२० फागुन, रुकुम पूर्व । नेपाल कम्युनिस्ट पार्टीका संयोजक एवं रुकुम पूर्वका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ मतदानकै दिन जिल्ला आइपुग्ने भएका छन् ।
आफ्नो स्थायी ठेगाना रहेको चितवनमा मतदान गरिसकेलगत्तै उनी हेलिकप्टरमार्फत रुकुम पूर्व ओर्लिने कार्यतालिका तय भएको हो ।
चितवनमा मताधिकार प्रयोग गरेर दाहाल बिहान ११ बजेभित्रै रुकुम पूर्व पुग्नेछन् । उनको साथमा छोरी गंगा दाहालसहित ५ जनाको टोली रहने पार्टीका चुनावी प्रचारप्रसार प्रमुख गणेशमान पुनले जानकारी दिए ।
‘संयोजकज्यूले बिहानै चितवनमा भोट हाल्नुहुनेछ र लगत्तै रुकुम पूर्व प्रस्थान गर्नुहुनेछ,’ पुनले भने, ‘जिल्ला पुगेपछि उहाँले विभिन्न मतदान केन्द्रहरूको स्थलगत अवलोकन गर्ने र मतदातासँग प्रत्यक्ष साक्षात्कार गर्ने कार्यक्रम छ ।’
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डसहित ११ जना चुनावी मैदानमा उत्रिएका छन् ।
प्रतिक्रिया 4