+
+
Shares
मध्यपूर्व तनाव :

आधा रेमिट्यान्स खाडीबाटै आउँछ, युद्ध लम्बिए बन्द हुने जोखिम 

खाडी युद्ध लम्बिए श्रम गन्तव्यमा रोजगारमा जान रोक तथा गएका पनि फर्कने हुनाले करिब आधा रेमिट्यान्स आप्रवाह घट्ने जोखिम देखिएको हो । 

भुवन पौडेल भुवन पौडेल
२०८२ फागुन २० गते १९:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा मासिक करिब २ खर्ब रेमिट्यान्स भित्रिन्छ, जसमा ४० देखि ४१ प्रतिशत हिस्सा मध्यपूर्वी देशहरूबाट आउँछ।
  • मध्यपूर्वी युद्धले खाडी मुलुकमा रहेका २० लाखभन्दा बढी नेपाली श्रमिकको सुरक्षा र रेमिट्यान्स आप्रवाहमा जोखिम उत्पन्न गरेको छ।
  • अर्थतन्त्रमा रेमिट्यान्सको निर्भरता हुँदा युद्ध लम्बिए विदेशी विनिमय सञ्चिति र रोजगारीमा गम्भीर असर पर्न सक्ने राष्ट्र बैंक र विशेषज्ञहरूले बताएका छन्।

२० फागुन, काठमाडौं । हाल युद्धग्रस्त खाडी मुलुकबाट मात्रै नेपालमा आधा रेमिट्यान्स आउने गरेको देखिएको छ ।

नेपाल भित्रिने कुल रेमिट्यान्समध्ये करिब ४० देखि ४१ प्रतिशत हिस्सा मध्यपूर्वी क्षेत्रबाट आउने गरेको नेपाल राष्ट्र बैंक प्रवक्ता गुरुप्रसाद पौडेल बताउँछन् ।

राष्ट्र बैंकका अनुसार नेपालमा मासिक २ खर्ब हाराहारी रेमिट्यान्स भित्रिने गरेको छ । चालु आर्थिक वर्ष पुसमा मात्रै नेपाल भित्रिएको कुल रेमिट्यान्स १ खर्ब ९२ अर्ब ६२ करोड बराबर छ । उक्त  अवधिसम्म कुल रेमिट्यान्स आप्रवाह १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ छ । त्यसमध्ये ४० प्रतिशत हिस्सा मध्यपूर्वी देशहरूको रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

‘देशगत हेर्दा साउदी अरब र कतारको हिस्सा सबैभन्दा उच्च करिब ११ देखि १२ प्रतिशत हाराहारी छ,’ पौडेलले भने, ‘यूएईबाट करिब ७ देखि ८ प्रतिशत र कुवेतबाट करिब ४ देखि ५ प्रतिशत रेमिट्यान्स भित्रिने गरेको देखिन्छ ।’

अन्य गन्तव्य देश मलेसिया, दक्षिण कोरिया, जापान लगायत केही युरोपेली देशतर्फ क्षेत्रगत विविधीकरण क्रमश: बढ्दो भए तापनि मध्यपूर्व क्षेत्र अझै पनि नेपालको श्रम गन्तव्य र विदेशी मुद्रा आपूर्तिको ठूलो आधार रहेको पौडेलले बताए ।

सरकारी तथ्यांक अनुसार यूएईमा ९ लाख १५ हजार, साउदी अरेबिया ३ लाख ८५ हजार, कतार ३ लाख ५८ हजार, कुवेत १ लाख ७५ हजार, बहराइन २८ हजार, इराक ३० हजार, साइप्रस १७ हजार र ओमानमा २५ हजार नेपाली श्रमिक कार्यरत छन् ।

यसरी सरकारी तथ्यांकले नै करिब १७ लाखभन्दा बढी नेपाली खाडी देशहरूमा श्रम गर्दै आएको देखाउँछ ।

युद्ध लम्बिए श्रम गन्तव्यमा रोजगारमा जान रोक तथा गएका पनि फर्कने हुनाले करिब आधा रेमिट्यान्स आप्रवाह घट्ने जोखिम देखिएको हो ।

तर, रेमिट्यान्स व्यवसायी भने कुल रेमिट्यान्स आप्रवाहमा आधा मध्यपूर्वबाट आउने गरेको बताउँछन् । नेपाल मुद्रा विप्रेषक संघ पूर्वअध्यक्ष चन्द्र टण्डनले करिब ५० प्रतिशत रेमिट्यान्स मध्यपूर्वबाट आउने बताए ।

उनका अनुसार हाल रेमिट्यान्स आइरहेको छ । आगामी दिनमा श्रमका लागि जाने नेपाली नभएपछि केही फरक पर्न सक्ने टण्डनको भनाइ छ ।

अमेरिका र इजरायलले इरानमा संयुक्त आक्रमण गरिरहेका छन् । आक्रमणमा इरानका सर्वोच्च नेता आयोतुल्लाह अलि खामिनी सहित अन्य उच्च अधिकारीहरूको पनि मृत्यु भइसकेको अवस्था छ ।

आक्रमणको जवाफमा इरानले इजरायल सहित खाडी देशहरूमा रहेका अमेरिकी सैनिक क्याम्प तथा दूतावासमा आक्रमण गरेको छ । नेपालीहरूको मुख्य श्रम गन्तव्यका रूपमा रहेका खाडी देशहरूमा द्वन्द्व बढ्दै गए पनि त्यस क्षेत्रबाट आउने रेमिट्यान्स प्रभावित हुने देखिएको छ ।

इरानले यूएईमा गरेको आक्रमणमा परी एक नेपालीको ज्यान गइसकेको छ । युद्धका कारण खाडी देशहरूले आफ्ना नागरिकलाई घर बाहिर ननिस्कन आह्वान गरिरहेका छन् ।

त्यसका साथै नयाँ कामदार नजाने र खाडीमा भएका नेपाली स्वदेश फर्कंदा बेरोजगारी समेत बढ्ने विज्ञहरूको विश्लेषण छ । तत्काल रेमिट्यान्स आप्रवाहमा खासै असर नपरे पनि युद्ध लम्बिए नेपालको अर्थतन्त्रमै असर गर्ने उनीहरूको बुझाइ छ ।

पछिल्लो समय अर्थतन्त्रको वाह्य क्षेत्रमा देखिएको सुधारको मुख्य कारण रेमिट्यान्स रहेको राष्ट्र बैंक प्रवक्ता पौडेलको भनाइ छ । विदेशी विनिमय सञ्चिति, आयात, शोधनान्तर स्थिति बचतमा आउनुका साथै व्यापार घाटा घट्नुमा रेमिट्यान्सकै मुख्य योगदान छ ।

आन्तरिक उत्पादन र निर्यात न्यून भएकाले आयात र रेमिट्यान्समा अर्थतन्त्र निर्भर छ । त्यसले गर्दा पनि रेमिट्यान्स आप्रवाह उच्च दरमा घट्दा समग्र अर्थतन्त्रमै असर पुग्न सक्ने पौडेलको बुझाइ छ ।

‘मध्यपूर्वको युद्ध कहिले टुंगिन्छ भन्ने ठेगान भएन, कुन मोडमा अगाडि बढ्छ भन्ने पनि त्यति निश्चित नभएकाले के कस्तो असर गर्ला भनेर अनुमान गर्न छिटो हुन्छ कि !,’ मुद्रा विप्रेषक संघ पूर्वअध्यक्ष टण्डनले भने, ‘सरकारी तथ्यांकले १७–१८ लाख भने पनि हामीहरूको बुझाइमा करिब २० लाखभन्दा बढी नेपाली मध्यपूर्वमा छन् ।’

टण्डनका अनुसार गैरकानुनी रूपमा पनि नेपाली त्यहाँ गएर काम गरेको हुनाले २० लाख मध्यपूर्वमा छन् । ‘ती सबै फर्कने अवस्था भयो भने निश्चय पनि हाम्रो श्रम बजारले थेग्न सक्दैन,’ उनले भने ।

मध्यपूर्वको युद्धका कारण नेपालमा श्रम र रेमिट्यान्स प्रभावित हुने उनको बुझाइ छ । अहिले मासिक करिब २ खर्ब रेमिट्यान्स आइरहेको अवस्था छ । त्यसलाई आधार बनाउँदा पनि १ खर्ब बराबर रेमिट्यान्स तिनै २० लाख नेपालीले पठाएको पैसा हुने गरेको उनको भनाइ छ ।

सामान्य अर्थमा पनि नेपाल भित्रिने कुल रेमिट्यान्समध्ये आधा प्रभावित हुने उनको भनाइ छ । कुल रेमिट्यान्स आधा प्रभावित हुँदा विदेशी विनिमय सञ्चितिमा असर गर्ने देखिन्छ । तत्कालका लागि कनै असर नदेखिए पनि युद्ध लामो चलेको खण्डमा अर्थतन्त्रलाई नै गम्भीर असर पुग्ने टण्डनको बुझाइ छ ।

हालसम्म बहराइन, कुवेत, कतार र यूएईमा धेरै असर गरेको अवस्था छैन । रेमिट्यान्समा बढ्दो निर्भर जोखिम हो भनेर भन्ने गरेको अवस्थामा मध्यपूर्वको तनावले अलिकति ‘थ्रेट’ दिएको उनले बताए ।

 

पछिल्लो समय नेपाली मध्यपूर्वबाट युरोप, जापान, कोरिया जाने क्रम बढेको टण्डनले बताए । मध्यपूर्वको घटनाले नेपालको वित्तीय क्षेत्रलाई नै हलचल गराउने उनको भनाइ छ ।

‘यो नेपालीहरूको सबैभन्दा पहिला त रेमिट्यान्स भन्दा पनि नेपालीको सुरक्षाको निम्ति, कार्यरत व्यक्तिको निम्ति, सुरक्षाको निम्ति ध्यान दिनुपर्ने विषयवस्तु बढी आवश्यक देखिन्छ,’ उनले भने ।

खाडी क्षेत्रमा २० लाख नेपाली छन् । त्यसको ५–६ गुणा बढी भारतीय, पाकिस्तानी र  बंगालादेशी पनि भएकाले अन्तर्राष्ट्रिय दबाबले समस्या समाधान छिटो हुने उनको आशा छ ।

मध्यपूर्वको तनावले नेपालमा पनि अल्पकालीन प्रभाव पर्ने राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् ।

‘अब जान–आउन त बन्द भएको अवस्था छ, प्रत्येक दिन कति हजार जान्थे, अब त्यो त रोकियो,’ थापाले भने, ‘आज गएकाले एक महिना पछि त पैसा पठाउँथे नि त ! वैदेशिक श्रममा जाने नेपालीमा पनि स्ट्रक्चरल चेन्ज भइसकेको हुनाले विगतको जस्तो मध्यपूर्वको योगदान रेमिट्यान्समा नहोला ।’

युरोप, अमेरिकाबाट आउने रेमिट्यान्सको हिस्सा बढ्दै गएकाले मध्यपूर्वको द्वन्द्वले कम असर गर्ने उनको बुझाइ छ । हालको विदेशी विनिमय सञ्चिति १८ महिनाको वस्तु तथा सेवा आयातका लागि पर्याप्त भएकाले तत्कालै असर नदेखिने उनको भनाइ छ ।

रेमिट्यान्स आप्रवाहमा असर गर्ने भएकाले त्यसको असर आयात, पर्यटन लगायत आर्थिक गतिविधिमा पर्ने उनी बताउँछन । साथै, रोजगारीमा पनि असर गर्ने उनको बुझाइ छ ।

लेखक
भुवन पौडेल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत पौडेल बैंक, वित्तीय तथा नेपाल धितोपत्र बजारमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?