Comments Add Comment

प्रशारण लाइनमा अवरोध, स्थानीय भन्छन् : मुख्यमन्त्री र कुलमान आउनुपर्छ

गिधनियामा सांसद अमनलाल मोदी ।

४ मंसिर, विराटनगर । दुहबी–कटहरी ३३ केभी प्रसारणलाइन निर्माणमा देखिएको अवरोध हटाउन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको प्रयास असफल भएको छ ।

दुहबी सबस्टेशनदेखि कटहरी स्टेशनसम्म प्रसारणलाइन विस्तारमा ग्रामथान गाउँपालिका– ५ गिधनियाका सर्वसाधारणको अवरोधका कारण ६ महिनायता काम अघि बढ्न सकेको छैन ।

विद्युत प्राधिकरणले सुनसरीको दुहबी सवस्टेशनदेखि कटहरी सबस्टेशनसम्म प्रशारण लाइन विस्तारका लागि पोल गाडे पनि गिधनिया बस्तीमा प्रशारण लाइनका कारण रोग फैलने भन्दै स्थानीयले तार टाँग्न दिएका छैनन् । दुहबी–कटहरी खण्डमा १३ किलोमिटर क्षेत्रमा काम सकिए पनि तीन किलोमिटर क्षेत्रमा अवरोध छ ।

स्थानीयबासी घरमाथिबाट तार लैजादा स्वास्थ्यमा असर गर्ने भएकाले रुट परिवर्तन गर्न माग गर्दै आएको बताउँछन् । प्राधिकरणले अण्डर ग्राउण्ड वा तारलाई कभर गरेर लैजाने विषयमा छलफल गरेको थियो । तर स्थानीयले भने दुईवटै विकल्पलाई अस्वीकार गरेका छन् ।

मुख्यमन्त्री राईको पहलमा कात्तिक १ गते बसेको बैठकले ४५ दिनभित्र काम सक्ने सहमति गरेको थियो । तर सोही सहमति अनुसार प्रसारण लाइन निर्माणका लागि सोमबार स्काभेटरसहित पुगेको टोलीलाई स्थानीयले फर्काएका हुन् ।

मुख्यमन्त्रीको प्रयास असफल भएपछि मोरङ क्षेत्र नम्बर ४ का सांसद अमनलाल मोदी गिधनिया पुगेका छन् । तर स्थानीयले भने प्रसारण लाइन निर्माण गर्न नदिने अडान राखेका छन् ।

‘हाम्रो एउटै माग रुट परिवर्तन गर्नुपर्छ भन्ने हो’, स्थानीय संघर्ष समितिका संयोजक भक्कुलाल विश्वासले भने, ‘अण्डरग्राउण्ड गर्दा बढी खतरा हुन्छ, माथिबाटै तार कभर गरेर लगे पग्लिने खतरा हुन्छ ।’

घरमाथिबाट बिजुली लैजादा स्वास्थ्यमा असर पर्ने भएका कारण अवरोध गरेको उनले बताए । ‘समस्या सामधानका लागि मुख्यमन्त्री शेरधन राई र प्राधिकरण प्रमुख कुलमान घिसिङ हाम्रो गाउँ आएर सार्वजनिक सुनुवाई गर्नुपर्छ’ उनले भने ‘उहाँहरु नआएसम्म काम अघि बढ्न दिदैनौं ।’

बुधबार विहान मोरङ क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद अमनलाल मोदी स्थानीयसँग छलफल गर्न पुगेका छन् । ‘जनताको समस्या बुझ्न नियमित भेटघाटका लागि पुगेका हुँ’ मोदीले भने ‘गिधनियामा देखिएको समस्या सामधानका विषयमा पनि छलफल भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment