News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पुलिस क्लबले जय ट्रफी क्रिकेटमा एपीएफमाथि ९ विकेटको जित हासिल गरेको छ।
- पुलिसका ललित राजवंशीले दुवै इनिङमा कुल ९ विकेट लिएर म्याच विनिङ प्रदर्शन गरे।
- कुशल भुर्तेलले अविजित ७१ रन बनाएर पुलिसलाई ११३ रनको लक्ष्य पूरा गर्न मद्दत गरे।
१२ फागुन, काठमाडौं । ललित राजवंशीले दुवै इनिङमा कुल ९ विकेट लिँदै म्याच विनिङ प्रदर्शन गरेपछि नेपाल पुलिस क्लबले जय ट्रफी क्रिकेटमा पहिलो जित हासिल गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिसले एपीएफमाथि ९ विकेटको जित हासिल गरेको हो । दोस्रो इनिङमा एपीएफले ११२ रनको अग्रता बनाएपछि पुलिसले ११३ रनको लक्ष्य तेस्रो सत्रमा एक विकेट मात्र गुमाएर पूरा गर्यो ।
कुशल भुर्तेलले अविजित ७१ रन बनाए । अमित श्रेष्ठ ३२ रनमा अविजित रहे । सोहेल कुँवर ७ रनमा आउट भए । एपीएफका लागि भुवन कार्कीले एक विकेट लिए ।
त्यसअघि एपीएफले दोस्रो इनिङमा ९२ रनले पछाडि रहेको अवस्थाबाट अलआउट हुँदै २०४ रन बनाएर ११२ रनको अग्रता बनाएको थियो । एपीएफका लागि दीपक बोहराले सर्वाधिक ९४ रन बनाए ।
अमरसिंह राउटेलाले ३१, आसिफ शेखले २१ अनि इर्शाद अहमदले अविजित २० रन बनाए ।

खेलमा एपीएफले नै टस हारेर पहिले ब्याटिङ गर्दै ६३.४ ओभर खेलेर १८५ रनमा अलआउट भएको थियो । सुमित महर्जनले ५५ रन बनाएका थिए । कप्तान रोहित पौडेलले ४५ रन बनाए ।
दीपक बोहराले २८, युवराज खत्रीले १६, आसिफ शेखले १२, सन्दीप जोराले १० रन बनाए ।
पुलिसका ललित राजवंशी र सागर ढकालले ४-४ विकेट लिए । कुशल भुर्तेलले २ विकेट लिए ।
जवाफमा पुलिसले ६९.५ ओभरमा २७७ रन बनाएर इनिङ घोषणा गर्दै ९२ रनको अग्रता बनाएको थियो । पुलिसका लागि पहिलो इनिङमा शंकर रानाले अविजित शतक बनाएका थिए । उनी १०५ रनमा नटआउट रहे ।
पहिलो जित निकालेको पुलिसले फाइनल सम्भावना कायमै राखेको छ ।
तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर





प्रतिक्रिया 4