+
+
Shares

युरोपभर जेनजीको आक्रोश किन सल्किंदै छ ?

युवाहरूमा बढ्दो असन्तुष्टिले दबाबमा रहेका युरोपेली सरकारहरूलाई थप चुनौती दिएको छ । साथै, यसले युरोपमा गहिरिँदै गएको पुस्तान्तरणको असन्तोषलाई पनि उजागर गरेको छ ।

कञ्चन कञ्चन
२०८३ कात्तिक १६ गते १०:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युरोपभरि जेनजी युवाहरू शिक्षा बजेट कटौती, आवासको महँगो मूल्य, बेरोजगारी र भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका छन् ।
  • फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किएको छ, र पेरिससहित विभिन्न सहरमा दसौँ हजार प्रदर्शनकारीले सार्वजनिक र नि:शुल्क शिक्षाको माग गरेका छन् ।
  • जर्मनीका ३४ भन्दा बढी सहरमा जेनजी आन्दोलन फैलिँदा केही ठाउँमा तोडफोड र झडप भएका छन्, जबकि आयोजकले हिंसाको निन्दा गरेका छन् ।

१६ कात्तिक, काठमाडौं । युरोपभरि नयाँ पुस्ता अर्थात् जेनेरेसन–जी (जेनजी) का युवाहरू शिक्षा क्षेत्रमा बजेट कटौती, आवासको बढ्दो मूल्य, बेरोजगारी र भ्रष्टाचारलगायतका मुद्दा उठाउँदै सडकमा उत्रिएका छन् । युवाहरूमा बढ्दो असन्तुष्टिले दबाबमा रहेका युरोपेली सरकारहरूलाई थप चुनौती दिएको छ । साथै, यसले युरोपमा गहिरिँदै गएको पुस्तान्तरणको असन्तोषलाई पनि उजागर गरेको छ ।

युरोपका विभिन्न देशमा आन्दोलनका मुद्दा र स्वरूप फरक छन् । स्पेनमा ज्येष्ठ नागरिकलाई घरबाट हटाइएका घटनादेखि फ्रान्समा शिक्षकहरूको आन्दोलनलाई समर्थन गर्दै विद्यार्थीले गरेका प्रदर्शनसम्मका गतिविधि देखिएका छन् ।

अल्बानियामा भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जेरेड कुश्नरसँग जोडिएको विलासी विकास परियोजनाको विरोधमा विद्यार्थीहरूले आन्दोलन गर्दै आएका छन् ।

आन्दोलनका तत्कालीन कारण फरक भए पनि तिनको साझा आधार युवाहरूमा बढ्दो निराशा हो । आफ्ना अभिभावकको पुस्ताले पाएका अवसर आफूहरूले नपाउने हो कि भन्ने चिन्ताले युवाहरूलाई सडकमा ल्याएको छ ।

यी आन्दोलनले एकअर्कालाई पनि प्रभावित पारिरहेका छन् । इटाली र ग्रिसका प्रदर्शनकारीले आफ्ना नारामा फ्रान्सको आन्दोलनलाई जोडिरहेका छन् भने स्पेनबाट सुरु भएको आवाससम्बन्धी प्रदर्शन पोर्चुगलसम्म फैलिएको छ ।

फ्रान्सको प्रमुख विद्यार्थी युनियन ‘युनेफ’ की उपाध्यक्ष एलिस डि ब्रिटोका अनुसार युरोपभरिका विद्यार्थी संगठनहरू एकअर्कासँग अनुभव साटासाट गरिरहेका छन् । शिक्षा, विश्वविद्यालय र युवा पुस्तामा लगानी, जीवनयापनको बढ्दो लागत तथा आवासको समस्यामा युरोपका युवाहरूको आवाज समान रहेको उनको भनाइ छ ।

इटालीकी विद्यार्थी युनियनकी नेता सब्रिना ब्रिजोलाले पनि सुरक्षित विद्यालय, सम्मानजनक रोजगारी, सार्वजनिक स्वास्थ्य सेवा र सामाजिक न्यायका लागि एकजुट हुन आह्वान गरेकी छन् ।

‘द युरोपियन करेस्पोन्डेन्ट’का प्रधान सम्पादक जुलियस फिन्टेलम्यानका अनुसार यी प्रदर्शनले युरोपेली राजनीतिले नयाँ पुस्ताका अपेक्षाअनुसार परिणाम दिन नसकेको जनभावना प्रतिबिम्बित गर्छन् ।

शिक्षा र आवासको समस्यासँगै अनिश्चित रोजगारी बजारले पनि युवाहरूको असन्तोष बढाएको उनको विश्लेषण छ । कृत्रिम बौद्धिकता (एआई) को विस्तारले प्रवेश तहका रोजगारी प्रभावित भइरहेका छन् भने जलवायु सङ्कटले पनि नयाँ पुस्ताको चिन्ता थपेको छ । उदार लोकतन्त्रले नयाँ पुस्तालाई अघिल्लो पुस्ताभन्दा राम्रो जीवनको अवसर दिने गरेको वाचा पूरा हुन नसकेको फिन्टेलम्यानको भनाइ छ ।

आन्दोलनबाट प्रभावित ग्रिस, इटाली, फ्रान्स, बेल्जियम, स्पेन र पोर्चुगलजस्ता युरोपेली संघका देशहरू आर्थिक सुस्तता र उच्च राष्ट्रिय ऋणको दबाबमा छन् । फ्रान्समा सरकारी ऋणपत्रको प्रतिफल सन् २००२ यताकै उच्च बिन्दुमा पुगेको छ । यसले सरकारी बजेटमाथिको दबाब थप बढाएको छ ।

शिक्षामा लगानी र रोजगारीको माग

फ्रान्समा पछिल्ला नौ वर्षदेखि सेप्टेम्बर र अक्टोबरमा विद्यार्थी प्रदर्शन हुँदै आएका छन् । तर, यस वर्ष आन्दोलन थप चर्किएको छ ।

विद्यार्थीहरूले कक्षाकोठामा विद्यार्थी सङ्ख्या घटाउनुपर्ने, शिक्षकका लागि बजेट बढाउनुपर्ने, जलवायु सङ्कटसँग जुध्ने पूर्वाधारमा लगानी गर्नुपर्ने र युवामाथि हुने प्रहरी हिंसा अन्त्य गर्नुपर्ने माग राखेका छन् ।

शिक्षाको मुद्दाले युरोपका विभिन्न देशका विद्यार्थीलाई एकै ठाउँमा जोडेको छ । ग्रिसको एथेन्सस्थित संसद् भवनबाहिर हजारौँ विद्यार्थी र शिक्षकले ‘ग्रिसदेखि फ्रान्ससम्म, हामी सार्वजनिक र नि:शुल्क शिक्षा चाहन्छौँ’ भन्ने नारासहित प्रदर्शन गरेका छन् ।

इटालीको रोममा उच्च माध्यमिक विद्यालय कब्जा गर्ने विद्यार्थीहरूले जारी गरेको वक्तव्यको पहिलो हरफमै ‘फ्रान्समा जस्तै’ भन्ने उल्लेख गरेका थिए ।

तर, इटाली सरकारले फ्रान्सको आन्दोलनसँग आफ्नो देशको अवस्थालाई जोड्न अस्वीकार गरेको छ । इटालीका शिक्षामन्त्री जुसेप्पे वाल्दिताराले आफ्नो देशको अवस्था फ्रान्सको भन्दा निकै फरक रहेको दाबी गरेका छन् ।

आवास संकटले जोड्यो सीमापारिका युवा

 आवासको बढ्दो लागत पनि युरोपभरिका युवालाई एकजुट बनाउने प्रमुख मुद्दा बनेको छ ।

स्पेनमा सेप्टेम्बरमा चर्किएको आवाससम्बन्धी आन्दोलनले सरकारमाथि राजनीतिक दबाब बढाएको छ । रोममा अध्ययनरत विद्यार्थीहरूले पनि किफायती आवासलाई गुणस्तरीय शिक्षाबाट अलग राख्न नमिल्ने बताएका छन् ।

आवासको मुद्दामा विद्यार्थी मात्रै होइन, अन्य क्षेत्रका मानिसहरू पनि जोडिन थालेका छन् । इटालीमा इन्धनको बढ्दो मूल्यबाट असन्तुष्ट ट्रक चालकहरूले गरेको नाकाबन्दीले अत्यावश्यक खाद्य वस्तुको आपूर्तिमा समेत असर पारेको छ ।

पोर्चुगलको राजधानी लिस्बनस्थित रोसियो स्क्वायरमा हरेक साँझ हजारौँ मानिस भेला भएर प्रदर्शन गरिरहेका छन् । उनीहरूले ‘कासास पारा मोरार’ अर्थात् ‘बस्नका लागि घर’ भन्ने नारासहित घरभाडा वृद्धिमा सीमा तोक्नुपर्ने र बहालखाली गराउन सहज बनाउने नयाँ कानुन खारेज गर्नुपर्ने माग गरेका छन् ।

अल्बानिया र सर्बियामा भने प्रदर्शनको मुख्य मुद्दा भ्रष्टाचारविरोधी अभियान बनेको छ । यी आन्दोलनले सरकारमाथि राजनीतिक दबाबसमेत सिर्जना गरेका छन् ।

अल्बानियामा प्रदर्शन हिंसात्मक बनेपछि प्रधानमन्त्री एदी रामाले राजीनामाको माग अस्वीकार गरेका छन् । उनले आन्दोलनबाट उत्पन्न अशान्तिका लागि राजनीतिक प्रतिद्वन्द्वीलाई दोष दिएका छन् ।

सर्बियामा दुई वर्षदेखि विद्यार्थीको नेतृत्वमा आन्दोलन चलिरहेको छ । उक्त आन्दोलनले देशको राजनीतिक नेतृत्वमाथि दबाब सिर्जना गरेको छ ।

फ्रान्सका पेरिस, मार्सेली, लियोन, लिल, ओर्लियन्स र बोर्डो लगायतका सहरमा पनि दसौँ हजार प्रदर्शनकारी सडकमा उत्रिएका छन् । युनेफको आयोजनामा पेरिसमा भएको जुलुसमा प्रमुख ट्रेड युनियन सीजीटी, किसान, जलवायु अभियन्ता र ‘येलो भेस्ट’ आन्दोलनका सहभागीले समेत समर्थन जनाएका छन् । प्रदर्शनलाई ध्यानमा राख्दै अधिकारीहरूले व्यापक प्रहरी परिचालन गरेका छन् ।

जर्मनीमा पनि फैलियो जेनजी आन्दोलन

युरोपका विभिन्न देशमा फैलिएको जेनजी आन्दोलनको प्रभाव जर्मनीमा पनि देखिएको छ । ‘जेनजी रेगेल्ट’ अर्थात् ‘जेनजीले जिम्मा लिन्छ’ नामक अभियान समूहको आह्वानमा जर्मनीका ३४ भन्दा बढी सहरमा हजारौँ युवा तथा विद्यार्थी सडकमा उत्रिएका थिए ।

शनिबार दिउँसो शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शन रात परेसँगै केही सहरमा हिंसात्मक बनेको थियो । जर्मनीको वित्तीय केन्द्र र्फ्यांकफर्टमा प्रदर्शनकारीहरूले विभिन्न पसलमा तोडफोड र लुटपाट गरेका थिए । राजधानी बर्लिन, कोलोन र ह्याम्बर्गमा पनि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।

चान्सलर फ्रिड्रिख मर्त्जको मध्य–दक्षिणपन्थी क्रिस्चियन डेमोक्रेटिक युनियन (सीडीयू) का नेताहरूले आगामी साताको अन्त्यमा पनि यस्तै घटना दोहोरिन सक्ने चेतावनी दिएका छन् ।

प्रदर्शनअघि नै सामाजिक सञ्जालमा फ्रान्सका हिंसात्मक घटनाका भिडियोहरू फैलिएका थिए । त्यसपछि सम्भावित तोडफोड र लुटपाट रोक्न केही पसलले आफ्ना सिसा तथा झ्यालमा काठका फल्याक राखेका थिए भने प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो ।

हेसे राज्यका गृहमन्त्री रोमन पोसेक र सीडीयूका नेताहरूले जर्मनीमा फ्रान्समा जस्तै आगजनी, लुटपाट र प्रहरीमाथि आक्रमणका घटना हुन नदिने बताएका थिए ।

तर, प्रहरी अधिकारी र प्रहरी संगठनहरूले साँझ भएका हिंसात्मक घटनामा मूल जेनजी प्रदर्शनकारीभन्दा मास्क लगाएका बाहिरी वामपन्थी अतिवादी समूहको संलग्नता रहेको बताएका छन् ।

आयोजक समूह ‘जेनजी रेगेल्ट’ ले पनि हिंसाको निन्दा गर्दै फ्रान्स र बेल्जियममा देखिएको विनाशकारी प्रदर्शन आफ्नो आन्दोलनको उद्देश्य नभएको स्पष्ट पारेको छ । समूहले हिंसात्मक घटनामा अतिवादी समूहहरू जिम्मेवार रहेको दाबी गरेको छ ।

समूहकी प्रवक्ता लिना फ्रिड्रिखले आन्दोलनको उद्देश्य युद्ध र जबर्जस्तीको सट्टा शान्ति तथा स्वतन्त्रताको पक्षमा आवाज उठाउनु रहेको बताएकी छन् ।

‘हामी यहाँ युद्ध र जबर्जस्तीको सट्टा शान्ति र स्वतन्त्रताका लागि लड्न आएका हौँ । हाम्रा लागि सबैभन्दा महत्त्वपूर्ण कुरा स्वास्थ्य र शिक्षा प्रणालीमा राम्रो सहयोग हो । हामी अनिवार्य सैन्य सेवाको विपक्षमा छौँ र आर्थिक भारको न्यायोचित वितरणको पक्षमा छौँ,’ उनले भनेकी छन् ।

युरोपका विभिन्न देशमा फरक–फरक मुद्दाबाट सुरु भएका यी प्रदर्शनले शिक्षा, आवास, रोजगारी, सार्वजनिक सेवा र आर्थिक न्यायका विषयमा नयाँ पुस्ताको साझा असन्तोष उजागर गरेका छन् ।

(एजेन्सीहरूको सहयोगमा)

लेखक
कञ्चन

कञ्चन अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?