News Summary
Generated by OK AI. Editorially reviewed.- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भारतको भूमि नेपालले मिचेको भनी प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिको जवाफ माग गरेका छन् ।
- विपक्षी दलहरूले उक्त अभिव्यक्ति गलत भए संसदीय रेकर्डबाट हटाउन वा त्यसको तथ्य प्रमाण पेस गर्न दुई महिनादेखि संसद्मा निरन्तर विरोध गरिरहेका छन् ।
- सभामुखले रुलिङ नगरेको भन्दै अध्यक्ष साम्पाङले संसद्मा प्रधानमन्त्रीको जवाफदेहिता र सभामुखको भूमिकाप्रति गम्भीर प्रश्न उठाएका हुन् ।
१९ साउन, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिउपर प्रधानमन्त्री बालेन शाहले जवाफ दिनैपर्ने बताएका छन् ।
तर आफूहरूले जति माग गरे पनि यो विषयमा संसद्मा जवाफ दिन प्रधानमन्त्री तयार नभएको र सभामुख डोलप्रसाद अर्यालले पनि रुलिङ नगरेको भन्दै उनले प्रश्न गरेका हुन् ।
‘थुप्रै दिनदेखि प्रधानमन्त्रीको अभिव्यक्तिलाई सच्याउनुपर्छ भन्ने मागका साथ विरोध गरिरहेका छौं । त्यो रेकर्डबाट पनि हटाइएको छैन,’ साम्पाङले भने, ‘तपाईंलाई पनि नेपालले भारतको भूमि मिच्छ भन्ने लागेको हो र भेटाउनु भएको छैन या के हो ? यो यहाँले पनि भनिदिँदा हुन्थ्यो हामीलाई ।’
विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिमा प्रश्न उठाएर रुलिङको समेत माग गर्दै आएका छन् । रुलिङ नभएपछि साम्पाङले सभामुखमाथि नै प्रश्न उठाएका हुन् ।
१७ जेठमा प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा सांसदहरूको प्रश्न लिएर जवाफ दिएका थिए । त्यसक्रममा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पनि सीमा विवादको विषय उठाए ।
राईको प्रश्न थियो, ‘कालापानी, लिपुलेक, लिम्पियाधुराको समस्या निकै लामो समयदेखि चल्दै आएको छ र अन्य सीमामा थुप्रै समस्या छन् । त्यो सीमामा सरकार छ भन्ने आम नागरिकले कहिले अनुभूति गर्न सक्छन् ?’
जवाफमा प्रधानमन्त्री बालेनले ‘डिप्लोमेटिक रूपमा टेबल टक’ गरेरै समस्या समाधान गर्ने पुरानै बताए । यहाँनेर प्रधानमन्त्री बालेनले नेपालको तर्फबाट समेत भारतीय भूमि मिचिएको विषय थाहा लागेको सुनाए । ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ,’ प्रधानमन्त्री बालेनले भनेका थिए, ‘त्यही भएर दुइटै देशले अध्ययन गरेर हामीले मिचेको छौं, उहाँहरूले मिच्नु भएको छ । के छ ? त्यसलाई बसेर एउटा साथीको रूपमा समाधान गर्ने हामीले सोच राखेका छौं ।’
प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति लगत्तै विपक्षी दलहरूले विरोध गरे । नेपालबाट भारतको जमिन मिचिएको प्रधानमन्त्रीको अभिव्यक्तिको तथ्य मागे ।
‘सम्माननीय प्रधानमन्त्रीले नेपालको तर्फबाट पनि भारतको भूमि मिचिएको रहेछ भन्नुभयो । कहाँनेर मिचिएको हो यसबारे छिटोभन्दा छिटो अवगत गराइयोस्,’ ‘कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सोही दिन भनेकी थिइन्, ‘यो गम्भीर विषय हो । प्रधानमन्त्रीले दुई देशको सीमाबारे बोलेको यो सत्य हो भने राख्न पर्यो । यदि यो सही होइन भने रेकर्डबाट हटाइयोस् ।’
यो विषयमा प्रधानमन्त्री बालेन फेरि बोल्न तयार भएनन् । यसकारण विपक्षी दलहरूले १७ जेठदेखि नै यो विषयलाई लिएर प्रतिनिधिसभामा विरोध गर्दै आएका छन् । यो विषयमा कि तथ्य दिनुपर्ने नभए माफी मागेर संसदीय रेकर्डबाट हटाउनुपर्ने विपक्षी दलहरूको माग रहेको छ ।
यस्तो माग राखेर बैठक सुरु भए लगत्तै विपक्षीले विरोध गर्न थालेको दुई महिना नाघेको छ ।
प्रतिक्रिया 4