News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी महिला टी-२० विश्वकप २०२६ को पूरा खेलतालिका सार्वजनिक भएको छ र प्रतियोगिता जुन १२ देखि जुलाई ५ सम्म इंग्ल्यान्ड र वेल्समा आयोजना हुनेछ।
- प्रतियोगितामा १२ टोली सहभागी छन् र उद्घाटन खेलमा इंग्ल्यान्डले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।
- छनोटबाट बंगलादेश, आयरल्यान्ड, स्कटल्यान्ड र नेदरल्यान्ड्स विश्वकपमा स्थान बनाउन सफल भएका छन् र फाइनल जुलाई ५ मा लर्ड्स क्रिकेट मैदानमा हुनेछ।
१२ फागुन, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप २०२६ को पूरा खेलतालिका सार्वजनिक भएको छ। प्रतियोगिताको १०औं संस्करण जुन १२ देखि जुलाई ५ सम्म इंग्ल्यान्ड र वेल्समा आयोजना हुँदैछ।
यसपटक प्रतियोगितामा हालसम्मकै सबैभन्दा बढी १२ टोली सहभागी हुँदैछन्। तालिकाअनुसार आयोजक इंग्ल्यान्डले उद्घाटन खेलमा जुन १२ मा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।
गत महिना नेपालमा सम्पन्न छनोट प्रतियोगितामार्फत बंगलादेश, आयरल्यान्ड, स्कटल्यान्ड र नेदरल्यान्ड्सले विश्वकपमा स्थान बनाउन सफल भएका थिए। नेपाली टोली भने ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको थियो ।
छनोट भएका चार टोलीले साविक विजेता न्युजिल्यान्ड, सन् २००९ को विजेता इंग्ल्यान्ड, सन् २०१६ को च्याम्पियन वेस्ट इन्डिज, भारत र ६ पटकको विजेता अस्ट्रेलियाजस्ता बलिया टोलीसँग प्रतिस्पर्धा गर्नेछन्।
समूह ‘ए’ मा अस्ट्रेलिया, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन्। समूह ‘बी’ मा इंग्ल्यान्ड, न्यूजिल्यान्ड, वेस्ट इन्डिज, श्रीलंका, आयरल्यान्ड र स्कटल्यान्ड छन्।
जुन १३ मा आयरल्यान्ड र स्कटल्यान्डबीच ओल्ड ट्राफोर्डमा खेल हुनेछ। त्यस्तै, जुन २० मा हेडिङ्लेमा इंग्ल्यान्ड र स्कटल्यान्डबीच हुने खेल दुवै टोलीबीच इंग्लिस भूमिमा पहिलो आईसीसी भेट हुनेछ।
नेदरल्यान्ड्सले यसपटक पहिलोपटक महिला टी–२० विश्वकप खेल्दैछ र आफ्नो पहिलो खेल बंगलादेशविरुद्ध खेल्नेछ। छनोट चरणमा बंगलादेश अपराजित रहँदै विश्वकपमा प्रवेश गरेको थियो।
आईसीसीका प्रमुख कार्यकारी अधिकृत सन्जोग गुप्ताले खेलतालिका सार्वजनिक हुनु प्रतियोगिताको तयारीका लागि महत्वपूर्ण कदम भएको बताएका छन्। उनले महिला क्रिकेटको विकास र विश्वव्यापी आकर्षण बढाउने लक्ष्यसहित आईसीसीले निरन्तर लगानी गरिरहेको उल्लेख गरे।
प्रतियोगिताको फाइनल जुलाई ५ मा लन्डनस्थित ऐतिहासिक लर्ड्स क्रिकेट मैदानमा खेलाइनेछ।

प्रतिक्रिया 4