+
एनपीएल २०२६ :

चितवन राइनोज : तीन खेलमा दुई कप्तान, दुई फरक नतिजा

२०८३ कात्तिक  १६ गते २२:४५ २०८३ कात्तिक १६ गते २२:४५

अघिल्लो रातसम्म यूएईमा जिम्बाबेको कप्तानी गर्दै अफगानिस्तानसँग टी–२० अन्तर्राष्ट्रिय खेलेका सिकन्दर राजा आजै चितवन राइनोजको कप्तानका रूपमा खेले, यद्यपि खेलमा प्रभाव भने पार्न सकेनन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवन राइनोजले एनपीएलको तेस्रो संस्करणमा सिकन्दर राजाको कप्तानीमा सुदूरपश्चिम रोयल्ससँग ५ विकेटले हार बेहोरेको छ।
  • राजाले ब्याटिङमा २० बलमा १५ रन बनाए भने बलिङमा ४ ओभरमा २६ रन खर्चेर पनि विकेट लिन सकेनन् र तीन नो बल फाले।
  • सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेनले २१ बलमा ४३ रन बनाएर टोलीलाई १६.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गराए।

१६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजले फरक कप्तानको नेतृत्वमा खेलेका पछिल्ला दुई खेलमा फरक नतिजा बेहोरेको छ।

पहिलो खेलमा रवि बोपाराको कप्तानीमा विराटनगर किङ्सलाई हराएको चितवनले सिकन्दर राजाको नेतृत्वमा भने सुदूरपश्चिम रोयल्ससँग ५ विकेटको हार बेहोरेको छ।

चितवनको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि लुम्बिनी लायन्ससँग अंक बाँडेको थियो। त्यसपछि तेस्रो खेलमा कप्तानी सम्हालेका राजाको व्यक्तिगत प्रदर्शन पनि प्रभावशाली हुन सकेन। उनले ब्याटिङमा २० बलमा १५ रन बनाए भने बलिङमा तीन नोबल फाले अनि विकेट लिन सकेनन्।

यस खेलमा राजाको आगमन पनि विशेष थियो। उनी अघिल्लो रातसम्म यूएईमा जिम्बाबेको कप्तानी गर्दै अफगानिस्तानसँग टी–२० अन्तर्राष्ट्रिय खेलिरहेका थिए।

नेपाली समयअनुसार राति करिब पौने ११ बजे खेल सकिएपछि उनी शारजाहबाट नेपाल आएका थिए। शारजाहबाट काठमाडौंको सीधा उडानमा करिब चार घण्टा लाग्छ। अर्थात् बिहानै नेपाल आइपुगेको केही घण्टामै उनी चितवनको कप्तानी सम्हाल्दै मैदानमा उत्रिएका थिए।

पहिलो र दोस्रो सिजनका नियमित कप्तान कुशल मल्ल नखेल्दा तेस्रो सिजनको पहिलो खेलमा इंग्लिस खेलाडी रवि बोपाराले कप्तानी गरेका थिए । संयोगले उक्त खेलमा चितवनका चारजनै विदेशी खेलाडी इंग्ल्यान्डका थिए ।

शनिबार लुम्बिनीसँग हुने तय रहेको दोस्रो खेलमा टस नै हुन नसकेपनि मैदानमा उपस्थितिका लागि रवि बोपारा नै पुगेका थिए । सोमबार भएको तेस्रो खेलमा भने सिकन्दर राजा आइपुगे र कप्तानकै जिम्मेवारी पाए ।

राजाले टस हारे, सुदूरले टस जितेर पहिले ब्याटिङको निम्तो दिएपछि चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२९ रन बनाएको थियो। टोलीका लागि रवि बोपाराले सर्वाधिक ४९ रन बनाए। अन्य चार ब्याटरले दोहोरो अंकमा रन बनाए पनि कसैले १७ रनभन्दा बढी बनाउन सकेनन्।

ब्याटिङ र फिल्डिङमा चितवन कमजोर

चितवनले दिएको १३० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। सुदूरपश्चिमले सुरुवातमै सेफ जैबलाई २ रनमा गुमाए पनि ब्रान्डन म्याकमुलेनले आक्रामक ब्याटिङ गर्दै टोलीलाई सहज अवस्थामा पुर्‍याए।

म्याकमुलेनले २१ बलमा ४३ रन बनाए। उनले रिजन ढकालको बलिङमा आक्रामक सुरुवात गरेका थिए। उनको इनिङले सुदूरपश्चिमलाई लक्ष्य पछ्याउन सहज बनाएको थियो। तर अन्य ब्याटरलाई भने सुस्त पिचमा रन बनाउन कठिन भयो।

म्याकमुलेन आउट भएपछि सुदूरपश्चिमले बीचमा लगातार दुई विकेट गुमाएको थियो। विनोद भण्डारी ११ रनमा आउट भए भने इशान पाण्डेले २९ बलमा २५ रन बनाए। तर आरिफ शेखले अन्त्यसम्म क्रिजमा रहेर २६ बलमा अविजित २० रन बनाए। शेरफेन रदरफोर्ड २१ रनमा नटआउट रहे। यी दुईले टोलीलाई जितसम्म पुर्‍याए।

बलिङमा चितवनका रञ्जीत कुमारले २८ रन खर्चेर ३ विकेट लिए। उनले लगातार दुई बलमा विकेट निकाल्दै सुदूरपश्चिमलाई दबाबमा पारेका थिए। तर फिल्डिङमा क्याच छुट्दा चितवनले खेलमा फर्कने अवसर गुमायो।

सिकन्दर राजाको बलिङ पनि प्रभावकारी हुन सकेन। उनले तीनवटा नो बल फालेका थिए।

छैटौं ओभर बलिङमा आएका राजाले चौथो बलमा लगातार दुई नो बल फालेका थिए । त्यसपछि आठौं ओभर बलिङमा आएका उनले एक नो बल फाले । ४ ओभरमा २६ रन खर्चेका उनले कुनै विकेट लिन सकेनन् ।

त्यस्तै फिल्डिङमा पनि चितवन कमजोर रह्‍यो । चौथो ओभरमै चितवनले म्याकमुलेनलाई आउट गर्ने मौका पाएको थियो । रन्जित कुमारको बलमा उनले प्रहार गरेको बल माथि हावामा उठेको थियो । मौसम ढकालले सहज क्याच छाडेका थिए ।

म्याकमुलेन त्यसबेला आउट भएको भए चितवनले खेलमा मोमेन्टम प्राप्त गर्न सक्ने थियो । यस्तै १६औं ओभरमा शेरफन रदरफोर्डको सहज क्याच छुटेको थियो ।

बलिङमा रन्जित कुमारले भने राम्रो प्रदर्शन गरे । उनले सुदूरलाई दबाबमा राख्दै तीन विकेट निकाले । उनले विनोद भण्डारी, म्याकमुलेन र कप्तान दीपेन्द्रलाई आउट गरेका थिए ।

खेलपछि कुरा गर्दै उनले भने, ‘पहिलेको सिजनजस्तै बलिङ गर्न सकेको छु, अलि बेटर पनि हुँदै गए जस्तो लाग्छ जुन कुराले मलाई एकदमै राम्रो फिल भइरहेको छ। तयारी पनि राम्रो भएको थियो, बलर सोहेल तनवीर प्रशिक्षक हुँदा सहज पनि भएको छ ।’

आजको खेल राम्रो नभएपनि अर्को खेल जित्ने गरी खेल्ने र सकेसम्म टिमलाई फाइनलमा पुर्‍याउन योगदान दिने उनले बताए ।

पहिलो खेलमा चितवनलाई जिताउन शानदार प्रदर्शन गरेका पेस बलर कमलसिंह ऐरीले आज एक ओभर पनि गरेनन् ।

राजाको पहिलो खेलमै कप्तानी, तर प्रभाव जमाउन सकेनन्

जिम्बाबेका कप्तानसमेत रहेका राजाले चितवनको तेस्रो खेलमा टोलीको नेतृत्व सम्हालेका थिए। अघिल्लो रातसम्म अन्तर्राष्ट्रिय खेलमा व्यस्त रहेका उनी छोटो समयमै नेपाल आएर मैदानमा उत्रिए पनि ब्याटिङ र बलिङ दुवैमा अपेक्षाअनुसार योगदान दिन सकेनन्।

ब्याटिङमा २० बल सामना गरेका उनले १५ रन मात्र बनाए। उनलाई अनिल खरेलले आउट गरे। बलिङमा तीन नो बल फालेका उनले विकेट लिन सकेनन्। चितवनले राजाबाट अनुभवी अलराउन्डरको प्रदर्शन अपेक्षा गरेको भए पनि यस खेलमा त्यसअनुसार हुन सकेन।

यसअघि विराटनगरविरुद्धको खेलमा कप्तानी गरेका बोपाराले ब्याटिङमा ४९ रन बनाउँदै टोलीको जितमा महत्वपूर्ण योगदान दिएका थिए। तर राजाको नेतृत्वमा चितवनले सुदूरपश्चिमविरुद्ध प्रतिस्पर्धात्मक लक्ष्य दिन सकेन।

सुदूरपश्चिमका लागि म्याकमुलेन खेलका प्लेयर अफ द म्याच घोषित भए। यस जितसँगै सुदूरपश्चिमले अघिल्लो खेलमा बेहोरेको निराशा बिर्साउँदै पुनरागमन गरेको छ।

फर्किँदै रदरफोर्ड

सुदूरपश्चिमका क्यारेबियन खेलाडी शेरफन रदरफोर्ड चार खेल खेलिसकेर अब फर्किने तयारीमा छन् । अर्का क्यारेबियन खेलाडी फेबियन एलेन पनि अनुबन्ध भएका छन् तर आइपुगेका छैनन् । रदरफोर्ड भने अब फर्किनेछन् ।

रदरफोर्डले सोमबारको खेलपछि पत्रकारहरूसँग कुराकानीका क्रममा नेपालमा आएर खेल्न पाउँदा निकै खुसी लागेको बताए । ‘जब म अनुबन्ध भएको कुरा सार्वजनिक भयो, मेरो सोसल मिडिया त एकदम बज गर्न थाल्यो, मलाई लागेको थिएन यति धेरै फ्यान बेस छ भनेर’ उनले भने ।

सोमबारको खेलमा दोस्रो इनिङमा विकेट स्लो बन्दै गएको उनले बताए । ‘दोस्रो इनिङमा गाह्रो हुँदै गइरहेको थियो, तर हामीले संयमित भएर खेल्यौं । अहिलेसम्म हामी राम्रै अवस्थामा छौं । आज चाहिँ हामीले अगाडिका दिनका लागि महत्त्वपूर्ण हुने खालको जित निकालेका छौं’ रदरफोर्डले भने ।

रदरफोर्डले नेपाली खेलाडीको पनि प्रशंसा गरे । ‘नेपाली क्रिकेटको भविष्य राम्रो छ, खेलाडीहरूमा धेरै क्षमता छ । यहाँको खेल देखेर आगामी दिनहरूमा अझै धेरै विदेशी खेलाडीहरू नेपालमा खेल्न आउन सक्छन्’ उनले भने, ‘कप्तान दीपेन्द्र पनि धेरै राम्रा अलराउन्डर हुन्, हामीले विश्वकपमा पनि देख्यौं उनको प्रदर्शन । आगामी दिनमा उनीसहित धेरै नेपाली खेलाडीहरूले विदेशी लिगमा मौका पाउन सक्छन् ।’

एनपीएल २०२६ चितवन राइनोज
लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय