२७ वैशाख, काठमाडौं । अलराउण्डर दीपेन्द्रसिंह ऐरी नेपाली राष्ट्रिय क्रिकेट टिमको उपकप्तानको भूमिकामा फर्किएका छन् ।
नेपाल क्रिकेट संघ क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा लिग २ शृंखलाका लागि घोषणा गरेको टिममा दीपेन्द्र उपकप्तान चयन भएका हुन् ।
उनी २०७८ सालको मंसिरपछि फेरि उपकप्तानको भूमिकामा फर्किएका हुन् । त्यतिबेला क्यानले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान ऐरीलाई अनुशासन उल्लंघन गरेको भन्दै जिम्मेवारीबाट हटाएको थियो ।
त्यसपछि सन्दीप लामिछाने कप्तान नियुक्त भएका थिए भने उनी पनि २०८० को भदौमा कानूनी झमेलामा फसेपछि रोहित कप्तान नियुक्त भएका थिए ।
दीपेन्द्रलाई अब फेरि उपकप्तानको भूमिकामा फर्काउने निर्णय पूर्णरूपमा क्यानमा नै निहीत भएको र छलफलबाटै उक्त निर्णय लिएको जनाइएको छ ।
दीपेन्द्रले सन् २०२४ देखि यता खेलिएका ७ एकदिवसीय खेलमध्ये ५ इनिङमा ब्याटिङ गर्दा ५९ रन मात्र बनाएका छन् ।
नेपालको एकदिवसीय टोलीमा बसिर अहमदले पुनरागमन गर्दा नन्दन यादव फेरि एकपटक एकदिवसीय टोलीमा समावेश भएका छन् । बसिरले सन् २०२२ मा पछिल्लोपटक नेपालका लागि एकदिवसीय खेलेका थिए ।
त्यस्तै नन्दन यादव पनि यसअघि नेपालको टोलीमा परेको भएपनि डेब्यूको मौका भने पाएका थिएनन् । अब उनलाई स्कटल्याण्डमा डेब्यूको मौका हुनेछ ।
त्यस्तै नेपाली टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल हालका लागि नेपाली टोलीको सहायक प्रशिक्षकको रूपमा तोकिएको पनि क्यान प्रवक्ता छुम्बी लामाले जनाएका छन् । यसअघि मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आउन बाँकी रहेको अवस्थामा हङकङ सिरिजमा उनी प्रशिक्षक रहेका थिए ।
प्रतिक्रिया 4