Comments Add Comment

ओलीसँग प्रचण्डले मागे ‘कार्यकारी अध्यक्ष’

मन्त्रिपरिषद् पुनर्गठन र सभामुखमा पनि जुटेन सहमति

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड । फाइल फोटो ।

३ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई कार्यकारी अध्यक्ष बनाउनुपर्ने प्रस्ताव अर्का अध्यक्ष केपी शर्मा ओलीसमक्ष राखेका छन् । तर प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सहमति नजनाएपछि मन्त्रिपरिषद् विस्तार र सभामुख समेत टुंगो लाग्न सकेन ।

सकेसम्म सोमबार, नभए मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री ओलीको तयारी थियो । त्यसकै पूर्वतयारीस्वरुप अध्यक्षद्वय ओली र प्रचण्डबीच सोमबार साँझ भेटवार्ता पनि भयो, तर सहमति जुट्न सकेन ।

स्रोतकाअनुसार अध्यक्ष प्रचण्डले ठूलो संख्यामा मन्त्रीहरु हेरफेर गरेर मन्त्रिपरिषद पुनर्गठन भएको सन्देश दिनुपर्ने मत राखेका थिए । ‘३/४ जना मन्त्री मात्र फेर्ने हो भने सरकारको काम अब प्रभावकारी हुन्छ भन्ने सन्देश जाँदैन,’ उनी निकट एक नेता भन्छन् ।

मन्त्री हेरफेरबारे ठोस सहमति नभएपछि प्रचण्डले कार्यकारी अध्यक्ष र सभामुखको विषय प्रवेश गराएका थिए

तर प्रधानमन्त्री ओलीले एकै पटक धेरै मन्त्री हटाउने संकेत गरेनन् । पूर्वमाओवादीबाट उद्योगमन्त्री मात्रिका यादव र कृषिमन्त्री चक्रपाणि खनाल हट्ने पक्का जस्तै छ ।

पूर्व एमालेबाट महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई हटाउने पक्का छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, खानेपानीमन्त्री बिना मगर र युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माको सन्दर्भमा टुंगो लागिनसकेको एक नेताले बताए ।

मन्त्री हेरफेरबारे ठोस सहमति नभएपछि प्रचण्डले कार्यकारी अध्यक्ष र सभामुखको विषय प्रवेश गराएका थिए । स्रोतकाअनुसार प्रचण्डले आफूलाई कार्यकारी अध्यक्ष दिनुपर्ने माग राखेका थिए, तर ओलीले हुन्छ भनेका छैनन् ।

तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता गर्दा ओली र प्रचण्डबीच प्रधानमन्त्रीमा आलोपालो गर्ने सहमति भएको थियो । सुरुमा आलोपालो प्रधानमन्त्रीमा जोड दिएका प्रचण्डले पछिल्लो समय भने आफूलाई पार्टीको जिम्मेवारी दिएर ओलीले पाँच वर्ष सरकार चलाउँदा मान्य हुने मत राख्दै आएका छन् ।

तर प्रधानमन्त्री ओली त्यसमा पनि सहमत देखिएका छैनन् । ओली निकट नेताहरुले पनि अहिले पनि ओली र प्रचण्ड दुवै कार्यकारी अध्यक्ष भएको तर्क गर्छन् ।

‘दुई नेता सघन छलफलमै हुनुहुन्छ । बाहिर आएको जस्तो असमझदारी भएको छैन’, एक नेताले भने ।

दुई अध्यक्षबीच सभामुख कसलाई बनाउने भन्ने पनि छलफल भएको थियो । प्रचण्डले पूर्वसमझदारी अनुसार सभामुख पूर्वमाओवादीबाट हुनुपर्ने धारणा राखेका थिए ।

तर प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओली भने पूर्वसभामुख एवं नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई फेरि सभामुख बनाउने अडानमा छन् । ‘प्रधानमन्त्रीले नेम्वाङलाई सभामुख बनाउनुपर्छ । उहाँको पनि व्यवस्थापन गर्नुछ भन्नुभएको छ,’ स्रोतले भन्यो, ‘प्रचण्डले उहाँको पनि व्यवस्थापन गरौंला, तर सभामुख चाहिँ पूर्वसमझदारी अनुसार होस् भन्नु भएको छ ।’

सभामुखमा पूर्वमाओवादीबाट देव गुरुङ, अग्नि सापकोटा र पम्फा भुसालको दाबी छ भने पूर्वसभामुख ओनसरी घर्तीमगरलाई पनि स्वाभाविक दावेदारका रुपमा हेरिएको छ ।

मन्त्रिपरिषद् पुनर्गठन, कार्यकारी अध्यक्ष र सभामुखबारे सहमति हुन नसकेपछि प्रचण्ड फेरि छलफल गरौंला भनेर बालुवाटारबाट निस्किएका थिए ।

दुई नेताबीच मंगलबार भेट हुने सम्भावना निकै कम छ । किनकी बिहान आफ्ना दिवंगत छोरा प्रकाश दाहालको स्मृति कार्यक्रममा सहभागी भएर उनी दिउँसो नवलपरासीतिर लागेका छन् । साँझ भेट हुने सम्भावना कम छ ।

प्रचण्ड निकट एक नेता भन्छन्, ‘भोलि उहाँहरुबीच कुराकानी भयो र सहमति जुट्यो भने मन्त्रिपरिषद् पुनर्गठन हुनसक्छ । नभए केहीदिन लम्बिन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment