+

खेलकुदमन्त्री पोखरेल थाइल्यान्ड जाने, एन्फाको निलम्बन फुकुवाका लागि वार्ता हुने

२०८३ कात्तिक  १६ गते २३:२४ २०८३ कात्तिक १६ गते २३:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल एएफसी अवार्ड्समा सहभागी हुन १९ नोभेम्बरमा थाइल्यान्डको बैंकक जाने भएका छन्।
  • मन्त्री पोखरेलले एएफसी र फिफाका उच्च पदाधिकारीसँग एन्फा निलम्बन फुकुवाका लागि वार्ता गर्ने कार्यक्रम तय भएको मन्त्रालय स्रोतले जनाएको छ।
  • फिफाले ११ असारमा तेस्रो पक्षको हस्तक्षेप भन्दै एन्फालाई अनिश्चितकालका लागि निलम्बन गरेको थियो।

१६ कात्तिक, काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) को आयोजनामा हुने एएफसी अवार्ड्समा सहभागी हुन शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल थाइल्यान्ड जाने भएका छन् । एएफसीको निमन्त्रणामा मन्त्री पोखरेल थाइल्यान्ड जान लागेको राखेप स्रोतले जनाएको छ ।

एएसफसी अवार्ड्स १९ नोभेम्बरमा थाइल्यान्डको बैंककमा हुँदैछ । अवार्डमा सहभागी हुने मन्त्री पोखरेलले एन्फा निलम्बन फुकुवाका लागि एएफसी र फिफासँग वार्ता गर्ने कार्यक्रम तय भएको छ । वार्तामा एएफसी र फिफाका उच्च पदाधिकारी र नेपालको तर्फबाट मन्त्रीसहितका केही प्रतिनिधि सहभागी हुनेछन् ।

‘एएफसीबाट निमन्त्रणा आएको थियो । वार्ता हुने भएपछि मन्त्रीज्यू आफै सहभागी हुन लाग्नुभएको हो । त्यहाँ एएफसी र फिफाका उच्च तहका प्रतिनिधिसँग वार्ता गर्ने कार्यक्रम तय भएको छ । एन्फा निलम्बन फुकुवाका लागि निर्णायक वार्ता हुने अपेक्षा गरेका छौं,’ राखेप स्रोतले भन्यो ।

तेस्रो पक्षको हस्तक्षेप भन्दै फिफाले ११ असारमा एन्फालाई अनिश्चितकालका लागि निलम्बन गरेको थियो । निलम्बन फुकुवाका लागि सरकार र फिफाबिच यसअघि भर्चुअल वार्ता भएको थियो ।

फिफा र एएफसी सकारात्मक रहेको र वार्ताबाट निकास निस्कने राखेप स्रोतको दाबी छ ।

एन्फा निलम्बन खेलकुदमन्त्री सस्मित पोखरेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय