Comments Add Comment
मन्त्रिपरिषद् पुनर्गठनको प्रभाव :

अधिकांश मन्त्रीको कुर्सी खाली, कार्यकक्ष मर्मतसम्भार

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नै भनेपछि मन्त्रीहरुले मन्त्रिपरिषद पुनर्गठन हुँदैछ भन्ने औपचारिक जानकारी पाए । तर कुनकुन मन्त्री हट्दैछन् भन्ने न प्रधानन्त्रीले जानकारी दिएका छन्, न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले ।

त्यसैले मन्त्रिपरिषद् पुनर्गठन हुने भनिएको दिन सिंहदरबारमा एक प्रकारको सन्नाटा छाएको छ ।

अधिकांश मन्त्री कार्यालय गएका छैनन् । सचिवालयका कर्मचारी पनि अनुपस्थित छन् । कुनै मन्त्रीको कार्यकक्षमा त मर्मत सम्भार चलिरहेको पनि देखियो ।

बुधबार मध्याहृन सिंहदरबार पुग्दा उद्योग वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन, कृषि, युवा तथा खेलकुद र खानेपानी मन्त्रालयमा मन्त्रीहरु थिएनन् । निजी सचिवालयका कर्मचारी पनि देखिएनन् ।

करिब एघार बजेतिर कृषि मन्त्रालयमा पुग्दा मन्त्री चक्रपाणि खनालको कार्यकक्ष खाली थियो । सचिवालयको कार्यकक्षमा पनि कोही कर्मचारी देखिएनन् । मन्त्रालयका एक कर्मचारीले अनलाइनखबरसँग भने, ‘उहाँ विदा हुने लगभग निश्चित छ, त्यही भएर नआउनु भएको होला ।’

उनको सचिवालयका एक सदस्यले भने मन्त्री खनाल बुटवल गएको र काठमाडौं आउँदै गरेको बताए ।

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माको कार्यकक्ष पनि खाली छ । प्रमुख स्वकीय सचिव सुशील विकले मन्त्री विश्वकर्मा विदा हुनेबारे आफूलाई जानकारी नभएको, तर उनी मन्त्रालयमा नआएको जानकारी दिए ।

तर रोचक के भने मन्त्रालयमा मन्त्रीको कार्यकक्षमा मर्मत सम्भार सुरु भइसकेछ । केही व्यक्तिहरु फर्निचर फेर्ने, मिलाउने काममा व्यस्त देखिन्थे ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित पनि कार्यकक्षमा छैनन् । सचिवालयका अन्य कर्मचारी पनि छैनन् । मन्त्री यादव बुधबार बिहान बोलाइएको राज्य व्यवस्था समितिको बैठकमासमेत उपस्थित भएनन्, जसका कारण बैठक स्थगित गर्नुपरेको छ ।

खानेपानीमन्त्री बिना मगर पनि मन्त्रालयमा देखिइनन् । उनको स्वकीय सचिव विजयदेव भट्टराई भने कार्यकक्षमा थिए । भट्टराईले मन्त्री मगर क्वार्टरमै रहेको र मन्त्रालयमा नआएको जानकारी दिए ।

उद्योग मन्त्री मातृका यादव पनि कार्यकक्षमा छैनन् । उनको निजी र स्वकीय सचिवालयका कर्मचारी पनि कार्यकक्षमा देखिएनन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई भने विहानैदेखि मन्त्रालयमा छन् ।

मन्त्री विष्टले भने- आज गए फेरि नआउने कुरा हुँदैन

अनलाइनखबरकर्मी श्रम मन्त्रालयमा पुग्दा मन्त्री गोकर्ण विष्ट पनि कार्यकक्षमा थिएनन् । सचिवालयका एक सदस्यले दिएको जानकारीअनुसार मन्त्री विष्ट एक होटलमा आयोजित आईएलओको कार्यक्रममा सहभागी हुन गएका थिए ।

केहीबेरपछि मन्त्री विष्ट कार्यकक्षमा आए । अनलाइनखबरसँग कुरा गर्दै उनले पदमा रहने/नरहने भन्ने कुरा ठूलो नभएको बताए ।

‘आज गए फेरि नआउने भन्ने कुरा हुँदैन,’ मन्त्री विष्टले भने, ‘जनताको सेवा गर्नु नै जीवन हो । पदमा रहे पनि, नरहे पनि त्यसमा म सधैं खटिराख्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment