व हुन्थ्यो । केही विचारले, केही सिद्धान्तले, केही फरक मतले, केही व्यक्तित्वको विकासले, केही पहिचानको अभिवृद्धिले मैले मानसिक जित हासिल गर्थेँ होला ।

पूर्वप्रधानमन्त्रीसित लडेर चर्चामा आउने लोभ पनि त थियो होला ?

विल्कुलै होइन । त्यस्तो खालको लोभबाट राजनीतिको दिर्घजिवन हुन्छ भन्ने सोच्दिनँ । मैले त झापा १ मा हार्दैगर्दा सबैले देख्दादेख्दै बगैंचाबाट फूल टिप्न लगाएर, सबैले देख्दादेख्दै माला उनेर, सबैको अगाडि कम्युनिष्ट मित्र राम कार्कीको गलामा माला पहिर्‍याइदिएर बधाई दिएको हुँ नि । त्यतिबेला मैले उहाँलाई भनेको थिएँ, ‘मैले लगाइदिएको फूलको माला ओइलिएर झरे पनि जनताको विश्वासको माला ओइलिएर नझरोस् ।’

मैले सस्तो लोकप्रियताका लागि त्यसो गरेको थिइनँ ।

राम कार्कीले चुनाव जितेर तपाईंको क्षेत्रमा कस्तो काम गर्नुभएको छ त ?

राम्रै गर्नुहोला भन्ने अपेक्षा गर्छु ।

अहिलेसम्म चाहिँ कस्तो गरिरहनुभएको छ ?

अहिलेसम्म आलोचना नै गर्नुपर्ने खालको छैन । बेलाबेलामा पुग्नुभएको सुन्छु । उहाँको आफ्नै व्यक्तित्व छ । विचार राम्रो सम्प्रेषण गर्नुहुन्छ । माक्र्सवादको गहिरो अध्येता हुनुहुन्छ । चिन्तन गर्नुहुन्छ । कोही बेला माक्र्सवादको गहिरो विश्लेषण गर्दागर्दै गाउँको माटो कता दुखेको छ भन्ने बारेमा ध्यान दिन पाउनुभएन भने पनि त्यहाँका जनताले गुनासो गर्नुहुन्न ।

यद्यपि, आफ्नो पार्टीको सरकार भएका बेला अलि बढी गर्न सकिन्थ्यो होला । कांग्रेसको सरकार थियो जतिबेला, विश्वप्रकाशले चुनाव हार्दा पनि आफ्नो क्षेत्रका लागि काम गरेको हो । अहिले पनि गएर सोध्दा हुन्छ । आज उहाँको सरकार छ । उहाँ संसदमा हुनुहुन्छ । डाडुपुन्यू दुवै हातमा भएका बेला अलि बढी गर्न सक्नुहुन्थ्यो कि भन्ने मात्र अपेक्षा हो ।

सत्तारुढ नेताहरुले आफ्नो क्षेत्रमा बढी बजेट लैजँदा पनि त आलोचना हुन्छ । प्रधानमन्त्रीले आफ्नो क्षेत्रमा विभिन्न कार्यक्रमका लागि बजेट सिफारिस गर्दा तपाईंले नै कटाक्ष गर्नुभएको थियो । यदि कुनै कार्यक्रम नलगेको भए प्रधानमन्त्रीले आफ्नो क्षेत्रमा समेत केही गरेन भनेर आलोचना गर्नुहुन्थ्यो होला होइन ? 

हामी कुन समयमा छौं भनेर हेर्नुपर्छ । हिजो संघीयता थिएन । प्रदेश सरकार, स्थानीय सरकारहरु थिएनन् । सांसद नै विकासको मेसिनरी थिए । जसको बल पुग्छ उसले नै धेरै बजेट लैजान्थे ।  अहिले न्यायोचित ढंगले शक्ति विकेन्द्रित गरिएको छ ।

प्रधानमन्त्रीले आफ्नो क्षेत्रमा अलि बढी विकास लैजाँदै गर्दा माफ गरौंला । तर, यसो सोचौं न । नेपालमा संसारको सबैभन्दा अग्लो बुद्धको मूर्ति बनाउनु त राम्रो हो । तर, त्यो मूर्ति कहाँ बनाउने ? कि मेचीको किनारमा कि महाकालीको किनारमा हुनुपर्ने हो । वा लुम्बिनीमा हुनुपर्ने ? तर उहाँलाई दमकै बनाउनुपर्‍यो । यसमा पनि मेरो विरोध छैन ।

तर, अर्बौं रुपैयाँको सपिङ मल पनि दमकै चाहियो । यो पनि ठिकै छ । भ्यू टावर पनि दमकमा चाहियो । यहाँ बन्ने भ्यूटावरबाट के हेर्ने ? दुर्बिन लगाएर दमकमा दर्ता भएका पाँच हजारभन्दा बढी सुकुम्बासीको करङ गन्ने ?

ल, ठीक छ यसलाई पनि माफ गरौं । नेपालमा भूकम्प कहाँ गयो भन्दा सिन्धुपाल्चोकमा । असर बढी कहाँ पर्‍यो भन्दा सिन्धुपाल्चोक, गोर्खा, धादिङ नुवाकोट, भक्तपुर लगायतमा । तर, भूकम्पको स्मृति संग्रहालय कहाँ बन्ने भयो भने दमकमा । भूकम्पले मान्छे मर्ने अरु जिल्लामा, स्मृति संग्रहालय किन दमकमा ? दमकमा कति घर चर्कियो ? कति मान्छे मरे भन्दा छैन । तर, भूकम्प गएकोमा साह्रै दुखी भएको चाहिँ दमक रे ! त्यसैले मैले ट्विट गरेर सोधेँ– सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईं देशको प्रधानमन्त्री कि दमकको मेयर ?

भनेपछि दमकमा छुट्याइएको बजेटलाई लिएर तपाईंको ठूलो असन्तोष ?

बजेट छुट्याइएकोमा भन्दा बजेटको प्राथमिकतालाई लिएर हो । म दमकविरोधी होइन । तर, त्यहाँको प्राथमिकता र आवश्यकता हेर्नुपथ्र्यो । नदी कटान, सुकम्बासी समस्या, भित्री बाटोहरु, बेरोजगारी आदि समस्याहरु पो प्रमुख हुन् त यहाँ । भूकम्प संग्रहालयले दमकवासीको कुन समस्या हल गर्छ ? प्रधानमन्त्रीले संघीयताको मर्म नै नबुझेको देखियो ।

नबुझेको कि नरुचाएको ?

नरुचाएको भन्दिनँ । जीवनको प्रारम्भमा जुँगाको रेखी नबस्दै उहाँले माक्र्स, लेनिन र स्टालिनको तस्वीरमुनि बसेर सपथ खाँदै गर्दा त्यो दस्तावेजमा संघीयता थिएन नि । संघीयता उहाँले नचिताएको कुरा हो । यो उहाँको दर्शनमै पर्दैनथ्यो । अहिले वाध्यता भयो ।

उहाँको मनस्थितिमा सर्वहारा अधिनायकबाद छ, परिस्थितिमा संसदीय प्रणाली । मनस्थितिमा उत्तर कोरिया छ, परिस्थितिमा दक्षिण कोरिया । मनस्थितिमा बल प्रयोगबाट सत्ता हासिल गर्ने छ, परिस्थितिमा निर्वाचन । मनस्थितिमा रेड बुक छ, परिस्थितिमा नेपालको संविधान । यसरी उहाँ दोसाँधमा नउभिए हुन्थ्यो ।

प्रसंग बदलौं । तपार्इं कुनै लाभको पदमा हुनुहुन्न । म्याडम गृहणी । परिवारको आयश्रोत के हो ?

उनी गृहिणी मात्र होइनन् । मेचीनगरमा लेडिज जेसीसको फाउन्डर प्रेसिडेन्ट हुन् । पहिले स्कुल पनि पढाउँथिन् । अहिले ट्रेनिङ कार्यक्रमबाट सामान्य आयआर्जन गर्छिन् । वर्षमा २०-२५ वटा तालिम हुन्छन्, तीन महिनाजति त्यसमा व्यस्त रहन्छिन् ।

भनेपछि आयआर्जनको पाटो म्याडमको जिम्मेवारीमा छ ?

त्यस्तो पनि होइन । हाम्रो परिवार विगतमा कृषिमा आधारित हो । स्वर्गीय मातापिताले जग्गाजमिन मनग्गे छोडेर जानुभएको थियो । त्यही जमिनको बलमा मैले अहिलेसम्मको राजनीति अघि बढाएँ । तर, विस्तारै खेती गर्न नसकिने अवस्था आएपछि जग्गाहरु विक्री गरेर बस्ती बसालियो ।

मैले आन्तरिक प्रशिक्षणहरुमा भन्ने गर्छु कि तीन दिन पार्टीका लागि, ४ दिन रोटीका लागि दिउँ । यो कुरा मैले आफूमा पनि लागू गरेको छु । त्यो राजनीतिकर्मी नै असल हुन्छ, जसले अन्य पेशाबाट आफ्नो परिवारको भरणपोषण गर्न सक्छ । राजनीति नै मुख्य पेशा भयो भने समस्या हुन्छ । दोकान खोल्नुस, पत्रिका पसल चलाउनुस, वा जग्गा खरिदविक्री नै गर्नुस् । तर, राजनीतिलाई आयआर्जनको स्रोत नबनाउनुस् ।

सात दिन र तीन दिनको सूत्र आफूमा लागू गर्नुभएको छ त ?

पक्कै पनि प्रयास गरेको छु । मेरा केही व्यवसायहरु छन् । ट्राभल एजेन्सी छ । बिर्तामोडमा कलेज छ । । निर्माणाधीन इलामको सिद्धी हाइड्रोमा सेयर छ । यस्तो कुरामा गाँसिने कर्म गरिनँ भने भविश्यमा अख्तियारको अघिल्तिर अनुहार रुमालले छोपेर÷बाँधर उभिनुपर्ने अवस्था आइहाल्छ नि । छोराछोरीले कमाउने बेला पनि भएको छैन ।

कत्रा भए छोराछोरी ?

छोरी कक्षा ९ मा र छोरा युकेजीमा पढ्दैछन् ।

राजनीतिमा के सोचेर लाग्नुभएको थियो ? आजको स्थानसम्म आइपुग्ने कल्पना थियो कि थिएन ?

वातावरण र परिस्थिति अनि मनिस्थितिले मलाई राजनीतिमा धकेलेको हो । पारिवारिक वातावरण राजनीतिक थियो । परिस्थिति पञ्चायत थियो । यो व्यवस्था ढाल्यो भने राम्रो व्यवस्था आउँछ भन्ने सोचाई भयो । ०४१ सालको चैत्र १४ गते ८ कक्षा पढ्दा पहिलोचोटि थुनिएँ । पुलिसको हिरासतमा बसेर आउँदै गर्दा सबैले वाहवाही गरे । ए, यो त राम्रै कर्म पो रहेछ भन्ने मनस्थिति भयो । त्यसबेला लाग्दै गर्दा यो जिम्मेवारीसम्म पुगौंला भन्ने थिएन । आकांक्षाहरु पछि जन्मेका हुन् ।

बुवाआमाले राजनीतिमा नलाग् भन्नुभएन ?

परिवारको पूर्ण समर्थन रह्यो । पञ्चायतकालमा एक दर्जनपटक हिरासतमा बसेँ । हरेकचोटि मातापिताको आशिर्वाद पाएँ । पिताजी पनि राजनीतिमा हुनुहुन्थ्यो । म जन्मेको केही समयपछि जेल पर्नुभएको थियो । मेरो जिन्दगीको पहिलो दशैंमा बुवाले जेलमै टीका लगाइदिनुभएको थियो रे । यो ०२८ सालको कुरा हो ।

मेरी आमा पनि सुशिक्षित हुनुहुन्थ्यो । बुवा र आमा दुवैले बीए पास गर्नुभएको छ । त्यतिबेला बीएको पढाइ चानचुने थिएन । मेरा बुवा–आमाको बिहे हुँदाको निमन्त्रणा कार्ड अहिले पनि सुरक्षित छ, जसमा बरको नाम पर्शुराम शर्मा (बीए) र बधु सावित्री शर्मा (बीए) लेखिएको छ ।

मेरी आमा स्थायी शिक्षिका हुनुहुन्थ्यो । उहाँलाई पनि पञ्चायतले निकै दुःख दियो । धेरै पढेको र स्थायी भएको जागिरबाट हटाउन त सम्भव भएन । त्यसैले दुख दिने नियतले जिल्लाभित्रै घरभन्दा निकै टाढाको स्कुलमा सरुवा गरिदियो । आमाले तैपनि जागिर छोड्नुभएन । म सानो छँदा उहाँ घोडा चढेर स्कुल धाउनुहुन्थ्यो रे । मलाई पनि स्कुलमै लैजानुहुन्थ्यो । मलाई क्यान्टिनमा सुताइदिएर आफू पढाउन जानुहुन्थ्यो । रोएँ भने क्यान्टिनको साहुनीले बोलाइदिने र आमाले आएर दूध चुसाउनुहुन्थ्यो ।

यसरी बुवा र आमाले गरेको संघर्षले मलाई आजपर्यन्त प्रेरणा दिएको छ । मेरा एक दाजु हुनुहुन्छ र एक दिदी हुनुहुन्छ । उहाँहरुको पनि साथ र सहयोग छ ।

भाषण कलामा पहिलेदेखि नै पोख्त हो कि पछि निखारिनुभएको ?

भाषण त म अहिलेभन्दा पनि ०४३÷०४४ सालतिर मेची क्याम्पसको सभापति हुँदा राम्रो गर्थेँ जस्तो लाग्छ । अहिले सरकारको प्रतिपक्षी छौं । तर, त्यतिबेला सिंगै व्यवस्थाको प्रतिपक्षी थियौं । मनभित्र व्यग्रता हुन्थ्यो, विद्रोह हुन्थ्यो । भाषण गर्दा अन्तरआत्माबाट गरिन्थ्यो । बोल्नुको पनि मज्जा थियो ।

तपाईंलाई कहिलेदेखि आफू राम्रो भाषण गर्छु भन्ने लाग्न थाल्यो ?

म राम्रो भाषण गर्छु भनेर त अहिले पनि भन्दिनँ । तर, इमान्दार भएर बोल्छु ।

तपाईं आफैंलाई चाहिँ कसको भाषण मन पर्छ ?

भाषण भनेको शब्दहरुको थुप्रो मात्रै होइन । यसलाई धेरै डाइमेन्सनबाट हेर्नुपर्छ । मीठोसँग प्रस्तुत गर्नेभन्दा पनि कस्तो विचार अभिव्यक्त गरिरहेको छ भन्ने महत्वपूर्ण हुन्छ, भाषण शैलीमा प्रभावित हुने एउटा कुरा हो । भाषण कलामा मात्रै केन्द्रित भएर भन्नुपर्दा म निसन्देह मदन भण्डारीबाट प्रभावित छु । उहाँको भाषणमा आवेग हुन्थ्यो, शब्दचयन उत्कृष्ट थियो, बेजोड ढंगले उठान गर्नुहुन्थ्यो र त्यस्तै रुपमा टुंग्याउनुहुन्थ्यो ।

उहाँको भाषण प्रत्यक्ष सुन्नुभएको छ ?

सुनेको मात्र होइन, ०४९ सालमा मीनभवन क्याम्पसमा भएको एउटा कार्यक्रममा उहाँ आउनुभएको थियो । त्यही मञ्चमा म पनि नेविसंघको केन्द्रीय प्रतिनिधिका रूपमा वक्ता थिएँ ।  पछि उहाँका भाषणहरु मैले युट्युवमा पनि हेरेको छु ।

समकालीन नेताहरुमा चाहिँ कसको भाषण राम्रो छ ?

कांग्रेसभित्र राम्रो भाषण गर्ने गगन थापा नै हो । अन्य पार्टीका नेताको कुरा गर्दा म केपी ओलीको पनि नाम लिन चाहन्छु । उहाँको भाषणमा बेग्लै मजा हुन्छ । कतिपय शब्द चयनको पक्षलाई बिर्सिने हो भने उहाँको भाषणमा पनि एकप्रकारको आकर्षण छ । भो, यसमा धेरै नजाउँ ।

पहिलोचोटि केपी ओलीको विषयमा राम्रो टिप्पणी गर्नुभयो ।

राम्रोलाई राम्रो भन्न म हिच्किचाउँदिनँ । म आफैं चुनाव लड्दा पनि भाषणमा प्रतिस्पर्धी उम्मेदवारको प्रशंसा गर्थेँ ।

कमरेड केपी ओलीप्रति सहानुभूति राखेर विगतमा लेखेको पनि छु । तत्कालीन एमालेभित्रको विवादलाई लिएर ‘संस्कारको समाधि’ भन्ने लेखे लेखेको थिएँ । त्यतिबेला बिरामी नेताले पार्टीको नेतृत्व दिनु हुँदैन भनेर माधव नेपाल गुटले केपी ओलीलाई खेदिरहेको अवस्था थियो । मैले लेखेँ कि राजनीतिमा कसलाई अध्यक्ष बनाउने भन्ने कुरा मेडिकल रिपोर्टले होइन, पोलिटिकल रिपोर्टले तय गर्छ । वीपी कोइरालालाई ३२ वर्षमा क्यान्सर भयो । के अरु नेताले उहाँलाई ‘हे क्यान्सर रोगी ब्राम्हण, तिमीले हाम्रो नेतृत्व गर्न पाउँदैनौं’ भनेर भने ?

सक्रिय नेतृत्व गर्नलाई त राजनीतिकसँगै मेडिकल रिपोर्ट पनि त राम्रो हुनुपर्ला नि ?

स्वस्थ शरीर पनि चाहिन्छ । तर, एउटाले हाछ्यूँ गर्‍यो त्यसलाई हटाउँ भन्नु ठीक होइन । केपी ओली किड्नीको समस्यामा हुनुहुन्थ्यो, तर पछि माधव नेपालका पनि धेरैथरी रोग बाहिर आए । मैले ‘संस्कारको समाधी’ लेखमार्फत भनेको थिएँ, माधव नेपाललाई बनाउनुस् वा केपी ओलीलाई बनाउनुस् दुवै जना योग्य हुनुहुन्छ । दुवैको राजनीतिक रिपोर्ट तुलना गर्नुस् । एउटा रोग बढी भए अयोग्य र एउटा रोग कम भए योग्य हुने हो र ?

यसरी एउटा पार्टीको आन्तरिक विषयमा अर्को पार्टीको नेताले सार्वजनिक टिप्पणी गरिहनु कत्तिको जायज हो ? अस्ति भर्खर पनि मदन भण्डारीलाई एमालेले बिर्सियो भनेर पनि टिप्पणी गर्नुभयो ।

मानौं मेरो छिमेकी दुश्मन छ । अब उसले घर बनाउँदै गर्दा मैले चासो राख्नुपर्छ कि पर्दैन ? उसले ६ तल्लाको घर बनायो रे । उ नभएका बेलामा मिस्त्रिले बालुवा बढी हाल्यो वा ईंटा कम भिजायो भने मेरो दुश्मन त हो नि भनेर चुप बस्न सक्छु ? भूकम्प आएका बेला उसको घर ढलेर मलाई किच्न सक्दैन ?

राजनीति आम सरोकारको विषय हो । एउटा राजनीतिक दल राम्रो भयो भने अर्को दललाई बेफाइदा हुने होइन । समग्रमा राजनीति सङ्लो हुनुपर्छ । हामीले जागरण अभियानमा ब्याच नलगाउने, आसन ग्रहण कम गराउने कुराहरु लागू गर्दा अन्य पार्टीहरुले पनि स्वागत गर्नुभयो । हामीले लेख्दै के लेखेका छौं भने केजीमा तौलिने माला नलगाउने । नेतालाई केवल एउटा फूलको थुँगाले स्वागत गर्न सकिन्छ । सारा बगैंचा फाँडेर माला लगाइदिनु आवश्यक छैन । यो समग्र राजनीतिक चरित्र र व्यवहारलाई सच्याउने सोच हो । हामी राम्रो हुँदा कम्युनिष्ट पार्टीलाई र कम्युनिष्ट राम्रो भए हामीलाई पनि फाइदा छ ।

राजनीतिबाहेक तपाईको रुची ?

फुर्सदको समयमा म लेखपढ नै गर्न रुचाउँछु । हातमा ह्वीस्कीको गिलास लिएर तास खेल्दै दिन काट्न मन पर्दैन । बरु संगीतमा मेरो गहिरो अभिरुची छ । गीत लेखन र संगीत दुवै गर्छु । हालै नेपाली कांग्रेसको जागरण अभियानका लागि १२ वटा भाषामा गीत लेखेँ ।

तपाईंलाई १२ भाषाको ज्ञान छ ?

भन्नाले मैले नेपालीमा लेखेर अरु अनुवाद गराइएको हो । लिम्बु, राई, मैथली, भोजपुरी, नेवारी, थारु, तामाङ लगायत भाषामा अनुवाद गरेर गाइएको छ । संगीत चाहिँ मैले नै भरेको हुँ ।

संगीत पनि सिक्नुभएको छ ?

नेपाल संगीत विद्यालयमा केही समय सिकेको हुँ ।

सामाजिक सञ्जालमा जता हावा चल्छ, विश्वप्रकाश त्यतै दौडिन्छ भनिन्छ नि ? 

विल्कुल गलत । म कहिल्यै सामाजिक सञ्जालका आधारमा धारणा बनाउँदिनँ । त्यस्तो उदाहरण कुनै एउटा दिनुस् ।

सामाजिक सञ्जालभन्दा बाहिर गएर धारणा राखेको एउटा उदाहरण तपाईं दिनुस त ?

(सम्झिन खोज्दै) अहिले झट्ट सम्झिन सकिनँ । तर, म प्रमुख प्रतिपक्षी पार्टीको प्रवक्ता भएर सामाजिक सञ्जालमा लेखिरहँदा मैले हचुवा टिप्पणी गर्दिनँ । अरुले कुनै कुरा सुनेको आधारमा एक थोक लेखिदेलान् र त्यसको थप खोजीमा नलाग्लान् । मैले त्यस्तो अपुष्ट कुरामा टिप्पणी गर्न मिल्दैन, किनकी मैले अगाडि र पछाडिको सोच्नुपर्छ । मैले लेखेको कुरा सामाजिक सञ्जालसँग मेल खाने एउटा कुरा हो । आखिर समाज यही हो । धेरैको सोचाई मेरोजस्तै हुन सक्छ ।

प्रचार र प्रशंसाको भोको हुनुहुन्छ भनिन्छ नि ?

प्रचार त मेरो जिम्मेवारीकै कुरा हो । तर, व्यक्तिगत आफ्नो प्रचारमा कहिल्यै रमाइनँ । सामाजिक सञ्जालमा आफ्नो प्रशंसा हुँदा आल्हादित भइहाल्दिनँ । नेगेटिभ आउँदा पनि निराश बन्दिनँ । आफ्नो ठाउँमा ठीक बन्ने प्रयत्न गर्छु । मैले कुनै नेताको विरोधमा लेख्दा सामाजिक सञ्जालमा ‘क्यावात’ भनियो भने त्यो मेरो प्रशंसा भन्दा पनि उक्त नेताप्रतिको असन्तुष्टिको मनोविज्ञान हो भनेर बुझ्छु ।

कसैले सामाजिक सञ्जालमा कटु आलोचना गर्‍यो भने डीएम (डाइरेक्ट म्यासेज) गरेरै उसलाई जवाफ फर्काउनुहुन्छ रे नि ?

हो । मलाई अति नै चित्त बुझेन भने त्यस्तो पनि गर्छु । जवाफ फर्काउनेभन्दा पनि डीएम गरेर उसलाई प्रेमपूर्वक सम्झाउने गर्छु ।

एउटा उदाहरण दिन्छु । एकजना हात काटिएकी महिला छिन् देवीमाया, जसको काखमा सात दिनको र अर्को अढाई बर्षको बच्चा थिए । सात दिनको सुत्केरी भएका बेला उनकका श्रीमानको मृत्यु भयो । सासू आमा पनि आँखा नदेख्ने । छोरीको न्वारान गर्ने बेलामा कोरामा बस्नुपर्‍यो । उनको घर छैन । आठ महिनादेखि कोठाको भाडा तिरेको छैन । अब म उनलाई अरुले जस्तै एक–दुई बोरा चामल दिएर आफ्नो कर्तव्य पूरा भएको त मान्न सक्दिनँ । त्यसैले मैले उनलाई एक टुक्रा जग्गा दिएँ । धेरै जना मिलेर त्यसमा एउटा घर बनायौं ।

यस्तो कुरालाई पनि कसैले ‘कांग्रेसको नाटक’ भनेर लेखिदियो भने नरमाइलो लाग्छ । त्यस्तो कमेन्ट गर्नेलाई मैले डीएम गरेर भनेँ, ‘प्रिय फलाना, तपाईंले यसरी लेख्नुभएको रहेछ । खुशी लाग्यो । सल्लाह सुझावका लागि धन्यवाद । तर, अलि बढी नकारात्मक हुनुभयो कि ?’

अब मैले यति लेखेपछि उसलाई स्ट्राइक त हुन्छ नि । प्रतिपक्षी पार्टीको प्रवक्ताका रुपमा जवाफ दिइरहँदा मैले आफ्नो रीस प्रकट गर्न मिल्दैन । फोन गरेर ‘ए फलाना, किन जथाभावी लेखेको ?’ त भन्न सक्दिनँ । त्यसैले म्यासेज गर्छु ।

कुनै राजनीतिक विषयमा नकारात्मक टिप्पणी गरिएको छ भने धेरै वास्ता गर्दिनँ । तर, निश्वार्थ ढंगले गरिएको सामाजिक काममा पनि यसरी गाली खानुपर्‍यो भने चित्त अवश्य दुख्छ ।

अन्त्यमा, एउटा राजनीतिक प्रसंग । पछिल्लो समय विप्लव माओवादीले हत्या, हिंसा र चन्दा आतंक झन् बढाइरहेको छ । सरकारले लगाएको प्रतिवन्ध ठिकै रहेछ भन्ने अहिले तपाईंलाई महसुस भएको छ कि छैन ?

त्यस्तो विल्कुल छैन । आक्रमण त कांग्रेसमाथि पनि उहाँहरुले गर्नुभएको छ । चुनावका बेलामा कांग्रेसका उम्मेदवारमाथि बम पड्काइएका छन् । तर, कुनै घटनाका कारण प्रतिवन्ध लगाउने हो भने त सत्तारुढ नेकपालाई पहिले प्रतिवन्ध लगाउनुपर्छ । किनकि, बितेको एक वर्षमा पटक–पटक कांग्रेस कार्यकर्तामाथि नेकपा कार्यकर्ताबाट आक्रमण भएको छ । रोल्पामा तरुण दलका नगर सभापति पूर्वमाओवादीबाट मारिए । सर्लाहीमा रामविलास महतो पनि विप्लवबाट नभएर पूर्वएमालेबाट मारिएका हुन् । त्यसो भए के नेकपामाथि प्रतिवन्ध लगाइदिने त ?

पूर्वमाओवादी र पूर्वएमालेबाट भएका आक्रमण पार्टी नेतृत्वकै निर्देशनमा त भएका होइनन् । विप्लव माओवादी त रणनीतिकरुपमै हिंसात्मक अभियानमा छ । छिटफुट घटनालाई लिएर नेकपा र विप्लवलाई एउटै तराजुमा जोख्न मिल्छ ?

कांग्रेस कार्यकर्ताको ज्यान जाँदै गर्दा छिटपुट घटना भनेर सहने ? पार्टीको निर्देशन होइन भनेर उहाँहरुका मातापिताले आफ्नो गुमाएको छोरा फिर्ता पाउन सक्नुहुन्छ ? राज्य संरक्षित ढंगले यस्तो अपराध भइरहँदा कांग्रेस चुप बस्न सक्छ ?

विप्लव समस्याको हल कसरी गर्ने त उसोभए ?

मिलाएर लैजानुपर्‍यो । कसैलाई निषेध गरेर हुँदैन । यदि निषेध नै समाधान हुन्थ्यो भने सरकारले प्रतिवन्ध लगाइसकेपछि मान्छे मारिनु नपर्ने । त्यस्तो स्थिति त छैन । हामी अभ्यासबाटै निषेध गलत हो भनिरहेका छौं । हामीले तत्कालीन माओवादीलाई बल प्रयोग गरेर सिध्याउन संकटकाल लगायौं । तर, सिद्धिए त ? झन् समस्या चर्कियो नि । अन्ततः वार्ताबाटै समस्या हल भयो कि भएन ?

कांग्रेसले प्रचण्ड, बाबुराम, वैद्य, विप्लवसहितको पहाडजस्तो माओवादीलाई विश्वासमा लियो । आज कमरेड केपी ओलीले निषेध मात्रै गरेर हामी समाधानमा पुग्न सक्छौं भन्दै गर्दा के त्यसले समाधान दिएको छ त ? यसबीचमा वार्ता गरेको भए बरु समाधानउन्मुख हुन्थ्यौं कि ? अनुभवबाट सिक्नुपर्‍यो ।

प्रतिवन्ध त कानून अनुसार पनि छैन । जो संविधानको परिधिभित्र छ, उसलाई प्रतिवन्ध लाग्छ । जसले संविधानै मानेको छैन, उसलाई प्रतिवन्धले के फरक पार्छ ? बरु यसले राज्यको प्रहरीलाई असर गरेको छ । उनीहरुको मनोबल घटाइदिएको छ । अस्ति ओखलढुंगामा विप्लवले आक्रमण गर्दैछ भन्ने सूचना आउँदै गर्दा प्रहरीहरु सतर्क भएर बसे कि चौकी छोडेर भागे ? यस्तो त्रस्त मनोविज्ञान प्रहरीमा सिर्जना गरिएको छ ।

तस्वीरहरुः शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment