Comments Add Comment

गृृहमन्त्री भन्छन्– नीति निर्माताले सही योजना बनाउन नसक्दा ट्राफिक जामको समस्या

५ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नीति निर्माताले सही ढंगले विकासका योजना निर्माण गर्न नसकेकाले ट्राफिक जामको समस्या भएको बताएका छन् । बढ्दो सहरीकरणसँगै उपत्यकामा देखिएको ट्राफिक जामको समस्यालाई हल गर्न विकासको नीतिलाई सच्याउनु पर्ने उनको भनाइ छ ।

महानगरीय ट्राफिक महाशाखा, रामशाहपथले आइतबार आयोजना गरेको ‘ट्राफिक स्वयम्सेवक परिचालन’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘सहरीकरणसँगै अहिले ट्राफिकको समस्या देखा परेको छ । यसकारणले यो समस्यालाई हल गर्नका लागि हाम्रो विकासको नीतिलाई पुनर्विचार गर्नुपर्छ ।’

ट्राफिकसम्बन्धी विषयलाई विकासको योजनासँग जोडेर हेर्नु जरुरी रहेको उनले बताए । उनले विकासका नीति निर्माता र योजनकारहरुलाई त्यस दिशामा सोच्न पनि आग्रह गरे ।

‘नागरिकहरुले पनि विकासका कार्यमा समन्वयको अवधारणाबाट हेर्नु जरुरी छ । विकासमा नागरिककको पनि भूमिका र सहभागिता हुनुपर्छ’, उनले भने, ‘नागरिकले आ–आफ्नो भूमिका सही ढंगले निर्वाह गरेनन् भने सही ढंगले विकासलाई अघि बढाउन सकिँदैन ।’

त्यही कारणले ट्राफिक व्यवस्थापनमा युवासँग समन्वय गरेर अभियान थालिएको उनले बताए । उनले भने, ‘यो अभियान नागरिकलाई सचेत गराउनका लागि पनि हो । ट्राफिक नियम पालना गर्नुपर्छ । रातो वत्तीमा रोकिनुपर्छ, हरियोमा हिँड्नुपर्छ भन्ने चेतना जगाउन जरुरी छ ।’

नागरिक आफ्नो जिम्मेवारीप्रति जिम्मेवार नभए ट्राफिक जामको समस्यालाई नियन्त्रण गर्न नसकिने पनि उनले बताए ।

सडक दुर्घटना प्रकोपभन्दा डरलाग्दो

थापाले एक तथ्यांक पेश गर्दै प्राकृतिक प्रकोपभन्दा सडक दुर्घटना डरलाग्दो रहेको बताए । उनका अनुसार मुलुकमा सबैभन्दा बढी मानिसको मृत्युको कारण सडक दुर्घटना हो ।

‘धेरैलाई यो कुरा थाहा छैन होला, प्राकृतिक प्रकोपबाट एक जार जति मानिसको नेपालमा मृत्यु हुन्छ तर, सडक दुर्घटनाबाट झण्डै २ हजार बढीको हरेक वर्ष मृत्यु हुन्छ’, उनले भने, ‘यसले पनि अहिले थालिएको अभियान महत्वपूर्ण छ भन्ने देखाउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment