News Summary
Generated by OK AI. Editorially reviewed.- डेभिड वार्नरको १६ रन, रासिद खानको ५० रन र करण केसीको ४४ रनसँगै काठमान्डु गोर्खाजले कर्णाली याक्सलाई ६ विकेटले हरायो।
- १८१ रनको लक्ष्य काठमान्डुले २ बल बाँकी छँदै पछ्याएर एनपीएलको तेस्रो संस्करणमा पहिलो जित दर्ता गर्यो।
- कर्णालीका लागि अरिफुल इस्लाम र हुसेन तलतले ४४/४४ रन बनाए पनि टोलीले जित निकाल्न सकेन।
१६ कात्तिक, काठमाडौं । सोमबार नेपाल प्रिमियर लिग (एनपीएल) सबैको नजर अस्ट्रेलियन महान् खेलाडी डेभिड वार्नरमा थियो । आइतबार राति काठमाडौं आइपुगेका उनी एनपीएल खेल्न आउने अहिलेसम्मकै सबैभन्दा ठूला नाम थिए ।
अस्ट्रेलियाका लागि तीन पटक विश्वकप जितिसकेका वार्नर एनपीएलको तेस्रो नेपालको राजधानीको टिम काठमान्डु गोर्खाजबाट खेल्दै थिए । यो टिमको कप्तान थिए करण केसी ।
अनि पहिलो खेल हारेको गोर्खाजले लगातार दुई खेल जितेर लयमा रहेको अपराजित कर्णाली याक्सको सामना गर्दै थियो । सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीमा पाकिस्तानका हुसेन तलत देखि बंगलादेशका अरिफुल इस्लाम अनि नेपालका सोमपाल कामी, गुल्सन झा, नन्दन यादव जस्ता चर्चित खेलाडीहरू थिए ।
वार्नरको आगमनपछि काठमान्डु गोर्खाजको चर्चा बढेको थियो र टिम पनि उत्साहित थियो । वार्नर पनि काठमाडौं ओर्लेको २४ घण्टा नपुग्दै मैदान उत्रँदै थियो । दिउँसो साढे १२ बजेको खेलमा वार्नर पहिलो रोजाइमा खेल्ने टुङ्गो लागेपछि खेलको चर्चा झन् बढ्यो ।
विश्व स्टार खेलाडी वार्नरले कर्णाली विरुद्ध १६ रन बनाए । एक उत्कृष्ट क्याच पनि लिए । उनलाई कर्णालीका कप्तान सोमपाल कामीले बोल्ड आउट गरे अनि शानदार शैलीमा सेलेब्रेसन पनि गरे ।

तर खेलको असली नायक बने काठमान्डुका कप्तान करण केसी र रासिद खान । जो दुवै मिडियम पेस फाल्ने बलर हुन् । तर सोमबार कर्णाली विरुद्ध रोमाञ्चक जितमा भने रासिद र करण दुवै ब्याटिङमा चम्किए । पहिलो इनिङ्समा करणले बलिङमा २ विकेट पनि लिएका थिए । तर उनको योगदान ब्याटिङमा बढी थियो ।
करणले सुरुमा २ विकेट लिएका र लक्ष्य पछ्याउने क्रममा ४४ रन बनाउँदै प्लेअर अफ दि म्याचको अवार्ड पनि जिते । यस खेलमा काठमान्डुका लागि रासिद खानले सर्वाधिक ५० रन बनाए जुन टिमको जितमा सबैभन्दा मुख्य आधार बनेको थियो । अनि पाकिस्तानमा जहानदाद खानले १० बलमा १ चौका र २ छक्का प्रहार गर्दै अविजित २२ रन बनाएर गेम फिनिस गरे ।
कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमान्डुले २ बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्यो र एनपीएलको तेस्रो संस्करणमा पहिलो जित हात पार्दै अंकको खाता खोल्यो । पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित काठमान्डुले दोस्रो खेल जित्दै लयमा फर्केको संकेत पनि दिएको छ ।
करणले कर्णाली विरुद्ध जितपछि बोल्ड स्टेटमेन्ट पनि दिए । वार्नर आउट भएपछि केही दबाब भयो कि? भन्ने प्रश्नमा उनले नेपाली खेलाडी नै म्याच विनर भएको प्रतिक्रिया दिए । ‘मेरो लागि कप्तानको रुपमा हामीलाई विदेशी खेलाडीले जिताउँछ भन्ने छैन । मलाई ७ जना नेपालीले नै जिताउँछ जस्तो लाग्छ । विदेशी आउट हुँदैमा प्यानिक हुँदैनौँ । नेपाली खेलाडी नै जित्न र जिताउन नै खेलिहेको हो’ करणले भनेजस्तै सोमबार नेपाली खेलाडीहरू रासिद खान र स्वंय करणले सानदार ब्याटिङ गर्दै काठमान्डुको जितको कथा लेखे ।
रासिदको ब्याटिङ लय

रासिद खान अलराउण्डर हुन् । दायाँ हाते ब्याटर उनी दायाँ हाते मिडियम फास्ट बलर हुन् । तर एनपीएलमा भने काठमान्डुका लागि उनी बलर भन्दा ब्याटर बढी बनेका छन् ।
अघिल्ला सिजनमा पनि उनी वान डाउन वा मिडल अर्डरमा आएर ब्याटिङ गर्ने गर्थे । कर्णाली विरुद्ध काठमान्डुले आदिल आलमलाई वान डाउनमा पठाएर सबैलाई आश्चर्यमा पारेको थियो ।
वार्नर र स्मित पटेल दुवै ओपनर आउट भएपछि रासदि खान चौथो नम्बरमा क्रिजमा पुगे । २८ रनमा २ विके६ गेमपछि रासिद र आदिलले काठमान्डुको इनिङ्स सम्हाले । सुरुमा केही सुस्त देखिएपनि यो जोडीले तेस्रो विकेटका लागि ५४ रनको महत्वपूर्ण साझेदारी गरे ।
आदिल २७ बलमा २० र त्यसपछि आएका भिम शार्की ४ रन बनाएर आउट भएपछि काठमान्डु १२.३ ओभरमा ८९-४ को स्थितिमा पुग्यो ।
तर रासिदले एक छेउबाट इनिङ् सम्हालिरहे । उनले पाँचौ विकेटका लागि कप्तान करण केसीसँग ५५ रनको अर्को महत्वपूर्ण साझेदारी गरे । जुन जितको आधार बन्यो । रासिदले ३२ बलमा ३ चौका र २ छक्कान मदतमा अर्धशतक पूरा गरे । उनी अर्धशतक पूरा गरेलगत्तै १७औं ओभरको पाँचौ बलमा आउट भए ।
एनपीएलमा रासिदको यो पहिलो अर्धशक हो । उनले घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबबाट खेल्दा पनि ब्याटिङमा यस्तो योगदान दिँदै आएका छन् । यस पटक एनपीएलमा पनि काठमान्डुका लागि उत्कृष्ट ब्याटिङ गरे ।
काठमान्डुका कप्तान करण केसीले खेलपछि रासिदले ब्याटिङमा सुधार गरिरहेको र राम्रो ब्याटिङ गरेको बताए । ‘सुरुदेखि नै रासिदको ब्याटिङ राम्रो थियो । पछिल्लो २-३ वर्ष उसले सुधार रगेको छ । बलिङमा हामीले धेरै प्रयोग गरेको छैनौँ । हामीले उसको राम्रो ब्याटिङलाई प्रयोग गरिरहेका छैनौं’ खेलपछि पोष्ट म्याच कन्फेरेन्समा करणले रासिदबारे भने ।
सोमपालकै शैलीमा करणको ब्याटिङ

कर्णालीले अघिल्लो खेलमा विराटनगर किंग्सलाई पराजित गर्दा कप्तान सोमपाल कामीले गज्जबको प्रदर्शन गरेका थिए । बलिङमा ४ विकेट लिएका उनले ब्याटिङमा अविजित ६२ रनको इनिङ्स खेलेका थिए । कर्णालीले त्यो खेल जित्दा सोमपालले निर्णायक प्रदर्शन गरे ।
आज कर्णालीले पहिले ब्याटिङ गर्दै १८० रन बनाउँदा काठमान्डुलाई चुनौती हुने अनुमान थियो तर सोमपालकै जस्तै प्रदर्शन काठमान्डुका कप्तान करणले आज कर्णाली विरुद्ध देखाए । बलिङमा ४ ओभरमा ३५ रन खर्चेका करणले ओपनर जिशान आलमको पहिलो र गुल्सन झाको अन्तिम विकेट लिएका थिए । उनले ४ ओभरमा ३५ रन खर्चेका थिए ।
तर ब्याटिङमा भने करणले कमालकै प्रदर्शन गरे । सोमपाल जस्तै छैटौं नम्बरमै ब्याटिङमा आएका उनले आक्रमक ब्याटिङ गर्दै २० बलमै ४ चौका र ३ छक्का प्रहार गर्दै ४४ रन बनाए । गेम फिनिस गर्न नसकेपनि टिमलाई जितको बाटोतर्फ डोहोर्याएका थिए ।
विशेषगरी लोअर अर्डरमा आएर आक्रमक ब्याटिङ गर्ने करण कर्णाली विरुद्ध अलि चाँडै ब्याटिङमा आए । अघिल्लो खेलमा सोमपालको प्रदर्शनबाट प्रभावित भएको हो? भन्ने प्रश्नमा करणले इन्सपिरेसन भन्दा पनि परीक्षण र आफ्नो रोल अनुसार खेल भएको बताए । ‘इन्सपिरेसन भन्दा पनि टेष्ट हो । मेरो काम नै त्यही हो । टिमको लागि चाँडो रन बनाउने । अर्को खेलतिर गेम फिनिस गर्ने प्रयास गर्छु’ उनले भने ।
करणले सन् २०१९ मा युएई टुरमा टी२०आईमा युएई विरुद्ध वान डाउनमा ब्याटिङ गरेका थिए । यस्तै सन् २०२२ मा कीर्तिपुरमै भएको टी-२० ट्राई सिरिजमा पीएनजी विरुद्ध छैटौं नम्बरमा ब्याटिङ गरेका थिए ।
यस बाहेक करणले मिडल अर्डर मा खासै ब्याटिङ गरेका छैनन् । उनी प्रायजसतो ९/१० वा ७/८ नम्बरमा ब्याटिङ गर्छन् । तर करणले सोमबार कर्णाली विरुद्ध ४ विकेट गेमपछि छैटौं नम्बरमा ब्याटिङ गर्न आए ।
आक्रमक अरिफुल, तलतको अलराउण्ड प्रदर्शन
टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो । कर्णालीका लागि ओपनर इस्लामले सर्वाधिक ४४ रन बनाएका थिए भने पाकिस्तानी अलराउण्डर हुसेन तलतले अलराउण्ड प्रदर्शन गरे ।
तलतले ब्याटिङमा ३० बलमा १ चौका र २ छक्का मदतमा ४० रन बनाएका थिए भने बलिङमा रासिद खान र भीम शार्कीको महत्वपूर्ण २ विकेट पनि लिए । तर जितका लागि पर्याप्त भने भएन ।
यस्तै ब्याटिङमा उनी अभागी पनि बने । १७औं ओभरको अन्तिम बलमा उनी हिट विकेटको रुपमा आउट भए । उनले २ रन लिएका थिए । तर पछि रिभ्युमा उनले विकेट हिट गरेको देखिएपछि आउट भए ।

कर्णालीका लागि ओपनिङ गरिरहेका अरिफुलले आफ्नो काम पावरप्लेमा सक्दो रन बनाउने रहेको बताए । ‘विकेट राम्रो थियो । सकेसम्म लामो समय ब्याटिङ गर्ने र टिमलाई सहयोग गर्ने योजना थियो, त्यही गरिरहेको थिएँ, खेलपछि पोस्ट म्याच कन्फेरेन्समा उनले भने, ‘टी२० क्रिकेटमा पावर प्ले धेरै महत्वपूर्ण छ । त्यसैले म पावरप्लेमा अट्याकिङ ब्याटिङ गर्ने प्रयास गर्छु ।’
सातौं ओभरको चौथो बलमा आउट हुनुअघि अरिफुलले २०० को स्ट्राइक रेटमा ब्याटिङ गर्दै २२ बलमै ५ चौका र ३ छक्का प्रहार गरी ४४ रन बनाएका थिए ।
उनले नेपालमा दर्शकहरू धेरै उत्सहित रहेको सबै टिमलाई समर्थन गरिरहेको बताए ।
प्रतिक्रिया 4