२७ वैशाख, काठमाडौं । ईस्पोर्ट्स संघ नेपालको आयोजना र व्यवस्थापनमा भइरहेको अन्तर्राष्ट्रिय प्रतियोगिता पब्जी मोबाइल एसियन सोडाउन दोस्रो दिन सम्पन्न भएको छ। आज सम्पन्न पाँच खेलपछि प्रतियोगिता अझै चुलिएको छ र अब तेस्रो दिन अन्तिम तथा निर्णायक बन्नेछ ।
दोस्रो दिनको पहिलो खेलमा भियतनामले चिकन डिनर जित्दै दिनको सुरुवात शानदार गर्यो । दोस्रो खेलमा नेपाल ब्लु टोलीले दमदार पुनरागमन गर्दै चिकन डिनर जितेको हो। पाँचवटै खेलमा फरक टोलीहरूले चिकन डिनर हात पारेसँगै अंक तालिकामा उतारचढाव देखिएको छ ।
इन्डोनेसिया १२८ अंकसहित शीर्ष स्थानमा यथावत छ भने पाकिस्तान ११७ अंकसहित दोस्रो स्थानमा रहेको छ । नेपाल ब्लु टोली ८३ अंकसहित चौथो, नेपाल रातो टोली ८० अंकसहित पाँचौं र नेपाल ह्वाइट टोली आठौँ स्थानमा छ । लेबनान १० अंकसहित तालिकाको अन्तिम स्थानमा संघर्षरत देखिएको छ ।
भ्यालुएबल प्लेयर सूचीमा इन्डोनेसियाका लालाकिबिक सबैभन्दा अगाडि छन्। उनले हालसम्म २३ एलिमिनेशन गर्दै २७.७६ भ्यालुएबल अंक बटुलेका छन्। शीर्ष ५ मा पाकिस्तानका ३ खेलाडी छन्, तर अहिलेसम्म कुनै नेपाली खेलाडी शीर्ष ५ मा प्रवेश गर्न सकेका छैनन ।
प्रतियोगितामा कुल १० लाख रुपैयाँको पुरस्कार राशी छ । शीर्ष ६ टोलीहरूले नगद पुरस्कार प्राप्त गर्नेछन् जसमा विजेता टोलीलाई ४ लाख रुपैयाँ प्रदान गरिनेछ । साथै, भ्यालुएबल प्लेयर अवार्ड विजेताले पनि नगद पुरस्कार जित्नेछन ।
अब बाँकी रहेको अन्तिम दिन – जेठ २७ गते (मे ११) मा हुने ५ खेल निर्णायक हुनेछन । जसले पनि उत्कृष्ट प्रदर्शन गर्दै बढी अंक बटुल्नेछ, उसैलाई पब्जी मोबाइल एसियन सोडाउन २०२५ को च्याम्पियन घोषित गरिनेछ ।
खेलहरू दिउँसो १ बजेदेखि ईस्पोर्ट्स संघ नेपालको आधिकारिक युट्युब च्यानल मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ। नेपाली टोलीहरूप्रति सबैको ठूलो समर्थन र उत्साह देखिएको छ ।
प्रतिक्रिया 4