२० फागुन, काठमाडौं । यसपटकको निर्वाचनमा मतदान गर्ने मतदाताको संख्या बढ्ने अनुमान छ । निर्वाचन आयोगले मतदाताहरूमा बढेको जागरुकतालाई प्रमुख आधार मानेको छ । आयोगका अनुसार, बदर मतको अनुपात पनि घट्नेछ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी भन्छन्, ‘यसपाली मतदान गर्ने मतदाताहरुको संख्या बढ्छ र बदर मत पनि धेरै कम हुन्छ ।’
मतदान प्रतिशत बढ्ने र बदर मत घट्ने अनुमानको आधार दिँदै उनी थप्छन्, ‘निर्वाचनको पूर्वसन्ध्यामा विशेष सहजीकरण गरेर अध्यादेश मार्फत मतदाता नामावली संकलन भएको हो । त्यसमा अधिकांश युवा छन् ।’
उनीहरुमा पहिलेका निर्वाचनमा उतिसाह्रो जाँगर र उत्सुकता थिएन । अहिले युवा जोडिएर आएका छन् र मतदानमा सहभागी भएर मुलुकमा सुशासन प्रवाह गराउन चाहन्छन् ।
निर्वाचन आयोगका अधिकारीहरूका अनुसार जेनजी आन्दोलनपछि मतदाता नामावलीमा नाम दर्ता गर्नेहरूमा बढोत्तरी भएको थियो । यसलाई आयोगले युवामा आएको जागरुकताको रुपमा अर्थ लगाएका हुन् ।
गत कात्तिक १६ गतेसम्म मतदाताको संख्या एक करोड ८१ लाख, ६८ हजार २३० जना रहेको थियो । तर, त्यसमा धेरै जेनजी मतदाता छुटेको भनेर माग भएपछि सरकारले अध्यादेश ल्यायो ।

अध्यादेशअनुसार ९ असोजदेखि ५ मंसिरसम्म मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक गरिएको थियो । त्यो अवधिमा झण्डै १० लाख मतदाता थपिएका हुन् ।
यसपटक युवा पुस्तामा रहेको जागरुकताले भोट हाल्न अनिच्छा गर्नेलाई समेत मतदानमा सहभागी गराउँदैछ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी भन्छन्, ‘युवाको संख्यात्मक उपस्थितिले के देखाउँछ भने उहाँहरुले घरघरमा, टोलटोलमा, ढोकाढोकामा गएर मतदाता शिक्षा दिनुभएको छ ।’
विगतमा शिक्षाका कारणले समेत कम मत खस्ने र खसेको मतमा रहेका बदर हुने गरेको अनुभव सुनाउँदै भण्डारी भन्छन्, ‘अहिले ग्रामिण इलाका वा पिछरिएको क्षेत्रमा रहेका मतदाताहरु पनि पूर्ण शिक्षित भइसक्नुभयो । उहाँहरुले बडो सचेतनापूर्ण ढंगबाट मतपत्र बदर नहुने गरी मतदान गर्नुहुन्छ ।’
यसका अलावा मतदान प्रयोजनको लागि सबैभन्दा बढी युवा जमात खटिएको भन्दै उनी थप्छन्, ‘तसर्थ अहिले राम्रो मतदान हुन्छ । मतदानको प्रतिशत पनि बढ्छ बदर संख्या पनि घट्छ भन्ने विश्वास गर्छौ ।’
कुन अवस्थामा मत बदर हुन्छ ?
१. सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको मतपत्र भएमा,
२. औँठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्नबाहेक अन्य चिह्न वा छाप लगाई मत सङ्केत गरेमा,
३. मत सङ्केत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएमा,
४. उम्मेदवार वा दलको निर्वाचन चिह्न भएको कोठामा मत सङ्केत नगरी अन्यत्र मत सङ्केत गरिएमा,
५. एकभन्दा बढी उम्मेदवार वा दलको निर्वाचन चिह्न भएको कोठामा छुट्टाछुट्टै मत सङ्केत गरिएमा,
६. एकभन्दा बढी उम्मेदवार वा दलको निर्वाचन चिह्न भएको कोठामा मत सङ्केतको चिह्न पर्ने गरी मत सङ्केत गरिएमा,
७. मत सङ्केत नगरी मतदान अधिकृतलाई मतपत्र फिर्ता दिएमा,
८. कुनै पनि उम्मेदवार वा दलको निर्वाचन चिह्नमा मत सङ्केत नगरिएमा,
९. आयोगद्वारा निर्धारित मतपत्रबाहेक अन्य मतपत्रद्वारा मतदान गरिएमा,
१०. मतपत्र मतपेटिकाभन्दा बाहिर राखिएमा,
११. जाली मतपत्र भएमा,
१२. पट्याएको मतपत्रभित्र कुनै मुद्रा, कागज वा अन्य कुनै वस्तु संलग्न गरेको वा कुनै रूपमा च्यातेको, प्वाल पारेको भएमा,
१३. एउटा पट्याएको मतपत्रभित्र अरू मतपत्रसँगै एकसाथ पट्याएमा,
१४. उम्मेदवार वा दलको निर्वाचन चिह्न रहेको कोठामा र निर्वाचन चिह्न रहेका कोठाभन्दा बाहिर वा मतपत्रको अन्य कुनै भागमा समेत मत सङ्केत गरेमा ।
निर्वाचन आयोगको तथ्यांक अनुसार २०७९ सालको चुनावमा ५.१९ प्रतिशत मत बदर भएको थियो । त्यसबेला चुनावमा ६१.६३ प्रतिशत मत खसेको थियो । खसेको मतमा ५.१९ प्रतिशत मत बदर भएको हो ।
२०७४ सालको चुनावमा ६८.६७ प्रतिशत मत खसेका थियो । त्यसबेला ५.१६ प्रतिशत मत बदर भएको थियो ।
२०७० सालको चुनावमा ७८.३४ प्रतिशत मत खस्दा ४.९६ प्रतिशत मत बदर भएको थियो । २०६४ को संविधानसभा निर्वाचनमा ५.१५ प्रतिशत मत बदर भएको निर्वाचन आयोगको तथ्यांक छ ।
२०५६ सालमा भएको निर्वाचनमा हालसम्मकै कम अर्थात्, २.७५ प्रतिशत मत बदर भएको थियो । २०५१ को मध्यावधि चुनावमा ३.१६ र २०४८ सालको चुनावमा ४.४२ प्रतिशत मत बदर भएको थियो ।
यसपटक कति छन् मतदाता ?
निर्वाचन आयोगको तथ्यांक अनुसार, यसपाली एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् ।
जसमध्ये ९६ लाख ६३ हजार पुरुष, ९२ लाख ४० हजार महिला र २०० अन्य छन् । तीमध्ये एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा १६५ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने समानुपातिकतर्फबाट ११० जना चुनिन्छन् । प्रतिनिधिसभामा २७५ जनासदस्य निर्वाचित हुनेछन् ।
प्रत्यक्ष निर्वाचित हुने १६५ सिटका लागि ३ हजार ४०६ उम्मेदवार छन् । जसमा ३ हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार छन् ।

समानुपातिकतर्फबाट निर्वाचित हुने ११० सिटमा ३ हजार १३५ जना उम्मेदवार छन् । यसमा एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । १४३ अस्थायी मतदानस्थल तय गरिएको छ । एक हजारभन्दा बढी मतदाता भएको ठाँउमा एउटा मतदान स्थलभित्र एकभन्दा बढी मतदान केन्द्र रहनेछन् ।
निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन् ।
निर्वाचन दुई लाख १५ हजार कर्मचारी खटिएका छन् । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कुल चार करोड २२ लाख ५१ हजार २ सय मतपत्र छापेको छ । चार अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्था निर्वाचन पर्यवेक्षण गर्दैछन् ।
२४ घण्टाभित्रै नतिजा !
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीका अनुसार यसपटक मतदान सम्पन्न भएर मतपेटिका संक्लनपछि मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको रिजल्ट ल्याउने तयारी छ ।
मतगणना कहिले सकिन्छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘मैले भनि आएको छु– मतपेटिका प्राप्त भएर मतगणना सुरु भएको लगभग २४ घण्टाभित्र पहिलो हुने निर्वाचन अन्तर्गतको निर्वाचन प्रणाली अन्तर्गतको मत परिणाम प्रकाशित गरिसक्ने छौं ।’
प्रत्यक्षतर्फको सँगसँगै समानुपातिक तर्फको मतगणना पनि हुनेछ । देशभरको सकिएपछि एकीकृत गरेर बाँकी प्रक्रिया अगाडि बढ्छ । यो काम पनि छिटो भन्दा छिटो सक्ने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले जानकारी दिए ।
उनका अनुसार मतदान सम्पन्न भएसँगै पहाडी इलाका, हिमाली भूभाग लगायत सबैमा मतपेटिका संकलन गर्न कति समय लाग्छ त्यसमा ध्यान दिइनेछ । छिटो भन्दा छिटो मत पेटिका संकलन गर्ने प्रयास अन्तर्गत छिटो संकलन नसक्ने अवस्थामा हेलिकप्टरमार्फत पनि हामी मतपेटिका संकलन गरिनेछ ।
प्रतिक्रिया 4