उर्लाबारी नगरपालिकाका पूर्वप्रमुख खड्ग फागो पहिलो पटक प्रतिनिधिसभा निर्वाचन लड्दैछन् । मोरङ-१ बाट डिगबहादुर लिम्बुले उम्मेदवारी दिने तयारी गरेका थिए । तर नेपाली कांग्रेसको नयाँ नेतृत्वले फागोलाई टिकट दियो । फागो नयाँ कांग्रेसको एजेन्डा लिएर मतदाताको घरदैलोमा छन् । प्रस्तुत छ, फागोसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश :
चुनावी अभियान कसरी अगाडि बढिरहेको छ ?
म गाउँ-गाउँमा पुगिरहेको छु । अहिले मेरो मुख्य काम भनेको जनताका कुरा सुन्नु हो । उहाँहरूका गुनासा, समस्या र आकाङ्क्षाहरू के छन्, त्यो सुन्दैछु । जनताको समस्या नबुझी योजना बन्दैनन् । त्यसैले अहिले म मतदाताको घरदैलोमा पुगेर उहाँहरूको भावना सुन्ने र बुझ्ने काम गरिरहेको छु । जनताको समस्या समाधान गर्ने प्रयत्न पनि गरिरहेको छु ।
मतदाताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
आम मतदातामा एउटा ठूलो सचेतना आएको पाएको छु । २०४६ सालदेखि अहिलेसम्म आइपुग्दा धेरै पटक आश्वासन दिइयो, धेरै पटक ढाँट्ने र छल्ने काम भयो भन्ने गुनासो जनतामा छ । तर यस पटक मतदाता धेरै नै ‘अवेयर’ भइसक्नुभएको छ ।
अब भोट दिँदा आफ्नो व्यक्तिगत स्वार्थका लागि होइन, राष्ट्रको भविष्य र आगामी सन्ततिको भाग्यका लागि सोच्नुपर्छ भन्ने चेत पलाएको छ । मतदाताहरू भन्दै हुनुहुन्छ- यो मत होइन, हामी राष्ट्रका लागि दान गर्दैछौँ । यो सचेतनाले मलाई निकै उत्साहित बनाएको छ ।

जेनजी आन्दोलनपछि नयाँ दल र युवाहरूको लहरले पुराना दललाई समस्या पर्छ भन्छन् नि ?
यो एउटा ‘वेभ’ जस्तो एउटा भाष्य र भ्रमका रूपमा सिर्जना गरिएको छ । तर जनताले बुझिसकेका छन् कि देश बनाउन इतिहासदेखि राष्ट्र बुझेको र राष्ट्रका लागि काम गर्दै आएको शक्ति नै आवश्यक हुन्छ । पात्रहरू परिवर्तन हुनुपर्छ र त्यो परिवर्तन गरेर नेपाली कांग्रेसले देखाएको छ ।
हामीले १६५ क्षेत्रमध्ये १०६ जना नयाँ अनुहारलाई टिकट दिएका छौँ, जसमा करिब ४० प्रतिशत त युवाहरू नै हुनुहुन्छ । म पनि युवा छु । हामी नीति, नेतृत्व र नैतिकतामा सुधार गरेर नयाँ सोचका साथ अगाडि बढिरहेका छौँ । जनताले साथ सहयोग गरिरहनुभएको छ ।
तपाईँका मुख्य चुनावी एजेन्डा के-के हुन् ?
मोरङ क्षेत्र नम्बर १ को भूगोल एकदमै सम्भावना बोकेको क्षेत्र हो । मेरो पहिलो प्राथमिकता यहाँको पूर्वाधार विकास नै हो । दोस्रो, यो क्षेत्रलाई पर्यटकीय हबको रूपमा विकास गर्ने मेरो योजना छ ।
आम जनताको आधारभूत आवश्यकता स्वास्थ्य र शिक्षामा आमूल परिवर्तन ल्याउनु मेरो मुख्य एजेन्डा हो । यहाँका क्षेत्रीय समस्याहरूलाई समाधान गर्दै राष्ट्रिय नीति निर्माणमा यहाँको आवाज बुलन्द पार्नु मेरो दायित्व हुनेछ ।

तपाईँ उर्लाबारीको सफल मेयर हुनुहुन्थ्यो, त्यो अनुभवले यो निर्वाचनमा कत्तिको मद्दत पुग्छ ?
स्थानीय सरकारको प्रमुख भएर काम गर्दा मैले जनताका समस्यालाई नजिकबाट हेर्ने मौका पाएँ । स्थानीय तहमा काम गर्दा कतिपय ऐन, कानुन र निर्देशिकाहरू बाधक बन्दा रहेछन्, जसले विकास र गरिबका काम रोकिरहेका छन् ।
अब मेरो भूमिका ती कानुनहरूलाई जनमैत्री बनाउनु हुनेछ । उदाहरणका लागि, अहिले स्वास्थ्य बीमा १ लाख रुपैयाँ मात्र छ, तर बिरामीको खर्च ५ लाख पुग्छ । यसलाई बदल्न पहिला राष्ट्रिय अर्थतन्त्र मजबुत बनाउनुपर्छ र ऐन नै परिवर्तन गरेर बीमाको रकम बढाउनुपर्छ । यस्ता नीतिगत सुधारका लागि मेरो मेयरको अनुभव र अबको संसद्को यात्रा महत्त्वपूर्ण हुनेछ ।
यो क्षेत्रमा तपाईँको प्रतिस्पर्धा कोसँग हो ?
म विज्ञान र प्रविधिको युगमा विश्वास गर्छु । त्यसैले मेरो प्रतिस्पर्धा कुनै व्यक्ति वा पार्टीको पात्रसँग होइन, यो क्षेत्रको पिछडिएको अवस्था र विकासका बाधकहरूसँग हो । जनताले पाउनुपर्ने सेवा-सुविधा जसले रोक्ने चेष्टा गरिरहेका छन्, जो विकासको बाधक छन्, मेरो लडाइँ उनीहरूसँग मात्र हो ।
अब मतदाता सचेत र सक्षम हुनुपर्छ । यो निर्वाचनमा मतदाताले दिने मत राष्ट्रको समृद्धि र हाम्रा सन्ततिको भविष्यका लागि हो । यो मतलाई एउटा पवित्र दान सम्झिएर दान गर्नुहुनेछ ।
प्रतिक्रिया 4