
२१ असोज, काठमाडौं । वैदेशिक रोजगारीमा मलेसिया तथा खाडी मुलुक जाने नेपाली श्रमिकहरूको भिसा अझै सहज हुन सकेको छैन । जेनजी आन्दोलनका कारण नेपालीलाई भिजिट भिसा र वर्किङ भिसामा कडाइ गरेका ती देशले अझै पनि सहज बनाएका छैनन् ।
युनाइटेड अरब इमिरेट्स (यूएई) ले भिजिट भिसामा पूर्ण रोक लगाएको छ भने वर्किङ भिसामा समेत कडाइ गर्दै आएको छ ।
त्यस्तै मलेसिया, साउदी अरब, कतार लगायत देशले समेत कडाइ गर्दै आएका छन् । भदौ अन्तिमबाट यूएईले नेपालीलाई भिजिट भिसामा रोक लगाएको थियो भने वर्किङ भिसामा कडाइ गरेको थियो । त्यसयता यूएईले नेपालीलाई भिजिट भिसा दिएको छैन ।
यूएईले भिजिट भिसामा नयाँ नियम लागु गरेको छ । भिजिट भिसामा लैजाने स्पोन्सरको आर्थिक दायित्व सुनिश्चत गरेको छ । आफ्नो घरपरिवारका सदस्यलाई भिजिट भिसामा लैजान स्पोन्सर गर्नेको हकमा मासिक ४ हजार दिराम तलब हुनुपर्ने प्रावधान ल्याएको छ ।
त्यस्तै नजिकका आफन्तका हकमा दाजुभाइ, दिदीबहिनी तथा हजुरबुबा, हजुरआमा र नातिनातिनीका हकमा ८ हजार र साथीहरूका हकमा मासिक १५ हजार दिराम तलब हुनुपर्ने व्यवस्था गरेको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारी यूएईले पेन्डिङ रहेकाका हकमा मात्रै वर्किङ भिसा जारी गरिरहेको बताउँछन् । ‘वर्किङ भिसा दुबईमा एकदमै स्लो छ, थोरै भिसा निकालेको छ,’ भण्डारीले भने ।
उनका अनुसार कतारले समेत भिसा दिन कडाइ गरेको र एकदमै कम मात्रामा जारी गरिरहेको छ । कतारले धेरै नै कडाइ गरेको छ । साउदीको पनि भिसा स्लो छ ।
‘भिजिट भिसा त सकभर नआओस् भन्ने नै रणनीति देखिएको छ,’ भण्डारीले भने, ‘पहिलाको पेन्डिङ भिसा आइरहेको छ, नयाँ मापदण्ड नबनाउन नयाँलाई दिने सोच देखिएको छैन ।’
वर्किङ भिसाका हकमा प्रहरी रिपोर्ट तथा अन्य विभिन्न रिपोर्ट माग गरिरहेको र सोही अनुसार मात्रै वर्किङ भिसा जारी गरिरहेको उनको भनाइ छ ।
‘पुराना भिसा एप्लाई गरेकाका हकमा १ सय वटा एप्लाई गर्दा १० वा १५ वटा भिसा दिइरहेको छ, बन्द गर्यो भने गलत मेसेज जान्छ भनेर बिस्तारै स्लो गरिरहेको छ,’ भण्डारीले भने ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ सचिव कुन्छादोर्जे डिम्दोङले वर्किङ भिसा सहज बनाउन संघले पहल गरिरहेको बताए ।
यूएईले भिजिट भिसा पूर्णरूपमा रोक र वर्किङ भिसामा निकै कडाइ गरेको बताउँदै उनले त्यसबाहेक मलेसिया, कतार तथा साउदी लगायत देशले समेत वर्किङ भिसामा कडाइ नै गरिरहेको जानकारी दिए ।
‘अझै केही समय यस्तै रहन्छ नै भन्ने छ, उताका रोजगारदातालाई कामदार चाहिएको छ तर सरकारले कडाइ गरेपछि नेपालबाट पठाउन सकिने अवस्था छैन,’ डिम्दोङले भने, ‘भिसा एदकमै स्लो आइरहेको छ, पूर्ववत् अवस्थामै फर्काउन संघले पहल गरिरहेको छ ।’
प्रतिक्रिया 4