+
+
Shares

मध्यपूर्वी देशहरूमा कति छन् नेपाली ?

वैदेशिक रोजगारी, अध्ययन तथा अन्य प्रयोजनका लागि ती देश गएका नेपालीको यकिन संख्या मन्त्रालयले सार्वजनिक गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १७ गते १८:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मध्यपूर्वका १२ देशमा १७ लाख २९ हजार २ सय ८८ नेपाली वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनका लागि रहेका छन्।
  • इरानमा ६ जना नेपाली छन् र त्यहाँ हालको तनावका कारण परराष्ट्र मन्त्रालयले सबै नेपालीको सुरक्षा सुनिश्चित गरेको छ।
  • परराष्ट्र मन्त्रालयले ती देशका १० वटै मिसनसँग निरन्तर सम्पर्क गरी ट्राभल एडभाइजरी जारी गर्दै नेपालीसँग समन्वय गरिरहेको छ।

१७ फागुन, काठमाडौं । मध्यपूर्व (खाडी) देशहरूमा १७ लाख २९ हजारभन्दा बढी नेपाली रहेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार मध्यपूर्वी देशमा १७ लाख २९ हजार २ सय ८८ नेपाली छन् । वैदेशिक रोजगारी, अध्ययन तथा अन्य प्रयोजनका लागि ती देश गएका नेपालीको यकिन संख्या मन्त्रालयले सार्वजनिक गरेको हो ।

परराष्ट्र मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका सहसचिव रामकाजी खड्काका अनुसार हाल इरानमा ६ जना नेपाली छन् ।

इजरायल र अमेरिकाले शनिबार इरानमा हवाई आक्रमण गरेको थियो । आक्रमणमा परेर इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उनको हत्यापछि इरानले खाडी मुलुकमा रहेका अमेरिकी सैन्य बेस क्याम्पहरूमा आक्रमण गर्दै आएको छ । जसले गर्दा ती देशमा रहेका नेपालीको सुरक्षाप्रति चिन्ता र चासो व्यक्त हुँदै आएको छ ।

परराष्ट्र मन्त्रालयले आज गरेको पत्रकार सम्मेलन मार्फत ती देशमा रहेका नेपालीको यकिन संख्याबारे जानकारी दिएको हो । इरान, युनाइटेड अरब इमिरेट्स (यूएई), साउदी अरब, कतार, कुवेत, इराक, बहराइन, ओमान, साइप्रस, इजरायल, लेबनान र इजिप्टमा उक्त संख्यामा नेपाली रहेको सहसचिव खड्काले बताए ।

उक्त तथ्यांक मध्यपूर्वस्थित नेपाली राजदूतावासहरूबाट लिखित रूपमा प्राप्त भएको उनको भनाइ छ । त्यहाँको सरकारी निकायबाट परराष्ट्र मन्त्रालय मार्फत उपलब्ध भएको तथ्यांक रहेको र यसमा अवैध रूपमा बस्दै आएका नेपालीको संख्या नहुन सक्ने बताए ।

‘तीमध्ये पनि कतै अवैध भएर बसेका पनि हुन सक्छन् किनभने एकचोटि जाँदाखेरि डाटा इन्ट्री भएर पछि फेरि अवैध भएको अवस्था पनि हुन सक्छ,’ उनले भने, ‘त्यसैले यो हामीले हेर्दाखेरि सरकारी निकायबाट प्राप्त भएको डाटा हुनाले यसलाई वैध रूपमा बसेका नेपाली नागरिकको संख्या हो भन्ने कुरा बुझ्नुपर्छ ।’

अहिले सम्म सबै नेपाली सुरक्षित रहेको बताउँदै सम्बन्धित देशमा रहेका १० वटै मिसनसँग निरन्तर सम्पर्क भइरहेको उनले बताए ।

ती मिसनले त्यहाँको अवस्था र परिस्थिति हेरेर ट्राभल एडभाइजरी जारी गर्ने, नेपालीसँग समन्वय गर्ने काम गरिरहेको समेत उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?