Comments Add Comment

ओम अस्पताल प्रकरण : रकम पाएपछि मृतकका आफन्त चुप

२ असार, काठमाडौं । उपचारका क्रममा विरामीको मृत्यु भएपछि ओम अस्पतालमा सुरू भएको तनाव लेनदेनमा टुंगिएको छ । तर यसबारे मृतकका आफन्त र अस्पताल दुबैले लुकाउन खोजेका छन् ।

अस्पतालले मृतकप्रति समवेदना प्रकट गर्दै तिर्न बाँकी रकम मानवीय हिसावले मिनाहा गर्ने सहमति भएको वक्तव्य जारी गरेको छ । आफन्त मृतकको संस्कार गरेर फर्किएका छन् ।

के थियो घटना ?

सिन्धुपालचोककी रामप्यारी थापाको २४ जेठमा पित्तथैली अपरेशन भएको थियो । भोलिपल्ट अचानक स्वास्थ्यमा समस्या देखियो । अस्पतालले सम्पूर्ण जाँच गर्‍यो र, आईसीयूमा राख्यो ।

आइतबार मात्र रामप्यारीको आन्द्रामा प्वाल परेको पत्ता लाग्यो । त्यही दिन अर्को अपरेशन भयो । अप्रेशनपछि रामप्यारीलाई भेन्टिलेशनमा राखियो । बिहीबार विहान उनको मृत्यु भयो ।

डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्त आन्दोलनमा उत्रिए । अस्पतालमा नाराबाजी गरे । अस्पतालले भने यो केस सामान्य नभएको र उपचारमा कुनै लापरवाही नभएको अडान लियो ।

लगातार धर्ना दिइरहेका मृतकका आफन्तले ३० जेठमा अस्पतालमा तोडफोड भएपछि प्रहरीले सुरक्षा दिन थाल्यो तर तनाव कम भएन । अस्पतालमा दिनहुँजसो नाराबाजी भइरह्यो । भिड हताउन प्रहरीले लाठी पनि हान्यो तर  आन्दोलन रोकिएन । आइतबार सहमतिसँगै विवाद टुंगिएको छ ।

यो पनि पढ्नुहोस ओम अस्पताल प्रकरण: आफन्त भन्छन्, लापरवाही भयो, अस्पताल भन्छ,  सामान्य केस थिएन

मृतकका आफन्तले आइतबार नै रामप्यारीको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरेका छन् ।

के भयो सहमतिमा ?

ओम अस्पतालले मृतकप्रति समवेदना प्रकट गर्दै अस्पताललाई तिर्न बाँकी रकम मानवीय हिसाबले मिनाहा गर्ने सहमति भएको बताएको छ । तर सहमति त्यति मात्र नभएको पाइएको छ ।

रामप्यारीका एक आफन्तले नाम नबताउने शर्तमा भने, ‘मृतकको छोरालाई उच्च शिक्षाको लागि सम्पूर्ण खर्च अस्पतालले बेहोर्ने सहमति भएको छ । हाम्रो माग पूरा भएपछि आन्दोलन टुंग्याएका हौँ ।’

मृतक रामप्यारीको १७ वर्षीय छोरा कक्षा १२ को परीक्षा सकाएर बसेका छन् । ‘रकम कति हो म भन्दिन, तर मृतकको छोराको उच्च शिक्षाका लागि उचित फण्ड जम्मा गरिदिने भएछ’  आफन्तले अनलाइनखबरसँग भने, ‘जे नहुनु भइगयो, बच्चाको भविष्य हेरेर हामीले सहमति गरेका हौं ।’

ओम अस्पतालका मेडिकल डाइरेक्टर डा. केपी देवकोटा भने मृतकको कुनै माग पूरा नगरिदिएको दाबी गर्छन् । उनले भने, ‘उहाँहरुको माग धेरै थिए । त्यही भएर धेरै दिन आन्दोलन गर्नुभयो । आन्दोलनले केही नहुने देखेपछि आन्दोलन तोड्नुभयो । सबै माग पूरा गरेको छैनौं ।’

तर अस्पतालमा उपचार गर्दा लागेको खर्च साढे तीन लाख रुपैयाँ मिनाहा गरिदिएको स्वीकार गरे ।

मेडिकल काउन्सिल भन्छ : अस्पताललाई पत्राचार गरेका छौं

नेपाल मेडिकल काउन्सिलले भने ओम अस्पतालको घटनाबारे अनुसन्धान भइरहेको बताएको छ ।

मृतकका आफन्तले काउन्सिलमा उजुरी नगरे पनि अनुसन्धान सुरु गरिसकेको मेडिकल काउन्सिलका रजिष्टार डा. दिलिप शर्माले बताए । ‘घटनाबारेसत्य तथ्य जानकारी गराउन अस्पताललाई पत्राचार गरिसकेका छौं’ शर्माले भने, ‘अस्पतालले जवाफ पठाएपछि हामी थप अनुसन्धान गर्छौं ।’

अधिंकाश विवाद लेनदेनमा टुंगिन्छ

पछिल्लो समय उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चिकित्सकको लापरवाही भन्दै आन्दोलन गर्ने क्रम बढ्दो छ ।

तर, हरेक जसो घटना लेनदेनमा गएर टुंगिन्छ । ओम अस्पतालमा पनि थुप्रै घटना यसरी नै टुंगिएको छ ।

गएका ५ वर्षमा ओमलाई ५ भन्दा बढी घटना चिकित्सकको लापरवाही भएको आरोप लाग्यो । सुरुमा तोडफोड भयो र पछि घटना एकाएक सेलायो ।  आर्थिक लेनदेन भएपछि घटना साम्य भएको चर्चा चल्यो ।

गत २९ भदौमा नाकको शल्यक्रिया गर्दा बुटवलकी कमला भट्टको ओम अस्पतालमै मृत्यु भयो । डाक्टर समयमै अस्पतालमा नआएर नर्सहरुले गलत औषधि चलाएको कारण भट्टको मृत्यु भएको उनका आफन्तहरुले आरोप लगाए । अस्पतालले भने बिरामी डिस्चार्ज हुने बेला अचानक हर्टअट्याक भएर मृत्यु भएको बतायो ।

आफन्तहरुले अस्पताल तोडफोड गरे, धर्ना दिए, जसका कारण आकस्मिकबाहेक अन्य सेवा केही दिन बन्द भयो । डाक्टरलाई कारबाही नगरी शव नउठाउने भनेर धर्ना दिएका आफन्त एकाएक पछि हटे । त्यतिबेला पनि अस्पतालले बिरामीका आफन्तलाई पैसा दिएर अस्पतालले घटना साम्य पारेको चर्चा चल्यो । तर, रकमबारे दुबै पक्ष बोल्न चाहेनन् ।

यो पनि पढ्नुहोस्

डाक्टरको लापरवाही कि बिचौलियाको बिजनेस ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment