काठमाडौं । कर्णाली प्रदेशको सुर्खेत केन्द्र बनाएर हुने दशौँ राष्ट्रिय खेलकुद सुरु हुन अब ३० दिन बाँकी छ । सोमबारदेखि दशौँ राष्ट्रिय खेलकुदको ३० दिने काउन्टडाउन सुरु भएको हो ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मीत पोखरेलले दशौँ राष्ट्रिय खेलकुदको लागि सुर्खेत र कर्णाली तयारी रहेको जनाएका छन् । पोखरेलले सोमबार सुखर्ते पुगेर रंगशाला र पूर्वाधारहरुको प्रत्यक्ष अवलोकन गरेको र दशौँ राष्ट्रिय खेलकुदको लागि कर्णाली तयार रहेको बताएका छन् ।
‘सुर्खेत तयार छ । कर्णाली तयार छ । आज सुर्खेत पुगेर रंगशाला तथा खेल पूर्वाधारहरूको प्रत्यक्ष अवलोकन गरेपछि दसौं राष्ट्रिय खेलकुदका लागि कर्णाली तयार रहेकोमा विश्वस्त रहन आग्रह गर्दछु ।’ मन्त्री पोखरेलले फेसबुकमा लेखेका छन्, ‘निरिक्षणको क्रममा सरोकारवाला पक्षहरूसँग पछिल्ला विकासक्रमबारे गहन छलफल भयो । निरन्तरको प्रयास र संवादले पूर्वाधार निर्माणको गतिलाई अझ तीव्र बनाएको छ ।’

उनले संरचनाहरु तयार भइरहेको र सबैमा उत्सह रहेको उल्लेख गर्दै दशौँका लागि ३० दिने काउन्टडाउन पनि सुरु भएको जनाएका छन् । ‘अब हामी तयार छौँ । हाम्रा रंगशाला र संरचनाहरू तयार हुँदैछन् । देशैभरका प्रदेश, जिल्ला र स्थानीय तहहरूमा उत्तिकै उत्साह र तत्परता छ । आजबाट ३० दिनको काउन्टडाउन सुरु भएको छ ।’ मन्त्री पोखरेलले लेखेका छन् । ‘लामो समयदेखि रोकिएको राष्ट्रिय खेलकुदको यो महाकुम्भलाई अब कर्णालीको भूगोलले नयाँ उचाइ दिनेछ । हामी सबै पूर्ण रूपमा उत्साही छौँ ।’
दशौँ राष्ट्रिय खेलकुदको मिति पाँचौ पटक तोक्दै २०८३ मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा गर्ने तय छ ।
२०७९ सालमा गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद आयोजना भएपछि नै २०८१ साल मंसिरमा कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने घोषणा भएको थियो । तर विभिन्न कारणले दशौँ पूर्व निर्धारित समयमा हुन सकेन ।
पछिल्लो समय भने दशौँ राष्ट्रिय खेलकुदका लागि खेलाडी छनोट देखि आयोजना र व्यवस्थापनको पक्षमा तिव्र तयारी भइरहेको छ ।
प्रतिक्रिया 4