Comments Add Comment

राजधानीमै झार उखेलेर झारा टार्दै प्रधानमन्त्री रोजगार कार्यक्रम !

काठमाडौं महानगरमा ३१९ जना मात्रै बेरोजगार भेटिए

१ असार, काठमाडौं । बेरोजगारी घटाउने भनेर यस वर्षबाट कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रमका थरीथरीका झाँकी देशभरका स्थानीय तहमा देखिएका छन् । काठमाडौं महानगरपालिकाले पनि आर्थिक वर्षको अन्तिम महिनामा यो कार्यक्रमको ‘रिहर्सल’ गरेको छ ।

स्थलगत अवलोकनका क्रममा हामी आइतबार वडा नम्बर ५ स्थित गहनापोखरी पुग्दा प्रधानमन्त्री रोजगार कार्यक्रमको विद्रूप दृश्य देखियो ।

बेरोजगारी हटाउने उद्देश्यले सरकारले ल्याएको यो कार्यक्रम कसरी कार्यान्वयन भइरहेको छ र यसबाट कुन वर्ग लाभान्वित भइरहेको छ भन्ने प्रष्टै देखियो ।

गहनापोखरी नजिकै अलिकति खाली ठाउँ थियो । त्यहाँ १२ जना महिला र एक पुरुष उभिएका थिए । उनीहरु त्यहाँ झार उखेल्न आएका रहेछन् ।

टोलमा रहेकी एक महिलाले हातमा कुटो र कोदालो बोकेकी थिइन् । ‘अन्त त ज्याकेट र हेलमेट पनि दिन्छन् रे है ?’ उनले भनिन्, ‘खोई, हामीलाई त दिएका छैनन्, भोलिपर्सि देलान् कि ?’

पोखरीको डिल नजिकै उभिएका उनीहरुले अनलाइनखबरको टोली पुगेपछि आफूहरुले आज गरेको काम देखाए । अञ्दाजी २ मिटर चौडाई र ७ मिटर जति लम्बाई भएको ठाउँमा झार उखालेर सिनिक्क बनाइएको थियो ।

‘यसपछि के गर्नुहुन्छ, कि आजको डिउटी सकियो ?’ अनलाइनखबरको प्रश्नमा उनीहरुले साँझ ६ बजेसम्म काम गर्नुपर्ने सुनाए । तर, कामअनुसार सरकारले हाजिरा कम दिएको उनीहरुको गुनासो थियो ।

‘हामीले कामदार लगाउनुप¥यो भने दैनिक १ हजार २ सय रुपैयाँ दिनुपर्छ, तर, हामीलाई सात सय मात्रै दिने भनेका छन्,’ उनीहरु भन्दै थिए ।

उनीहरुले दुई सिफ्टमा काम गरेमा १४ सयसम्म पाइने बताए ।

टोलीकी संयोजक सकुन्तला घिमिरेले चाहिँ १ हजार रुपैयाँ पाउने निर्णय वडा कार्यालयले गरेको बताइन् । बेरोजगार भएवापत प्रधानमन्त्र िरोजगार कार्यक्रममा समेटिएकी करिब ६० वर्ष उमेरकी देखिने शकुन्तला एउटा सामुदायिक होम स्टेकी सञ्चालिका रहिछन् ।

वडामा १८ जनाको नाम रोजगारी लागि छनोट भएको भए पनि १३ जनामात्रै उपस्थित थिए । टोलिकी प्रमुख घिमिरेले भनिन्, ‘पहिले १८ जना नै थियौं, ५ जनाले पछि अन्तै काम गर्न थाल्यौं भन्नुभयो ।’

टोलीमा एक दम्पत्ती पनि थिए । उनीहरुले फुर्सदिलो भएर दिनभर घरमा बस्नुभन्दा दुबैजना काममा आउन पाउँदा खुसी लागेको सुनाए ।

हामीले सोध्यौं, ‘तपाईंहरुको घर कहाँ हो ?’

श्रीमानले भने, ‘सुनसरी ।’

‘सुनसरीको मान्छेले पनि यहाँ काम गर्न मिल्दो रहेछ ?’

श्रीमतीले जवाफ दिइन्, ‘काठमाडौंमा पनि घर छनि ।’

****

सरकारले गत फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको थियो । चालु आर्थिक वर्षमा ३ अर्ब रुपैयाँ छुट्याइएको कार्यक्रममा आगामी वर्ष दुई अर्ब थपेर ५ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

तर, चालु आर्थिक वर्षमा छुट्याइएको बजेट नै सदुपयोग हुन सकेको छैन । बाँदर लखेट्नेदेखि झार उखेल्नेजस्ता काममा सरकारी ढुकुटी खर्च गरिएको छ ।

हातमा बेल्चा समाउँदै हेलमेट र राता टल्कने ज्याकेट लगाएर झार उखेलिरहेका तस्वीरहरु यतिबेला सामाजिक सञ्जालमा ‘भाइरल’ छन् । गोरेटो बाटो बनाउन गाउँपालिकाले यही कार्यक्रम अन्तर्गतको बजेट खर्च गरेको भन्दै आलोचना पनि भएको छ । जनश्रमदानबाट हुने कामहरुमा पनि सरकारले राज्यकोषबाट खर्च गरेको छ ।

चालु आर्थिक वर्षको अन्तिम महिनामा यो कार्यक्रमका लागि अधिकांश गाउँपालिकाहरुले भर्खर कार्यक्रम छनोट गर्दैछन् । तर, अधिकांश स्थानीय तहका कार्यक्रम एकैखालका छन् । विशेष गरी सडकका योजनामा कार्यक्रम केन्द्रित छन् । सडक मर्मत गर्ने, नाला बनाउने, ढुंगा बिछ्याउने लगायतको कामलाई धेरै स्थानीय तहले यो कार्यक्रमभित्र समेटेका छन्, र बेरोजगारको सुचीमा दर्ता भएका थोरै व्यक्तिलाई रोजगारी दिइएको छ ।

कुलो मर्मत गर्ने, मठमन्दिर र सामुदायिक भवन तथा सार्वजनिकस्थल सरसफाइ गर्ने कामका लागि पनि यो बजेट खर्च हुँदैछ ।

अधिकांश गाउँपालिकाहरुले यतिबेला छनोट भएका बेरोजगारहरुलाई काँधमा बेल्चा भिराएर कुलो खन्ने, बाटो खन्ने, गोरेटो बनाउने, नाली सफा गर्ने जस्ता ठाउँमा खटाएका छन् ।

महानगरमा बेरोजगार ३१९ मात्रै !

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत रोजगारीका लागि आवदेन दिनेको संख्या काठमाडौंमा अत्यन्तै न्यून देखिएको छ । काठमाडौं महानगरले दिएको जानकारीअनुसार यहाँ जम्मा ३१९ जनाले मात्रै रोजगारीका लागि आवेदन दिएका छन् ।

जब कि महानगरको जनसंख्या २० लाखभन्दा बढी भएको मानिन्छ । यति ठूलो जनसंख्यामा जम्मा ३१९ जनाले मात्रै रोजगारीका लागि निवेदन दिनुले कार्यक्रममा वास्तविक वेरोजगारको आकर्षण नभएको बुझ्न सकिन्छ ।

महानगरमा कार्यरत रोजगार संयोजक भरत ओली भने आँकडा हेरेर निरुत्साहित हुनुपर्ने अवस्था नरहेको बताए । नयाँ अभ्यास भएका कारण यसपालि आवेदन कम आएको उनको आँकलन छ । ‘कतिपयले रोजगार पाइन्छ भनेर विश्वास नगरेकाले पनि धेरै मानिस आएनन्,’ उनले भने ।

रोजगारीका लागि आवेदन दिने ३१९ जनामा पनि सबैले रोजगारी पाउने सम्भावना छैन । चालु आर्थिक वर्षका लागि एक महिना मात्रै बाँकी छ ।

कहाँ के काम ?

महानगरले दिएको जानकारीअनुसार आइतबारदेखि ३ वडा वडाहरुले यसको कार्यान्वयन गर्न थालेका हुन् । काठमाडौं महानगरको वडा नम्बर ५ ले आइतबारदेखिको तलब पाउने गरी १३ जनालाई रोजगारी दिएको हो ।

यस्तै, वडा नम्बर २६ ले नाली सफा गर्ने काम शुरु गरेको छ । २६ वडा कार्यालयले १८ जनालाई नै सामाखुसीमा नाली सफा गर्न खटाएको हो ।

यता, काठमाडौं महानगरपालिकाको १३ नम्बर वडा कार्यालयले भने फरक किसिमको रोजगारी दिँदैछ । काठमाडौं महानगरका रोजगार संयोजक ओलीका अनुसार आइतबारबाटै सो कार्यालयले तथ्यांक संकलनको जागिर दिदैछ ।

१३ नम्बर वडा कार्यालयमा २५ जना रोजगारीका लागि छनोट भएका छन् । उनीहरुले वडा कार्यालयमा रहेका विभिन्न कार्यालयहरुको तथ्यांक संकलन गर्ने ओलीले बताए ।
उनका अनुसार २५ जनाले वडामा कति अस्पताल छन्, कति विद्यालय छन्, कति विभिन्न संस्थाहरु छन् भन्ने तथ्यांक संकलन गर्नेछन् । अन्य २ वडा कार्यालयहरुले पनि यसै वर्ष कार्यक्रमको शुरु गर्ने ओलीले जानकारी दिए । संयोजक ओलीका अनुसार वडा नम्बर १५ र ७ ले पनि विरुवा रोप्ने नै काम गर्नेछन् ।

उक्त कामका लागि १५ वडाले ३ जनालाई वृक्षारोपण गर्ने काम दिने छ भने ७ ले बागमति किनारामा २० जनालाई फूल रोप्न लगाउनेछ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment