+
+
Shares

‘अफ्रिकन स्वाइनफिभर’ले चितवनमा बंगुर मर्न थाले

अफ्रिकन स्वाइनफिभर घरपालुवा सुँगुर, बँदेल, बंगुर प्रजातिमा भाइरसबाट लाग्ने उच्च मृत्युदर भएको सरुवा रोग हो । यो रोग नेपालमा पहिलोपटक विसं २०७९ जेठ २ गते पुष्टि भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते १७:०९

१२ फागुन, चितवन । चितवनमा किसानले पालेका बंगुरमा ‘अफ्रिकन स्वाइनफिभर’ देखिएको छ । गर्मी बढेपछि यो रोगको संक्रमण देखिन थालेको हो ।

इच्छाकामना गाउँपालिकाको एक व्यावसायिक फर्म र भरतपुर महानगरपालिका-८ को बंगुर फार्ममा यो रोगको संक्रमण देखिएको पशु सेवा कार्यालयले जनाएको छ ।

कार्यालयकी पशु चिकित्सक डा. सविता ज्ञवालीका अनुसार इच्छाकामनामा पालिएका ७० वटा बंगुर सोही रोगको संक्रमणले मरिसकेका छन् भने भरतपुरका चारवटा बंगुर मरेका छन् । भाइरसबाट सर्ने रोग भएकाले यसको औषधि हालसम्म उपलब्ध छैन ।

अफ्रिकन स्वाइनफिभर घरपालुवा सुँगुर, बँदेल, बंगुर प्रजातिमा भाइरसबाट लाग्ने उच्च मृत्युदर भएको सरुवा रोग हो । यो रोग नेपालमा पहिलोपटक विसं २०७९ जेठ २ गते पुष्टि भएको थियो । रोग सङ्क्रमित सुँगुर-बंगुरबीच प्रत्यक्ष सम्पर्कबाट, रोगी बंगुरको र्‍याल, मलमूत्र, रगत, मासु र लसपस भएको दानापानीबाट सर्ने गर्छ ।

यसैगरी बिरामी बंगुरको ओसारपसार वा किनबेच गर्दा, संक्रमित खोरमा काम गर्ने कामदार र सङ्क्रमित खोरमा गएको मानिसले प्रयोग गरेको लुगाकपडा, जुत्ता, चप्पल आदि प्रयोग गर्दा सर्नसक्ने ज्ञवालीले जानकारी दिइन् ।

यो रोग लागेका बंगुरहरू एकै ठाउँमा बस्ने, शरीरमा निला डामहरु देखा पर्ने, कानका टुप्पाहरूमा रगत जमेका धब्बाहरू देखिने, नाकबाट फिज निकाल्ने, सुँगुर बंगुरलाई उच्च ज्वरो (१०४ देखि १०७ डिग्री फरेनहाइट) आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, झोक्राउने र दानापानी खान छोड्ने, बान्ता गर्ने, छट्पटाउने, चाल धरमराउने, बच्चा तुहिने जस्ता लक्षणहरू देखापर्ने कार्यालयले जनाएको छ ।

यसबाट बच्न बंगुरपालन गर्दा खोरमा थुनेर पाल्ने, बंगुरको खोरमा अनावश्यक मानिसको आवत–जावत रोक्ने, बंगुर फार्ममा जैविक सुरक्षा विधि अवलम्बन गर्ने जस्ता उपायहरु अपनाउनुपर्ने उनले बताइन् ।

बाहिरको बथानबाट नयाँ बंगुर ल्याएमा सिधै फार्ममा रहेका बंगुरसँग नमिसाइ २१ दिन क्वारेन्टिनमा राख्ने र रोग नदेखिएपछि मात्र बथानमा मिसाउने, बंगुरको खोर र फार्म वरिपरि नियमित सरसफाइ गरी चुना, फिनेल, फर्मालिन, ब्लिचिङ पाउडर आदिले नि:सङ्क्रमण गर्ने, रोग लागेका बङ्गुरलाई बथानबाट छुट्याएर अलग राख्दा क्षति कम हुने ज्ञवालीको भनाइ छ । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?