३० कात्तिक, काठमाडौं । ‘त्रिवि क्रिकेट मैदान हाम्रो मन्दिर हो । यहि मन्दिरमा भगवानसँग खेल्न पाउँदा गौरवान्वित छु’ नेपालका पूर्वकप्तान विनोद दासले खुसी व्यक्त गरे ।
क्रिकेट जगतमा सचिन तेन्दुलकरलाई भगवानकै रुपमा लिइन्छ । नेपाली क्रिकेटहरुले अनि त्रिवि क्रिकेट मैदानलाई आफ्नो मन्दिर । त्यही मन्दिरमा क्रिकेट जगतका ‘भगवान’ उपस्थित भएर ब्याट चलाएपछि दास खुसी नहुने कुरै थिएन ।
बालअधिकारसम्बन्धी महासन्धी पारित भएको ३० वर्ष पुगेको अवसरमा युनिसेफ नेपालले तेन्दुलकरलाई नेपाल ल्याएको हो । र, उनी कीर्तिपुर मैदानमा उपस्थित हुँदा .सचिन.. सचिन.. सचिन भन्दै दर्शकले हुटिङ गरेका थिए ।
सचिनको अविजित सात रन
सचिनले त्रिवि क्रिकेट मैदानमा बालबालिकासँग मिलेर क्रिकेट पनि खेलेका छन् । १० ओभरको खेलमा सचिनको टिम ब्लू र नेपालका पूर्वकप्तान तथा यू-१९ क्रिकेट टिमका मुख्य प्रशिक्षक विनोद दासले भने रेड टिमको नेतृत्व गरेका थिए ।
टस हारेर पहिले ब्याटिङ गरेको दासको टिमले १० ओभरमा ४४ रन बनायो ।
जवाफी व्याटिङमा सचिन ओपनिङमा आए । यो बेला यस्तो लाग्थ्यो टिम भारतबाट सचिन मैदानमा आउँदैछन् । अनि, खेलाडी जीवनबाट सन्यास लिएइसकेका भए पनि ब्याट बोकेर मैदान प्रवेश गर्दा उनमा पनि गजबको उर्जा देखिन्थ्यो ।
उाले तीन ओभरसम्म खेले । चौका प्रहार गर्दै अविजित सात रन बनाएपछि हात हल्लाउँदै मैदानबाट निस्किए । यतिबेला दर्शकले हुटिङ आयो, सचिन.. सचिन.. सचिन.. ।
खेल सचिनको टिम ब्लूले ९ विकेटले जित्यो । तर हार र जितभन्दा सन्देशमूलक मनोरञ्जनात्म खेल थियो । त्यसक्रममा सचिनले टिममा रहेका स-साना क्रिकेटरहरुलाई बलिङ गराउने, फिल्डिङमा राख्नेदेखि विकेट किपिङसम्म गरे ।
लगतै आयोजित कार्यक्रममा सचिनले नेपाल आएर खेल्न पाएकोमा खुसी व्यक्त गरे । ‘नेपाली क्रिकेटले निकै राम्रो गरिरहेको छ । अझै राम्रो गर्नु होला । यहाँ महिला क्रिकेट टिमलाई देखिरहेको छु । राम्रो खेल्नुहोस्’, सचिनले भने ।
भारतमा नेपाली राष्ट्रिय यू-१९ क्रिकेट टिम लिएर पुगेका प्रशिक्षक एवं पूर्वकप्तान विनोद दास यही खेलका लागि स्वदेश फर्किएका थिए । उनले मन्दिरमा भगवानसँग खेल्न पाएको प्रतिक्रिया दिए ।
प्रतिक्रिया 4