Comments Add Comment

कांग्रेसको घोषणा पत्रमा काण्डै काण्डको चर्चा

‘माओवादीले युवालाई हतियार बोकाउँदा कांग्रेसले पासपोर्ट दिएर विदेश पठाउनु गल्ती थिएन’

पत्रकार सम्मेलनमा का‌ंग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा । तस्वीर : रासस

३ मंसिर, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले आसन्न उपनिर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

मंगलबार केन्द्रीय कार्यालय सानेपा ललितपुरमा पत्रकार सम्मेलन गरी प्रवक्ता विश्वप्रकाश शर्माले ‘नेपाली कांग्रेसको आह्रवान’ नाम दिएर उपचुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । २२ पृष्ठ लामो उपचुनावी घोषणापत्रमा ‘२१ महिनामा सरकारको २१ असफलता’ भनेर सरकारको कामकारबाहीको आलोचना गरिएको छ ।

कांग्रेसले उठाउँदै आएका विषय (बिभिन्न काण्ड)लाई सरकारको असफलता भनेर घोषणापत्रमा लिपिवद्ध गरिएको छ, जसमा राष्ट्रियताको विषय, शान्ति सुरक्षा, विप्लव प्रकरण, वाइडबडडी प्रकरण, होली वाइन प्रकरण लगायत छन् ।

कांग्रेसले आफ्नै प्रमुख प्रतिपक्षीय भूमिकाको पनि समिक्षा गर्दै भनेको छ, ‘संसदमा सालिन भूमिका र सडकमा केही सांकेतिक प्रर्दशन मात्रै गर्यौं हामीले ।’

एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्यसहित ५२ पदका लागि १४ मंसिरमा उपनिर्वाचन हुँदैछ । उम्मेदवार र नेता कार्यकर्ता सम्बन्धित क्षेत्रमा भोट माग्न ब्यस्त रहेका बेला कांग्रेसले उपचुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

कालापानीबारे भारतसँग संवाद हुन सकेन

कांग्रेसले कालापानी विवादमा सरकारले सरकारले अपेक्षित कदम चाल्न नसकेको टिप्पणी गरेको छ ।

भारतले हालसालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटिएको छ । यसमा विषयमा सबै राजनीतिक दल, सबै क्षेत्र र आम जनताको साथ प्राप्त भएको अवस्थामा समेत सरकारले अपेक्षित कदम चाल्न नसकेको कांग्रेसको टिप्पणी छ ।

‘हाम्रो पश्चिमी सीमा महाकाली नदी हो र त्यस पूर्वको कालापानी लगायतका हाम्रा भूभागबाट भारतीय सुरक्षा बल फिर्ता हुनुपर्छ’ प्रवक्ता शर्मा भन्छन्, ‘तर राष्ट्रिय एकताको यो घडीमा सार्थक कूटनीतिक र उच्चस्तरीय राजनीतिक पहलमार्फत परिणाममुखी राष्ट्रवाद प्रस्तुत गर्न सरकार असफल भएको छ ।’

भारतसँग संवाद नभएको र प्रधानमन्त्री मिडिया खपतका लागि मात्र बोलेको उनले बताए । कांग्रेस सरकारमा भएको बेला कालापानीको विषयमा किन उठाइएन ? भन्ने प्रश्न आउन सक्ने भन्दै प्रवक्ता शर्माले यसको पनि जवाफ दिए, ‘त्यसबेला राजनीतिक संक्रमणमा सबै राजनीतिक दलहरु चुक्यौं ।’

शान्ति सुरक्षामाथि प्रश्न

कांग्रेसले विल्लव समस्या र देशमा भएका विभिन्न हत्या हिंसाका घटनालाई देखाएर सरकार शान्ति सुरक्षामा पनि असफल भएको भन्दै आलोचना गरेको छ । ‘विप्लव समूहको हिंसा र चन्दा आतंकप्रति हाम्रो विमति छ’ कांग्रेसको निष्कर्ष छ । तर सरकारले निषेधको मार्ग अख्तियार गर्दा त्यसले समाधानलाई भन्दा द्वन्द्वको मनोवैज्ञानिक विस्तारलाई बल पुर्‍याएको छ’ उसले भनेको छ ।

कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या, प्रधानमन्त्रीकै निर्वाचन क्षेत्र झापा ५ मा दुई जनाको हत्या भएको लगायतका घटनालाई देखाउँदै कांग्रेसले शान्ति सुरक्षामाथि प्रश्न उठाएको हो । यस्तै २१ महिनामा कांग्रेसका चार युवा (कार्यकर्ता) ले रोल्पा, रुपन्देही र सर्लाहीमा सत्तारुढ नेकपाकै कार्यकर्ताहरुको हातबाट जीवन गुमाएको घोषणापत्रमा उल्लेख छ ।

बुढीगण्डकीमा सरकारको राष्ट्रघात

कांग्रेसले बुढीगण्डकी जलविद्युत आयोजनामा सरकारको राष्ट्रघात देखिएको ठहर गरेको छ ।

‘नेपाली आफैंले निर्माण गर्ने भनेर डिजेल र पेट्रोलमा प्रति लिटर ५ रुपैयाँका दरले उठाएको रकम अर्बौ पुगेसकेपछि एका एक एक विदेशी कम्पनीलाई विना प्रतिस्पर्धा सुम्पिनु कुनै जिम्मेवार राष्ट्रवादी कदम थिएन’, कांग्रेसको निष्कर्ष छ, ‘यसले बुढीगण्डकी परियोजनाको भविष्यलाई सम्पूर्ण रुपले अन्यौलमा धकेलेको छ ।’

यसबारे ब्याख्या गर्दै कांग्रेस प्रवक्ता शर्माले तिखो टिप्पणी गरे, ‘बुढीगण्डकीमा कम्युनिस्ट सरकारको राष्ट्रघात देखियो ।’

‘वाइडवडी र वालुवाटार प्रकरण’

कांग्रेसले ‘वाइडवडी र वालुवाटार प्रकरणमा पनि सरकारको आलोचना गरेको छ । संसदको सार्वजनिक लेखा समितिले नेपाल एयरलाइन्सको वाइडवडी जहाज खरीदमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो ।

वाइडवडी प्रकरणलाई लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत आवश्यक टुंगोमा पुग्न सकिने विधिलाई अतिक्रमण गरेर सरकारले ‘शाही आयोग’ गठनको शैलीमा ढाकछोपका लागि छानविन आयोग बनायो । त्यो आयोगको अस्तित्व यतिबेला वेपत्ता छ’ कांग्रेसले घोषणापत्रमा लेखेको छ ।

बालुवाटारको जग्गा प्रकरणलाई पनि सरकारले ढाकछोप गर्न खोजेको कांग्रेसको आरोप छ । ‘बालुवाटारकै जग्गा समेत फिर्ता गराउन नसक्ने स्थिति बन्नु दुईतिहाईको सरकारका लागि लज्जास्पद घटना हो ।’ घोषणा पत्रमा उल्लेख छ ।

कांग्रेसले सत्ता साझेदार दल समाजवादी पार्टीको पनि आलोचना गरेको छ । संविधान संशोधन गर्ने सर्तसहित समाजवादी वर्तमान सरकारमा सहभागी भएको थियो । तर, त्यो पुरा नभएको उल्लेख गर्दै कांग्रेस प्रवक्ता शर्मा भन्छन्, ‘मधेसमा रगत बगाउने कैयौं युवाहरुको रगतलाई कम्युनिस्ट पार्टीको बहुमतको शिरमा दुई तिहाइको मेहन्दी बनाउने कर्ममा मधेस केन्द्रीत दल सामेल भयो । संविधान संशेधन गर्ने विषयमा सरकार असफल भयो ।’

‘युवालाई विदेश पठाउनु गल्ती थिएन’

कांग्रेसमाथि नेपालमा रोजगारी सर्जना नगरेर साउदी, कतार, मलेसिया, दुबईको खाडीमा नेपाली युवालाई पठाउने गरी ढोका खोलेको आरोप लाग्ने गरेको छ । भ्रम चिर्नु छ भन्दै प्रवक्ता शर्माले प्रष्टीकरण दिए, ‘माओवादीले युवाको हातमा बन्दुक थमाउँदै गर्दा कांग्रेसले युवाको हातमा पासपोर्ट थमाएको हो ।’

यो गल्ती नभएको भन्दै उनले भने, ‘उहाँहरुले पठाएको रेमिट्यान्सले देश बाँचिरहेको छ । रेमिट्यान्स आउने ढोका कांग्रेसले खोलेको हो । त्यही रेमिट्यान्सको कारणले भूकम्पपछिको अवस्थाबाट, भारतीय नाकाबन्दीबाट नेपाल उठ्यो ।’

बरु अहिलेको सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा मकै गोड्ने, गाई धपाउने र नाली सफा गर्ने काममा अर्बौ रुपैयाँ खर्च गरेर जग हसाएको कांग्रेसको टिप्पणी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment