+

एसीसी यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीलाई बिदाइ 

२०८३ कात्तिक  १६ गते २०:४२ २०८३ कात्तिक १६ गते २०:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसीसी यू–१९ एसिया कप खेल्न जाने नेपाली यू–१९ क्रिकेट टोलीलाई सोमबार बिदाइ गरिएको छ ।
  • पोखरा महानगरपालिकाको नगरप्रमुख धनराज आचार्यले युवा खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्दै नेपालको गौरव बढाउन आग्रह गर्दै सफलताको शुभकामना दिए ।
  • नेपाली टोली समूह ए मा भारत, पाकिस्तान र युएईसँग खेल्नेछ, र पहिलो खेल ६ नोभेम्बरमा भारतसँग हुनेछ ।

पोखरा । यही नोभेम्बर ५ देखि १४ सम्म ओमनमा हुने एसीसी यू-१९ एसिया कप खेल्न जाने  नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीलाई पोखरा महानगरपालिकाले बिदाइ गरेको छ ।

नगरप्रमुख धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल लगायतले नेपाली युवा क्रिकेट टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन् ।

प्रतियोगिताको तयारीका लागि पोखरामा रहेको नेपाली यू-१९ टोलीलाई पोखरा महानगरपालिकाले सोमबार बिदाइ गरेको हो ।

नगर प्रमुख धनराज आचार्यले नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान स्थापित गर्दै आएको उल्लेख गर्दै युवा खेलाडीहरूले एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । ‘खेलकुद राष्ट्रको प्रतिष्ठा र पहिचानसँग जोडिएको विषय हो । मैदानमा उच्च मनोबल, अनुशासन र खेल भावना प्रदर्शन गर्दै नेपालको गौरव बढाउने विश्वास लिएको छु । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी विजयी भएर फर्कनु,’ नगर प्रमुख आचार्यले भने ।

प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले खेलाडीहरूको मेहनत, लगनशीलता र सामूहिक प्रयासले सफलता प्राप्त हुने बताउँदै प्रतियोगितामा उत्कृष्ट नतिजाका लागि शुभकामना व्यक्त गरे ।

ओमनमा आयोजना हुने उक्त प्रतियोगितामा नेपाली यू–१९ राष्ट्रिय टोलीले एसियाका विभिन्न राष्ट्रका युवा क्रिकेट टोलीसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल रहेको समूह ए मा भारत, पाकिस्तान र युएई छन् । नेपालले पहिलो खेल ६ नोभेम्बरमा भारतसँग खेल्नेछ । यस्तै दोस्रो खेल युएईसँग ८ नोभेम्बर र तेस्रो खेल १० नोभेम्बरमा पाकिस्तानसँग खेल्नेछ ।

विपिन प्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय नेपाली टोली यसअघि नै घोषणा भइसकेको छ । नेपाली यू-१९ टोलीको मुख्य प्रशिक्षकमा बसन्त शाही छन् ।

नेपाली टोलीमा विपिन प्रसाद शर्मा (कप्तान), निरज कुमार यादव,प्रसिद्ध जैशी,सोहेल कुँवर, दर्श सोनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सूर्यांशु कोइराला, अभय यादव, सुशीलबहादुर रावल, नितेश कुमार पटेल, शुभम खनाल, सचिन भट्ट छन् । कप्तान विपिन शर्मासहित निरज यादव, आशिष लोहार, निश्चल क्षेत्री र नितेश कुमार पटेलले यसअघि सन् २०२५ मा पनि यू-१९ एसिया कप खेलेका थिए ।

नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोली पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडानमार्फत दुबई हुँदै ओमान प्रस्थान गर्नेछन् ।

प्रतियोगिताले नेपाली युवा खेलाडीहरूको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय अनुभव हासिल गर्न महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

एसीसी यू-१९ एसिया कप नेपाल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय